प्रमुख समाचारविशेष

लगानी बढाउँदै, शिक्षा सुधार्दै तारकेश्वर नगरपालिका 


काठमाडौंको तारकेश्वर नगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखी लगानी बढाएका कारण तीन वर्ष यता विद्यार्थीको सिकाइ उपलब्धिमा ठूलो सफलता मिलेको दाबी गरेको छ ।

हालका जनप्रतिनिधिहरु निर्वाचित हुने बखत २०७९ मा पालिकाले शिक्षामा आन्तरिक स्रोतबाट जम्मा एक करोड ३० लाख रुपियाँ छुट्याइएको थियो । तर, अहिले त्यसलाई बढाएर साढे नौ करोडबराबर बजेट पुर्याइएको र गुणस्तरीय शिक्षणका लागि खर्च गरिएकाले सिकाइ उपलब्धि बढेको नगरप्रमुख कृष्णहरि महर्जन बताउँछन् । पालिकाको आन्तरिक स्रोतबाट नै कूल बजेटको ५.५ प्रतिशत रकम शिक्षामा छुट्याएको उनले जानकारी दिए ।

माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८१ मा तारकेश्वर नगरपालिका काठमाडौं जिल्लाकै प्रथम बनेको पालिका प्रमुख महर्जनले बताए । यसपालि एसइइको नतिजामा पालिकाले ८५.२२ प्रतिशत ल्याएको छ । जबकि २०८० को एसइइमा ७१.३ प्रतिशत नतिजा थियो । यस्तै, गएको तीन वर्ष यता आधारभूत तह कक्षा ८ (बीएलई) को नतिजामा पनि उल्लेखनीय प्रगति भएको देखिन्छ ।  २०७९ मा ३२.३८ प्रतिशत विद्यार्थी कक्षा ८ मा उत्तीर्ण भएका थिए । २०८० मा ५६.६२ प्रतिशत र २०८१ मा भने ७१.८८ प्रतिशत विद्यार्थी कक्षा ८ बाट उत्तीर्ण हुन सफल भएका थिए ।

पालिकाले खासगरी शिक्षक दरबन्दी पूरा नभएका विद्यालयमा नगर शिक्षक अनुदानमार्फत् शिक्षक उपलब्ध गरायो । साथै, गुणस्तरीय शिक्षण गर्न शिक्षक तालिम दिइयो । उनीहरुसित करार सम्झौता गरी नतिजा बढी ल्याउने प्रतिबद्धता खोज्ने काम भयो । यस्तै, भौतिक पूर्वाधार निर्माण, शनिबार पनि पढाउने व्यवस्था, प्रधानाध्यापकलाई थप भत्ता, विषयगत उत्कृष्ट शिक्षकलाई सम्मानलगायतका महत्वपूर्ण काम गर्नाले सिकाइ सुधारमा उल्लेखनीय प्रगति भएको नगरप्रमुख महर्जनको दाबी छ ।

एसइइमा चारवटा विद्यालयलाई शतप्रतिशत नतिजा 

तारकेश्वर नगरपालिकाको चारवटा विद्यालय एसइइ २०८१ मा शतप्रतिशत नतिजा प्राप्त गरी काठमाडौं जिल्लाका सर्वोत्कृष्ट बन्न सकेका छन् । नगरपालिकाको पृथ्वीनारायण मावि शतप्रतिशत नतिजा ल्याई जिल्ला प्रथम भएको छ भने फुटुङ मावि सातौं, जितपुर मावि नवौं र काभ्रेस्थली मावि अठारांै भएका छन् ।

नगर शिक्षक अनुदान

नगरपालिकाले सामुदायिक विद्यालयहरुमा विषयगत शिक्षक अभाव हुन नदिन नगर शिक्षक अनुदानको व्यवस्था गरेको छ । पालिकाले विद्यालयहरुलाई तहअनुसार १०१ जना शिक्षक उपलब्ध गराएको छ ।

