प्रमुख समाचार

प्रश्नपत्रदेखि प्रमाणपत्रसम्मका त्रुटि हटाउने कसरतमा राष्ट्रिय परीक्षा बोर्ड


विद्यालय तहमा सोधिने प्रश्नदेखि विद्यार्थीले लिने प्रमाणपत्रसम्ममा विभिन्न खालका त्रुटिहरू भेटिन्छन् । शैक्षिक प्रमाणपत्रमा कुनैको नाम मिलेको हुँदैन, कसैको जन्ममितिदेखि नम्बरसम्म फरक पर्छन् ।

यसरी स–साना त्रुटिका कारण विद्यार्थीहरूले दुःख पाउने गरेका छन् । विशेषगरी कक्षा १० र कक्षा १२ को हकमा विद्यार्थीहरूले निकै दुःख पाउने गरेको देखिन्छ । अन्जानमा हुनेगरेका गल्तिका कारण विद्यार्थीहरू सच्याउनका लागि काठमाडौं नै आउनुपर्ने बाध्यता देखिन्छ ।

गत आइतबार बिहान ११ बजेतिर राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को कार्यालय परिसरमा एकजना विद्यार्थी भेटिए । हातमा फाइल बोकेर यताउती हिँडिरहेका उनले कक्षा १० को सर्टिफिकेट (एसईईको प्रमाणपत्र)मा नाम र जन्ममिति फरक परेको बताए ।

कैलाली घर भई काठमाडौंको कलंकीमा बस्दै आएका हरिस भट्टको नाम र जन्म मितिमा नै फरक परेको पाएपछि सच्याउन पुगेका रहेछन् । त्यसका लागि उनी प्रमुख जिल्ला अधिकारीबाट निर्णय गरेको पत्रसहित पनिका पुगेका थिए । ‘नाम र जन्ममिति नै फरक हालेर प्रमाणपत्र दिए । अहिले साह्रै दुःख पाइरहेको छु । तीन दिन भयो पनिका कुदिरहेको छु । आज पनि दिनभर यतै हुन्छु होला,’ उनले आफ्नो पीडा व्यक्त गरे ।

उनी जस्ता सयौंको संख्यामा सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्ड पुग्ने गर्छन् । हरेक दिन बिहादेखि बेलुकासम्म भीड लाग्ने गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले भने त्रुटिरहित बनाउन अनेकन प्रयास गरेको छ । तरपनि त्रुटिरहित बनाउन चुनौती खेप्नुपरेको छ ।

विश्वनिकेतन मावि त्रिपुरेश्वरका प्रधानाध्यापक हेरम्बराज कँडेलले विद्यार्थीहरूले साह्रै दुःख पाउने गरेको बताए । यस्तो खालको त्रुटि बोर्डको कारणले मात्र नहुने उनको भनाइ छ ।

‘विद्यार्थी, विद्यालय तथा बोर्डका कारण यस्ता त्रुटि भइरहेका छन्,’ कँडेल भन्छन्, ‘कतिपय विद्यालयले विद्यार्थीहरुको जन्मदर्ता प्रमाणपत्र नहेरिकन भर्ना गरिदिन्छन् । जन्मदर्ता भए स्पेलिङहरु ठ्याक्कै मिल्थ्यो । त्यो जन्मदर्ताको आधारमा गर्दाखेरि त्यति दुःख पाइँदैनथ्यो । अब नहेरिकन भर्ना गरिदिने भएकाले पनि उनीहरुको डकुमेन्टहरुमा, अभिलेखहरुमा त्रुटि हुने गरेको छ,’ प्रअ कँडेलले भने ।

यसैगरी, रजिस्ट्रेसन फारम भर्ना तथा परीक्षा फारम भर्दासमेत विद्यालयको तर्फबाट समेत गल्ति हुने गरेको छ । विद्यार्थीहरुले कक्षा आठको परीक्षा फारम, कक्षा नौको रजिस्ट्रेसन फारम र एसईईको परीक्षा फारम भर्दासमेत गल्ति हुने गरेको देखिन्छ ।

