विद्यालय तहमा सोधिने प्रश्नदेखि विद्यार्थीले लिने प्रमाणपत्रसम्ममा विभिन्न खालका त्रुटिहरू भेटिन्छन् । शैक्षिक प्रमाणपत्रमा कुनैको नाम मिलेको हुँदैन, कसैको जन्ममितिदेखि नम्बरसम्म फरक पर्छन् ।
यसरी स–साना त्रुटिका कारण विद्यार्थीहरूले दुःख पाउने गरेका छन् । विशेषगरी कक्षा १० र कक्षा १२ को हकमा विद्यार्थीहरूले निकै दुःख पाउने गरेको देखिन्छ । अन्जानमा हुनेगरेका गल्तिका कारण विद्यार्थीहरू सच्याउनका लागि काठमाडौं नै आउनुपर्ने बाध्यता देखिन्छ ।
गत आइतबार बिहान ११ बजेतिर राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को कार्यालय परिसरमा एकजना विद्यार्थी भेटिए । हातमा फाइल बोकेर यताउती हिँडिरहेका उनले कक्षा १० को सर्टिफिकेट (एसईईको प्रमाणपत्र)मा नाम र जन्ममिति फरक परेको बताए ।
कैलाली घर भई काठमाडौंको कलंकीमा बस्दै आएका हरिस भट्टको नाम र जन्म मितिमा नै फरक परेको पाएपछि सच्याउन पुगेका रहेछन् । त्यसका लागि उनी प्रमुख जिल्ला अधिकारीबाट निर्णय गरेको पत्रसहित पनिका पुगेका थिए । ‘नाम र जन्ममिति नै फरक हालेर प्रमाणपत्र दिए । अहिले साह्रै दुःख पाइरहेको छु । तीन दिन भयो पनिका कुदिरहेको छु । आज पनि दिनभर यतै हुन्छु होला,’ उनले आफ्नो पीडा व्यक्त गरे ।
उनी जस्ता सयौंको संख्यामा सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्ड पुग्ने गर्छन् । हरेक दिन बिहादेखि बेलुकासम्म भीड लाग्ने गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले भने त्रुटिरहित बनाउन अनेकन प्रयास गरेको छ । तरपनि त्रुटिरहित बनाउन चुनौती खेप्नुपरेको छ ।
विश्वनिकेतन मावि त्रिपुरेश्वरका प्रधानाध्यापक हेरम्बराज कँडेलले विद्यार्थीहरूले साह्रै दुःख पाउने गरेको बताए । यस्तो खालको त्रुटि बोर्डको कारणले मात्र नहुने उनको भनाइ छ ।
‘विद्यार्थी, विद्यालय तथा बोर्डका कारण यस्ता त्रुटि भइरहेका छन्,’ कँडेल भन्छन्, ‘कतिपय विद्यालयले विद्यार्थीहरुको जन्मदर्ता प्रमाणपत्र नहेरिकन भर्ना गरिदिन्छन् । जन्मदर्ता भए स्पेलिङहरु ठ्याक्कै मिल्थ्यो । त्यो जन्मदर्ताको आधारमा गर्दाखेरि त्यति दुःख पाइँदैनथ्यो । अब नहेरिकन भर्ना गरिदिने भएकाले पनि उनीहरुको डकुमेन्टहरुमा, अभिलेखहरुमा त्रुटि हुने गरेको छ,’ प्रअ कँडेलले भने ।
यसैगरी, रजिस्ट्रेसन फारम भर्ना तथा परीक्षा फारम भर्दासमेत विद्यालयको तर्फबाट समेत गल्ति हुने गरेको छ । विद्यार्थीहरुले कक्षा आठको परीक्षा फारम, कक्षा नौको रजिस्ट्रेसन फारम र एसईईको परीक्षा फारम भर्दासमेत गल्ति हुने गरेको देखिन्छ ।