शैक्षिक क्यालेण्डर र विद्यार्थी डायरी  

तारकेश्वर नगरपालिकाले शैक्षिक सुधारका लागि सामुदायिक विद्यालयहरुलाई डायरी र शैक्षिक क्यालेण्डर वितरण गरेको छ । तारकेश्वर नगरपालिकाभरिका २२ वटा सामुदायिक विद्यालयहरुमा शैक्षिक सुधारका लागि यो काम गरिएको हो ।

उपप्रमुखसँग महिला शिक्षक

नगरपालिकाले ‘उपप्रमुखसित महिला शिक्षक’ कार्यक्रम शुरु गरेको छ । २०८१ वैशाखदेखि शुरु गरिएको यो कार्यक्रमले शुरुमा १७६ जना महिला शिक्षकलाई समेटेको थियो । अहिले २०३ जना महिला शिक्षक कार्यक्रमसित जोडिएका छन् । यो कार्यक्रमले महिला शिक्षकहरु विद्यालयमा नियमित रुपमा समयमै उपस्थिति हुन र प्रभावकारी पठनपाठन गराउन सघाऊ पुगेको उपप्रमुख सिर्जना बुर्लाकोटी बताउँछिन् ।

‘उपप्रमुखसँग महिला शिक्षक कार्यक्रमले साँच्चै परिवर्तन ल्याएको छ,’ उनी भन्छिन्, ‘२३ वटै विद्यालयका महिला शिक्षक एकै ठाउँमा जम्मा भई आफ्ना सजिला–अफ्ठ्यारा विषय सेयरिङ गर्न पाएका छन्, इसिडिदेखि माविसम्मका महिला शिक्षकलाई यो कार्यक्रमले जोड्न सकेको छ ।’

उपप्रमुख बुर्लाकोटीका अनुसार पालिकाले शुरुमा त महिला शिक्षकहरुलाई परामर्श दिने काम गर्यो। त्यसपछि महिला शिक्षकहरुको पोशाक व्यवस्थापन गर्यो। विद्यालयमा स्यानिटरी प्याडको व्यवस्थापन र डिस्पोजलसम्म व्यवस्थित तरिकाले हुन थाल्यो । उनी भन्छिन्, ‘यो कार्यक्रम शुरु हुनुभन्दा पहिले र अहिले धेरै फरक देखिएको छ ।’

शिक्षकलाई तालिम

पालिकाले शिक्षकहरुलाई बेला–बेला विषयगत तालिम दिँदै आएको छ । यसै क्रममा प्रारम्भिक बाल विकास (इसिडि) सहजकर्ताहरुको क्षमता विकासका लागि रातो बङ्गला फाउण्डेशनसँगको सहकार्यमा तालिम सम्पन्न गरिएको थियो ।

तीन सामुदायिक विद्यालयलाई बस 

सामुदायिक विद्यालयमा विद्यार्थीको पहुँच बढाउन पालिकाले आफ्नै स्रोतबाट आ.व. २०७९/०८० देखि बजेट विनियोजन गरी बस उपलब्ध गराउन थालेको छ । पालिकाले २०७९/०८० मा जितपुर माविलाई विद्यालय बस खरिद गरिदिएको थियो । यस्तै, आ.व. २०८०/०८१ मा नागार्जुन ठूलागाउँ मावि र मनमैजु माविका लागि पालिकाले विद्यालय बस किनिदिएको थियो । यसबाट सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको नगरप्रमुख/उपप्रमुखको भनाइ छ । चालू शैक्षिक शत्रमै बढी चाप थेग्न नसक्ने अवस्था आएकाले करिव दुई सयजना विद्यार्थीलाई भर्ना गर्न नसकी फिर्ता पठाउनु परेको उनीहरुले सुनाए ।

शिक्षकलाई ल्यापटप

नगरका सामुदायिक विद्यालयका माध्यमिक शिक्षकलाई नगरपालिकाले ल्यापटप वितरण गरेको छ । एक शिक्षकहरुले एक लाख रुपियाँबराबरको ल्यापटप पाएका छन् ।