विद्यार्थीको तर्फबाट फारम भर्दा हुने गरेको त्रुटिलाई विद्यालयको परीक्षा शाखाले नसुधारिकन जस्ताको तस्तै राष्ट्रिय परीक्षा बोर्ड र यसको परीक्षा नियन्त्रण कार्यालयमा पठाउँदा गल्ति हुने गरेको छ । त्रुटिरहित बनाउन विद्यालयहरुले जन्मदर्ता प्रमाणपत्रलाई अनिवार्य रूपमा हेरेर मात्रै फारम भर्न लगाउनुपर्नेमा त्यस्तो नगरी पठाउँदा समस्या हुने गरेको प्रअ कँडेलको भनाइ छ ।

रजिस्ट्रेसन फारम र परीक्षा फारम भर्दा अत्यन्तै सावधानी अपनाउनुपर्ने उनको सुझाब छ । कँडेल भन्छन्, ‘दुई–तीनपल्टसम्म केलाइ–केलाइ त्यहाँ इररहरु केही छन् कि भनेर हेर्ने गर्नुपर्छ ।’

त्रुटिहरू सच्याउनका लागि सरकारले नीति–नियम बदलिरहने विषयलाई समेत कम गर्नुपर्ने उनको सुझाब छ । यस्ता कारणले विद्यार्थी एकदमै तनावमा रहेको भेटिन्छन् । यसका लागि अनिवार्य रूमपा जन्मदर्ता प्रमाणपत्रका आधारमा मात्रै विद्यार्थी भर्ना गर्नुपर्ने देखिन्छ ।

बोर्डले त्रुटिरहित बनाउन के गर्दैछ ?

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले त्रुटिरहित बनाउनका लागि विभिन्न प्रयासहरू भइरहेको जानकारी दिएका छन् ।

परीक्षाको तयारी, सञ्चालन तथा व्यवस्थापनको सन्दर्भमा केन्द्रमा केन्द्रीय परीक्षा समिति, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयहरु छन् । जसमा कक्षा १० र १२ को सन्दर्भमा दुइटै परीक्षा नियन्त्रण कार्यालयले काम गर्दै आएका छन् ।

ती परीक्षा नियन्त्रण कार्यालयहरूले विद्यार्थीको अनलाइनमार्फत् रजिस्ट्रेसन प्रविष्ट गर्छन् । कतिपय ठाउँमा अनलाइन गर्न सकिएको छैन । त्यस्तो अवस्थामा शिक्षा विकास तथा समन्वय इकाई र प्रदेश कार्यालयबाट हुने गरेको छ ।

रजिस्ट्रेसनको सन्दर्भमा विद्यार्थीको नाम, थर, जन्ममिति नमिलेको सबै कुरा प्रदेश परीक्षा व्यवस्थापन कार्यालयहरुले हेर्ने गरेका छन् । त्यसका लागि बोर्डका १२ वटा कार्यालयहरू छन् । ती कार्यालयहरुले अनलाइन रजिष्ट्रेशनहरू हेर्ने, रिभ्यु गर्ने र त्यसपछि केन्द्रमा पठाउने काम गर्छन् । त्यस्तै प्राक्टिकल तर्फको नम्बरहरू इन्ट्री गर्छन् ।

रजिष्ट्रेशनको आधारमा विद्यार्थीहरूको रोल नम्बरहरु सिर्जना हुन्छ । त्यसरी रोल नम्बरहरु सिर्जना हुँदा सोही रजिस्ट्रेसनलाई आधार बनाएर रजिस्ट्रेसन नम्बर र अनि त्यसपछि उसको सिम्बोल नम्बर तथा रजिस्ट्रेसन नम्बरमा विद्यार्थी फरक नपरोस् भन्ने तहबाट हेरिएको हुन्छ ।

हरेक प्रदेशमा प्रदेश परीक्षा व्यवस्थापन समिति छ । प्रदेशको शिक्षा मन्त्रालय हेर्ने मन्त्रालयको सचिवको अध्यक्षतामा समिति हुन्छ । त्यस्तै, जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति हुन्छ ।

कक्षा १० र १२ को परीक्षा सञ्चालनका लागि प्रदेश एवं जिल्ला परीक्षा समन्वय समितिको प्रमुख भूमिका रहने गरेको छ ।

स्थानीय पालिकाहरुलाई परीक्षालाई मर्यादित, व्यवस्थित बनाउन सहयोग गर्ने भनेर अनुरोध गरिएको हुन्छ । त्यसका लागि बोर्डले गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघसँग ‘एमओयु’ नै गरिएको अध्यक्ष शर्माले बताए ।