विद्यार्थीको तर्फबाट फारम भर्दा हुने गरेको त्रुटिलाई विद्यालयको परीक्षा शाखाले नसुधारिकन जस्ताको तस्तै राष्ट्रिय परीक्षा बोर्ड र यसको परीक्षा नियन्त्रण कार्यालयमा पठाउँदा गल्ति हुने गरेको छ । त्रुटिरहित बनाउन विद्यालयहरुले जन्मदर्ता प्रमाणपत्रलाई अनिवार्य रूपमा हेरेर मात्रै फारम भर्न लगाउनुपर्नेमा त्यस्तो नगरी पठाउँदा समस्या हुने गरेको प्रअ कँडेलको भनाइ छ ।
रजिस्ट्रेसन फारम र परीक्षा फारम भर्दा अत्यन्तै सावधानी अपनाउनुपर्ने उनको सुझाब छ । कँडेल भन्छन्, ‘दुई–तीनपल्टसम्म केलाइ–केलाइ त्यहाँ इररहरु केही छन् कि भनेर हेर्ने गर्नुपर्छ ।’
त्रुटिहरू सच्याउनका लागि सरकारले नीति–नियम बदलिरहने विषयलाई समेत कम गर्नुपर्ने उनको सुझाब छ । यस्ता कारणले विद्यार्थी एकदमै तनावमा रहेको भेटिन्छन् । यसका लागि अनिवार्य रूमपा जन्मदर्ता प्रमाणपत्रका आधारमा मात्रै विद्यार्थी भर्ना गर्नुपर्ने देखिन्छ ।
बोर्डले त्रुटिरहित बनाउन के गर्दैछ ?
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले त्रुटिरहित बनाउनका लागि विभिन्न प्रयासहरू भइरहेको जानकारी दिएका छन् ।
परीक्षाको तयारी, सञ्चालन तथा व्यवस्थापनको सन्दर्भमा केन्द्रमा केन्द्रीय परीक्षा समिति, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयहरु छन् । जसमा कक्षा १० र १२ को सन्दर्भमा दुइटै परीक्षा नियन्त्रण कार्यालयले काम गर्दै आएका छन् ।
ती परीक्षा नियन्त्रण कार्यालयहरूले विद्यार्थीको अनलाइनमार्फत् रजिस्ट्रेसन प्रविष्ट गर्छन् । कतिपय ठाउँमा अनलाइन गर्न सकिएको छैन । त्यस्तो अवस्थामा शिक्षा विकास तथा समन्वय इकाई र प्रदेश कार्यालयबाट हुने गरेको छ ।
रजिस्ट्रेसनको सन्दर्भमा विद्यार्थीको नाम, थर, जन्ममिति नमिलेको सबै कुरा प्रदेश परीक्षा व्यवस्थापन कार्यालयहरुले हेर्ने गरेका छन् । त्यसका लागि बोर्डका १२ वटा कार्यालयहरू छन् । ती कार्यालयहरुले अनलाइन रजिष्ट्रेशनहरू हेर्ने, रिभ्यु गर्ने र त्यसपछि केन्द्रमा पठाउने काम गर्छन् । त्यस्तै प्राक्टिकल तर्फको नम्बरहरू इन्ट्री गर्छन् ।
रजिष्ट्रेशनको आधारमा विद्यार्थीहरूको रोल नम्बरहरु सिर्जना हुन्छ । त्यसरी रोल नम्बरहरु सिर्जना हुँदा सोही रजिस्ट्रेसनलाई आधार बनाएर रजिस्ट्रेसन नम्बर र अनि त्यसपछि उसको सिम्बोल नम्बर तथा रजिस्ट्रेसन नम्बरमा विद्यार्थी फरक नपरोस् भन्ने तहबाट हेरिएको हुन्छ ।
हरेक प्रदेशमा प्रदेश परीक्षा व्यवस्थापन समिति छ । प्रदेशको शिक्षा मन्त्रालय हेर्ने मन्त्रालयको सचिवको अध्यक्षतामा समिति हुन्छ । त्यस्तै, जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति हुन्छ ।
कक्षा १० र १२ को परीक्षा सञ्चालनका लागि प्रदेश एवं जिल्ला परीक्षा समन्वय समितिको प्रमुख भूमिका रहने गरेको छ ।