२२ विद्यालयलाई डिजिटल डिस्प्ले बोर्ड

तारकेश्वर नगरपालिकाभित्रका २२ वटा सामुदायिक विद्यालयहरुले ६० वटा ‘इन्ट्र्याक्टिभ डिजिटल डिस्प्ले बोर्ड’ पाएका छन् । अहिले ती विद्यालयहरुमा डिजिटल प्रविधिमा पठनपाठन सञ्चालन भइरहेको छ ।

सबै सामुदायिक विद्यालयको एकै किसिमको पोशाक 

पालिकाले नगरभरिका सबै सामुदायिक विद्यालयका विद्यार्थीले एकै प्रकारको ड्रेस लगाउनुपर्ने नियम लगाएको छ । यसले विद्यालयबीच एकरुपता आउने नगरप्रमुख बताउँछन् ।

ज्येष्ठ नागरिकका लागि छुट्टै विद्यालय 

‘कमसेकम दिउँसो एकै ठाउँमा रहेर ज्ञानगुनका कुरा गर्ने, भजन गाउने, नृत्य गर्नेगरी ज्येष्ठ नागरिकहरु रमाउन सक्नुहोस् भन्ने उद्देश्यले छुट्टै विद्यालय स्थापना गर्न लागेका हौं । हामीले ज्येष्ठ नागरिकहरुको कमसेकम पाँच वर्ष मात्र बढी बचाउन सक्यौं भने मन्दिर गएकोभन्दा धेरै पुण्य मिल्नेछ ।’

-कृष्णहरि महर्जन, नगरप्रमुख, तारकेश्वर नगरपालिका, काठमाडौं

पालिकाले ‘ज्येष्ठ नागरिक विद्यालय’ बनाउने योजना अघि सारेको छ । वडा नं ६ स्थित धर्मस्थलीमा सो विद्यालय २२ रोपनी जग्गामा बन्दैछ । यसका निम्ति पालिकाले ३ करोड रुपियाँ छुट्याएको छ । शहरी क्षेत्रमा छोराछोरी विदेश वा टाढा रहने प्रवृत्ति छ । यस्तो परिस्थितिमा वृद्धवृद्धाले एक्लो महशूस गर्ने र डिप्रेसनले गाँज्ने समस्या देखिएको छ । ‘कमसेकम दिउँसो एकै ठाउँमा रहेर ज्ञानगुनका कुरा गर्ने, भजन गाउने, नृत्य गर्नेगरी ज्येष्ठ नागरिकहरु रमाउन सक्नुहोस् भन्ने उद्देश्यले ज्येष्ठ नागरिक विद्यालय स्थापना गर्न लागेका हौं,’ नगरप्रमुख महर्जन भन्छन्, ‘हामीले ज्येष्ठ नागरिकहरुको कमसेकम पाँच वर्ष मात्र बढी बचाउन सक्यौं भने मन्दिर गएकोभन्दा धेरै पुण्य मिल्नेछ ।’

विद्यालयमा २५ रुपियाँको दिवा खाजा

नेपाल सरकारले कक्षा ५ सम्म प्रतिविद्यार्थी १५ रुपियाँका दरले दिवा खाजाका लागि बजेट दिँदै आएको छ । तारकेश्वर नगरपालिकाले १५ रुपियाँमा १० थप गरी विद्यार्थीलाई २५ रुपियाँमा खाजा खुवाउँदै आएको छ ।

एसइइमा बढी जिपिए ल्याउनेलाई सम्मान र छात्रवृत्ति 

तारकेश्वर नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयबाट ४ जिपिए प्राप्त गर्ने ७ जना विद्यार्थीहरुलाई नगद पुरस्कार, छात्रवृत्ति, ल्यापटप र प्रमाणपत्र वितरण गरिएको छ ।

