समाचार

शिक्षाविद् एवं शिक्षासेवीहरुलाई ‘आजको शिक्षा’को सम्मान


काठमाडौँ । ‘आजको शिक्षा’ साप्ताहिकको दशौँ वर्ष प्रवेशका अवसरमा पत्रिका एवं शिक्षामा विशिष्ट योगदान पुर्याउनुहुने शिक्षाविद्, शिक्षा सेवीहरुलाई सम्मान गरिएको छ ।

काठमाडौँमा आयोजित भव्य समारोहका बीच शिक्षाविद प्रा.डा. विद्यानाथ कोइराला, नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष डा. बाबुराम अधिकारी, शिक्षाविद् एवं सर्च फर कमन ग्राउण्डका कन्ट्री डिरेन्टर डा. भोला दाहाल, मनाङका जिशिअ रमाकान्त शर्मा, सुर्खेतका जिशिअ जीतबहादुर साह,शैक्षिक गुणस्तर परिक्षण केन्द्रका उपसचिव उत्तरकुमार पराजुलीलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा आइएफसिडिका अध्यक्ष प्रकाशसिंह अधिकारी, सिजपका अध्यक्ष कृष्ण सुवेदी, स्वतन्त्र लेखक टीकाराम रेग्मी, सरस्वती मावि ओखलढुंगाका शिक्षक इन्द्रकुमार श्रेष्ठ, जनसेवा मावि सिरहाका शिक्षक नन्दलाल आचार्य रहनुभएको छ ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं स्वास्थ्य मन्त्री गगन थापाले प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गर्नुभयो ।

त्यस्तै, शिक्षा मन्त्रालयका पूर्व उपसचिव बाबुकाजी कार्की, शिक्षा पत्रकार प्रकाश सिलवाल, आजको शिक्षा साप्ताहिकका संवाददाताहरु रुकुमका लक्ष्मण केसी, सिरहाका शम्भु यादव, बुटवलका कृष्ण मल्ल, धनुषाका सुजीतकुमार झा र जाजरकोटका संवाददाता हेमन्त केसीलाई प्रशंसापत्र प्रदान गरियो । त्यस्तै, द सेलेब्रेसन को–एडका शिक्षक सागर दाहाल, सरस्वती मावि भोटेचौर सिन्धुपाल्चोकका शिक्षक रामप्रसाद दुलाललाई प्रशंसापत्र प्रदान गरियो ।

कार्यक्रममा प्रमुख अतिथि एवं स्वास्थ्यमन्त्री गगन थापाले शिक्षा र स्वास्थ्यका आधारभूत आवश्यकता पूरा भएमा मुलुक समृद्धितर्फ लम्कने बताउनुभयो । सार्वजनिक शिक्षाको सुधारका लागि ठूला सामुदायिक विद्यालयको अवधारणामा जानुपर्ने र शिक्षा तथा स्वास्थ्य क्षेत्रका उद्यमीलाई प्रोत्साहन गर्न सकेमा नेपालीहरु परनिर्भर भइरहनुनपर्ने पनि थापाले उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्साल, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेललगायतले पत्रिकाको सफलताको कामना गर्नुभयो । पत्रिकाका सम्पादक सुदर्शन सिग्देलले पत्रिकाका लागि विभिन्न पक्षबाट निरन्तर सहयोग गर्ने व्यक्तित्वको सम्मान र हौसलाका लागि उनीहरुलाई सम्मान र प्रशंसापत्र वितरण गरिएको बताए ।

Facebook Comments

दश वर्षमा दश सुधार

Previous article

शिक्षामा झण्डै ८ अर्ब फ्रिज : विद्यार्थी भने टहरामै

Next article