स्थानीय पालिकाहरुलाई परीक्षालाई मर्यादित, व्यवस्थित बनाउन सहयोग गर्ने भनेर अनुरोध गरिएको हुन्छ । त्यसका लागि बोर्डले गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघसँग ‘एमओयु’ नै गरिएको अध्यक्ष शर्माले बताए ।
बोर्डले परीक्षालाई व्यवस्थित बनाउन र क्षमता विकास गर्नका लागि प्रमुख प्रशिक्षक तयार गरेको छ । अंग्रेजी, गणित र विज्ञानका शिक्षकलाई प्रमुख प्रशिक्षकका रुपमा तयार गरिएको उनको भनाइ छ ।
अहिलेसम्म ३०७ पालिकाका लागि प्रमुख प्रशिक्षक तयार छन । यस्तै, यो वर्ष समेत थप शिक्षकलाई प्रशिक्षण दिन लागिएको छ ।
ती प्रशिक्षक शिक्षकहरूलाई प्रश्नपत्र निर्माण कार्यशाला गरी अभिमुखीकरण गरिएको हुन्छ । प्रश्नपत्र निर्माण कार्यशालामा स्थानीय तहका शिक्षकहरुले पाठ्यक्रमको आधारमा प्रश्नपत्र निर्माण गर्नेदेखि कक्षाकोठा डेलिभरीलाई सपोर्ट गर्ने काम गर्ने उनको भनाइ छ ।
प्रश्नपत्र निर्माण
प्रश्नपत्र निर्माणको मोडल अहिले परिवर्तन भइरहेको छ । विगतमा ज्ञानमा आधारित मात्रै हुन्थ्यो भने अहिले ज्ञानसँगै बोधसम्मको विषयमा जोड दिइन्छ ।
त्यसमा ज्ञान, बोध, प्रयोग र उच्च क्षमताका प्रश्नपत्रहरु आउँछन् । जबसम्म शिक्षकले धेरै लामो प्रश्न भयो भन्ने थाहा पाउँदैन, तबसम्म उसले कक्षाकोठामामा सिकाउन जान्दैन भन्ने बोर्डको बुझाई छ ।
परीक्षालाई विश्वसनीय बनाउने मात्रै नभई कक्षाकोठालाई पनि सुधार गर्न यो काम गरिएको अध्यक्ष शर्माको स्पष्टोक्ति छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसईईका हकमा प्रश्नपत्र छापेर नै केन्द्रमा पठाउने गरेको छ भने कक्षा १२ का लागि अनलाइनमार्फत् पठाउने र परीक्षा केन्द्रको केन्द्राध्यक्षले परीक्षा शुरु हुन ५ मीनेट बाँकी छँदा प्रिन्ट गरेर वितरण गर्ने गरेको छ ।
कसरी छापिन्छ प्रश्नपत्र ?
परीक्षा व्यवस्थित र मर्यादित गर्न बोर्डले विभिन्न काम गर्दै आएको छ । प्रश्नपत्र निर्माणका लागि प्रादेशिक कार्यशाला सञ्चालन गरिसकेपछि त्यो कार्यशालाबाट प्रश्नहरु संकलन गरिन्छ । त्यसपछि ल्याइएका प्रश्नपत्रहरुको मोडरेसन विज्ञहरुबाट गरिन्छ ।
प्रश्नपत्र विषय शिक्षकले बनाउँछन् । केन्द्रमा आइसकेपछि पनि विषय शिक्षक र पाठ्यक्रम विज्ञहरुसमेत रहेर मोडरेसन हुन्छ । मोडरेसन गर्दा कक्षा १० को हकमा प्रदेश अनुसार समानान्तर प्रश्नपत्रका सेटहरू बनाइन्छन् । हरेक प्रदेशका लागि फरक–फरक सेटहरु बनाइन्छन् । त्यसरी मोडरेसन गरेर ती समानान्तर सेटमध्ये कुन प्रदेशलाई कुन सेट दिने भनेर छापिन्छ । त्यसका लागि कुन प्रदेशमा कुन सेट पठाउने भनेर गोला प्रथाद्वारा छानिने गरिन्छ ।