साथै, विद्यार्थीले ४ जिपिएसहित उत्कृष्ट नतिजा ल्याउने लक्ष्यसहित एसइइलक्षित कार्यक्रम–२०८१ सञ्चालन गरिएको थियो । १५ सामुदायिक विद्यालयका ५२ जना विद्यार्थीलाई शनिबार र सार्वजनिक विदाको दिन पढाउनेगरी २० दिनसम्म विषयगत विज्ञ शिक्षकबाट शिक्षण गरिएको थियो । ती ५२ जना विद्यार्थीलाई पालिकाले पोशाकसमेत वितरण गरेको थियो ।

यसैगरी, पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले २०८० सालको एसइई परीक्षामा ४ जिपिए ल्याएर उत्तीर्ण सामुदायिक र संस्थागत विद्यालयका ७ जना विद्यार्थीहरुलाई नगद पुरस्कार, छात्रवृत्ति, ल्यापटप र प्रमाणपत्रसहित सम्मान गरेको थियो । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा नगरपालिकाले सम्मान कार्यक्रम आयोजना गरेको थियो ।

विद्यार्थी सचेतनामूलक पाठ्यसामग्री–२०८१ हस्तान्तरण 

पालिकाले शिक्षालाई प्रहरीसँगको सहकार्यमा पनि जोड्ने गरेको छ । यस क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट तयार पारिएको सुरक्षाका विविध विषयहरु समेटिएका जनचेतनामूलक प्रशिक्षण सामग्री ‘विद्यार्थी सचेतनामूलक पाठ्यसामग्री–२०८१’ पालिकालाई हस्तान्तरण गरिएको थियो ।

विद्यालयमा सुरक्षा गार्डको व्यवस्था

विद्यालयहरुको सुरक्षाका लागि पालिकाले सुरक्षा गार्डको व्यवस्था गरेको छ । यही व्यवस्था चालू आ.व.बाट लागू गरिएको हो । विद्यालयमा विद्यार्थी तथा विद्यालयको सुरक्षाका लागि सुरक्षा गार्डको व्यवस्था गरिएको नगरप्रमुख महर्जन बताउँछन् । सुरक्षा गार्डले शिक्षक विद्यालय आए÷नआएको सूचना पनि पालिकालाई दिनेछन् ।

यसका अलावा शिक्षामा अरु थुप्रै सुधारका कामहरु पालिकाले गरिरहेको देखिन्छ । आफ्नै स्रोतमा विद्यालयहरुमा ‘स्कूल नर्स’ कार्यक्रम सञ्चालन गरिएको छ । पालिकाभित्र कृषि र इञ्जिनियरिङ धारका प्राविधिक विद्यालयहरु सञ्चालनमा रहेका छन् । साथै,  नगरपालिकाले तारकेश्वर विश्वविद्यालयसमेत स्थापना गर्ने योजना पनि अघि सारेको छ ।

तारकेश्वर नगरपालिकामा जम्मा साक्षरता दर ८७.८ प्रतिशत रहेको छ । जसमा पुरुष ९३.४  प्रतिशत र महिला ८२.४ प्रतिशत साक्षर रहेका छन् ।

पालिकाले शिक्षाबाहेक ‘कोखदेखि शोकसम्म’, ‘नगरप्रमुखसँग ज्येष्ठ नागरिक दीर्घायु कार्यक्रम’, ‘चियाचर्चा कार्यक्रम’, ‘इमर्जेन्सी रेस्पोन्स कन्सोल (को कता ? एप्स सञ्चालन)’, ‘कपडा बैंक’, ‘घर–घरमा धारा’ लोककल्याणकारी कार्यक्रम गरिरहेको छ ।

यस्तै, स्वास्थ्यमा नगर अस्पतालको शिलन्यास, किशोरीहरुमा एचपिभि खोप, डायलोसिस सेवा र खेलकुदमा विभिन्न महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न भएका छन् ।

 

Facebook Comments

विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) को कसीमा कक्षा ५ र १० को नतिजा

Previous article

विद्यालय शिक्षा विधेयक परिमार्जनसहित पारित

Next article