नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले कलाको विकास तथा प्रबर्द्धन गर्न विश्वविद्यालयहरु र काठमाडौं महानगरपालिकासित सम्झौता गरी कार्यक्रम शुरु गरेको छ ।
प्रतिष्ठानले काठमाडौं महानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा शिक्षामा सीप कार्यक्रमअन्तर्गत स्केचिङ एण्ड स्कल्पचर मोड्युलको तालिम सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर गरी काम गरिरहेको छ । यस्तै, काठमाडौं विश्वविद्यालयसँग समेत समझदारी पत्रमा हस्ताक्षर भएको छ । सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, जनक राजर्षि विश्वविद्यालयसँग ललितकला विभाग खोल्ने विषयमा पत्राचार गरिएको सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले जानकारी गराउनुभयो । प्रतिष्ठानद्वारा नक्सालस्थित आफ्नै कार्यालयमा यही ३ पुसमा आयोजित पत्रकार सम्मेलनमा रणनीतिक र कार्यक्रमगत धारणा सार्वजनिक गर्दै सो जानकारी गराइएको हो ।
प्रतिष्ठानले गत मङ्सिर २९ र ३० गते सम्पन्न १५ औं प्राज्ञसभाका निर्णयलाई सार्वजनिक गरेको थियो । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले संस्थागत संरचना, नीतिगत कार्यक्रम, आर्थिक, प्रशासनिक तहमा दीर्घकालीन महत्व राख्ने कार्यक्रम तथा निर्णयहरू गर्न लागेको जानकारी दिनुभयो । प्रतिष्ठानका सदस्यसचिव काफ्लेले प्रतिष्ठानले कला क्षेत्रको विकास र प्रबर्द्धनका लागि जरैदेखि काम शुरू गरेको बताउनुभयो ।
प्रतिष्ठानले ‘नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानः अनुसन्धान, सिर्जना र सम्मान’ भन्ने आदर्श वाक्यका साथ कार्यक्रम अघि बढाएको हो । सार्वजनिक गरिएका आगामी कार्यक्रमहरुमा ललितकला क्षेत्रको रणनीतिक योजनासहित देशका सातै प्रदेशमा विभिन्न कार्यक्रमको आयोजनालगायत नेपाली कलाको विकास र संरक्षणमा प्रतिष्ठानले योजनाबद्ध ढङ्गले काम गर्ने नीतिगत तयारीहरु रहेका छन् । यस्तै, प्रदेश र पालिका सरकार तथा सरोकारी संघ–संस्थासँगको सहकार्यमा जोड दिँदै सकेसम्म छायाँमा परेका कला, स्थान र प्रतिभालाई प्राथमिकता दिएर नेपाली राष्ट्रियपनको रैथाने लोक समुदायगत संस्कृति एवं भौगोलिक–प्राकृतिक पर्यावरणको विषयवस्तुलाई उठाउन जोड दिइने बताइएको छ । त्यसका लागि प्रतिष्ठानले विभिन्न कार्यविधिसमेत तयार गरेको छ । केही कार्यविधिहरू प्रदेशको थप आधारभूत छलफल तथा तथ्यस्थिति अध्ययनपश्चात् निर्माण गरिने बताइएको छ ।
यसैगरी, बढ्दो तापक्रमले हिमालमा पारिरहेको प्रभावको पक्षमा केन्द्रित रहेर ‘हिमालको रहस्य’ विषयमा कला प्रदर्शनी गरिने भएको छ । संविधान र लोकतन्त्रको मूलभावमा रही गणतन्त्रको प्रतीक/स्तम्भको नमुना (म्याकेट) प्रतियोगिता गर्ने तयारी गरिएको छ । महिला/दलित/जनजाति/पछाडि पारिएका वा सुविधाविहीनलगायतका जनसमुदाय आदिको जागरणसम्बन्धी कार्यक्रम, शहीद दिवसको अवसर पारेर कला प्रदर्शनी गरिने भएको छ ।
राष्ट्रिय ललितकला प्रदर्शनी २०८० मा सिर्जनावृत्ति प्राप्त गरेका कलाकारको नेपाल ललितकला प्रतिष्ठान दिवसको अवसर पारेर बैशाख २ गते प्रदर्शनी गरिनेछ । यस वर्षबाट लुम्बिनी प्रदेशको दाङस्थित गढवा गाउँपालिकामा सेरामिक्स हब र वागमती प्रदेशको रामेछापस्थित सुनापति गाउँपालिकामा थाङ्का कला हब बनाउने प्रतिष्ठानको योजना रहेको छ । यस्तै, सिन्धुली कमलामाईस्थित कलाघर र पर्वत कुश्मास्थित शताब्दीघरसँग मिलेर कलासम्बन्धी कार्यक्रमसमेत गरिने कार्यक्रम अघि सारिएको छ ।
सार्वजनिक कार्यक्रममा उपकुलपति लालकाजी लामा, प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा राई, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य वासुदेव श्रेष्ठसँगै विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।