कक्षा १२ को हकमा अहिले स्थानीय विभिन्न ठाउँहरुमा स्तरीकृत (स्ट्यान्डराइज) टेस्ट आइटम बनाउने कार्यशाला सञ्चालन गरिएको छ । सोही कार्यशालामा प्रश्नपत्रसम्बन्धी तालिम सञ्चालन भइरहेको हुन्छ, त्यस्ता तालिममा प्रश्नपत्रसमेत निर्माण हुन्छन् । निर्माण कार्यशालाबाट प्रश्नपत्रका आइटम कलेक्सन गरिन्छन् ।
त्यस्ता प्रश्नपत्रहरूलाई विज्ञहरुले फेरि केन्द्रमा ल्याएर हेर्छन् । हेर्ने क्रममा केही कमजोरी तथा त्रुटि भएको खण्डमा विज्ञहरूले नै औंल्याउने र उनीहरूले सच्याउन लगाउने गरेको शर्माको भनाइ छ ।
प्रश्नपत्र निर्माण गर्ने शिक्षकहरूलाई जनक शिक्षा सामग्री केन्द्रको सेक्युरिटी प्रेसभित्र राखेर मोडरेसन गराइन्छ । त्यो मोडरेसन गरेका प्रश्नहरुचाहिँ सेक्युरिटीभित्रै राखिन्छन् । जहाँ विभिन्न सेटहरु बनाइन्छन् । सेक्युरिटीभित्र राखिसकेपछि जुन टिमले मोडरेसन गरेको हो, त्यो टिमले मोडरेसन गरेको टिमभन्दा फरक टिमलाई हेर्न लगाइन्छ ।
सुरक्षा घेरामा रहेर प्रश्नपत्रको छपाईको काम हुन्छ । प्रश्नपत्रको छपाई नहुँदासम्म प्रश्नपत्र निर्माण र मोडरेसन गर्नेहरूको मोबाइल सुरक्षा निकायसँग हुन्छ । बिहान ल्याइसकेपश्चात् विज्ञले हेरिसकेपछि कुनै सच्याउनुपरेमा पेनड्राइभमा हालेर सदस्य सचिवको रोहबरमा सच्याइन्छ । त्यसपछि कुन सेटचाहिँ आजको लागि चाहिएको हो, गोला हालेर सेट झिकिन्छ र त्यही सेटलाई बाहिर पठाइन्छ ।
विगतमा विभिन्न ठाउँमा विविध खालका फरक–फरक सेट पठाउने गरिएको थियो । अहिले एउटै सेट सबै ठाउँमा पठाइन्छ । एसईईको हकमा प्रदेश अनुसार फरक–फरक सेट पठाइन्छ भने कक्षा १२ का लागि एउटै सेट सबैतिर पठाइन्छ ।
कक्षा १२ का लागि १२१ विषयको प्रश्नपत्र निर्माण गरिन्छ । कक्षा १० को हकमा ७४ विषयका प्रश्नपत्र निर्माण गरिन्छन् ।
उत्तरपुस्तिका परीक्षणमा समेत कक्षा १० को हकमा देशभरका ५० ठाउँमा परीक्षण गरिन्छन् भने कक्षा १२ को हकमा २५ ठाउँमा परीक्षणको व्यवस्था मिलाइएको अध्यक्ष शर्मा बताउँछन् ।
ती केन्द्रहरूमा परीक्षण भइसकेका कापीहरूमा परीक्षणपछि सम्परीक्षण हुन्छ । जम्मा कापीहरूमध्ये २० प्रतिशत उत्तरपुस्तिको स्याम्प्लिङ परीक्षण गराउने गरेको उनको भनाइ छ । स्याम्प्लिङ परीक्षण गराउँदा केही त्रुटि भेटिएको खण्डमा पुनः सच्याउने गरिन्छ ।
त्यसपछि अंक इन्ट्री गरिन्छ । अंक इन्ट्री गर्दासमेत दुई ठाउँबाट समान रूपमा हुन्छ । विद्यार्थीको नतिजा इन्ट्री गर्ने क्रममा कुनै त्रुटि नहोस् भनेर दुई ठाउँबाट नै कम्प्यूटरमा प्रविष्ट गरिने उनको भनाइ छ ।
स्लिप वान र स्लिप टुबाट आएको अंकलाई क्रसचेक गरिन्छ । कतै इरर आयो भने देखिन्छ भनेर त्यसरी क्रसचेक हुने बताए ।
त्यसपछि मार्कसिटको लेजर निकालेर समेत हेर्ने गरिएको हुन्छ । त्यसका लागि सबै काम बोर्डका कर्मचारीहरूले गर्ने गरेका छन् ।
प्रश्नपत्रमा इरर आउनुको अर्थ कहिलेकाहीँ कतिपय प्रश्नहरु भित्रै गएर पहिले नै प्रिन्ट गरेर ल्याउँदा मानवीय त्रुटि हुने गरेको अध्यक्ष शर्माको भनाइ छ ।
‘नतिजामा देखिने त्रुटि भनेको मानवीय त्रुटि हुन् । एकजनाले एउटा मात्रै गर्यो भने पनि त धेरै त्रुटि देखिने भयो । त्यो चाहिँ ह्युमन इरर नै हो,’ अध्यक्ष शर्माले भने, ‘त्यस्तो कुराहरुलाई हामीले कसैले ब्लन्डर पनि गरेका रहेछौं भने त्यस्तोलाई सचेत गराउने गरेका छौं । हामीले कार्बाही गरेर केही वर्षसम्म कापी जाँच्न नदिने बनाएका छौं ।’
उत्तरपुस्तिकामा गम्भीर बनेर नहेर्ने, जाँच्दा, जाँचिसकेपछि सम्परीक्षण गर्दा, उत्तर स्लिपमा चढाउँदा जस्ता अवस्थामा त्रुटि देखिने गरेको शर्माको भनाइ छ ।
त्रुटि भेटिएको खण्डमा रिटोटलिङ गराउन पाउने व्यवस्था छ । रिटोटलिङपछि पनि चित्त नबुझेको खण्डमा कापी हेर्न पाउने व्यवस्था गरिएको छ । त्यसमा पनि चित्त नबुझेको खण्डमा कापी जचाउने व्यवस्था छ । त्यसका लागि तीनजनाले जाँचेर औषत अङ्क दिने गरिन्छ ।
विद्यार्थीलाई कुनै किसिमको मर्का नपरोस् भनेरै पारदर्शी भएर बोर्डले काम गर्दै आएको अध्यक्ष शर्मा बताउँछन् । विद्यार्थीहरूको नाम, जन्ममितिमा देखिने त्रुटि भने बोर्डबाट नहुने उनको दाबी छ । विद्यालयमा फारम भर्दा नै त्रुटि हुने गरेको र त्यो सच्याउनका लागि सिडिओको फैसला नै चाहिने गर्छ ।
‘रजिस्ट्रेसन अथवा प्रवेश पत्रको आधारमा त्रुटि भएको रहेछ भने राष्ट्रिय परीक्षा बोर्डले सच्याइदिन सक्छं,’ अध्यक्ष शर्माले भने, ‘नागरिकता अथवा अरु कारणबाट तलमाथि भएको छ भने त्यसमा हाम्रो अधिकार छैन । त्यस्तोमा सिडिओको निर्णयबाट मात्र सच्याउन सकिन्छ ।’
परीक्षाविद् प्रा.डा. गणेशबहादुर सिंह अन्तिम समयमा आएर प्रश्नपत्र निर्माण गर्ने परिपाटीका कारण त्रुटि भेटिने गरेको बताउँछन् । यसका लागि पहिले नै प्रश्नपत्रहरू निर्माण गरेर राख्नुपर्ने उनले बताए ।
त्यसो त, बोर्डले अहिले त्यसको अभ्यास गर्दै आएको छ । सिंह भन्छन्, ‘२५ सेट पहिला नै तयार पारेर राख्ने हो भने अन्तिममा प्रश्नपत्र बनाउने हतारो हुने भएन । चार/पाँच वर्षका लागि तयार पारेर राखिसकिएको हुन्छ । हतार हुने काम पनि कम हुन्छ । हतार कम भएपछि त्रुटि पनि कम हुने भयो ।’
प्रमाणपत्रमा भइरहने त्रुटिचाहिँ अङ्कहरू इन्ट्री गर्दा नै गम्भीर नहुँदा यस्तो खालको समस्या देखिने गरेको देखिन्छ । यसका लागि बोर्डमा नम्बर इन्ट्री गर्नेहरू गम्भीर बनेर कुनै प्रकारको त्रुटि नहोस् भनेर काम गरेमा समाधान हुने प्रा.डा. सिंह बताउँछन् ।