बोर्डले परीक्षालाई व्यवस्थित बनाउन र क्षमता विकास गर्नका लागि प्रमुख प्रशिक्षक तयार गरेको छ । अंग्रेजी, गणित र विज्ञानका शिक्षकलाई प्रमुख प्रशिक्षकका रुपमा तयार गरिएको उनको भनाइ छ ।

अहिलेसम्म ३०७ पालिकाका लागि प्रमुख प्रशिक्षक तयार छन । यस्तै, यो वर्ष समेत थप शिक्षकलाई प्रशिक्षण दिन लागिएको छ ।

ती प्रशिक्षक शिक्षकहरूलाई प्रश्नपत्र निर्माण कार्यशाला गरी अभिमुखीकरण गरिएको हुन्छ । प्रश्नपत्र निर्माण कार्यशालामा स्थानीय तहका शिक्षकहरुले पाठ्यक्रमको आधारमा प्रश्नपत्र निर्माण गर्नेदेखि कक्षाकोठा डेलिभरीलाई सपोर्ट गर्ने काम गर्ने उनको भनाइ छ ।

प्रश्नपत्र निर्माण

प्रश्नपत्र निर्माणको मोडल अहिले परिवर्तन भइरहेको छ । विगतमा ज्ञानमा आधारित मात्रै हुन्थ्यो भने अहिले ज्ञानसँगै बोधसम्मको विषयमा जोड दिइन्छ ।

त्यसमा ज्ञान, बोध, प्रयोग र उच्च क्षमताका प्रश्नपत्रहरु आउँछन् । जबसम्म शिक्षकले धेरै लामो प्रश्न भयो भन्ने थाहा पाउँदैन, तबसम्म उसले कक्षाकोठामामा सिकाउन जान्दैन भन्ने बोर्डको बुझाई छ ।

परीक्षालाई विश्वसनीय बनाउने मात्रै नभई कक्षाकोठालाई पनि सुधार गर्न यो काम गरिएको अध्यक्ष शर्माको स्पष्टोक्ति छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईका हकमा प्रश्नपत्र छापेर नै केन्द्रमा पठाउने गरेको छ भने कक्षा १२ का लागि अनलाइनमार्फत् पठाउने र परीक्षा केन्द्रको केन्द्राध्यक्षले परीक्षा शुरु हुन ५ मीनेट बाँकी छँदा प्रिन्ट गरेर वितरण गर्ने गरेको छ ।

कसरी छापिन्छ प्रश्नपत्र ?

परीक्षा व्यवस्थित र मर्यादित गर्न बोर्डले विभिन्न काम गर्दै आएको छ । प्रश्नपत्र निर्माणका लागि प्रादेशिक कार्यशाला सञ्चालन गरिसकेपछि त्यो कार्यशालाबाट प्रश्नहरु संकलन गरिन्छ । त्यसपछि ल्याइएका प्रश्नपत्रहरुको मोडरेसन विज्ञहरुबाट गरिन्छ ।

प्रश्नपत्र विषय शिक्षकले बनाउँछन् । केन्द्रमा आइसकेपछि पनि विषय शिक्षक र पाठ्यक्रम विज्ञहरुसमेत रहेर मोडरेसन हुन्छ । मोडरेसन गर्दा कक्षा १० को हकमा प्रदेश अनुसार समानान्तर प्रश्नपत्रका सेटहरू बनाइन्छन् । हरेक प्रदेशका लागि फरक–फरक सेटहरु बनाइन्छन् । त्यसरी मोडरेसन गरेर ती समानान्तर सेटमध्ये कुन प्रदेशलाई कुन सेट दिने भनेर छापिन्छ । त्यसका लागि कुन प्रदेशमा कुन सेट पठाउने भनेर गोला प्रथाद्वारा छानिने गरिन्छ ।

कक्षा १२ को हकमा अहिले स्थानीय विभिन्न ठाउँहरुमा स्तरीकृत (स्ट्यान्डराइज) टेस्ट आइटम बनाउने कार्यशाला सञ्चालन गरिएको छ । सोही कार्यशालामा प्रश्नपत्रसम्बन्धी तालिम सञ्चालन भइरहेको हुन्छ, त्यस्ता तालिममा प्रश्नपत्रसमेत निर्माण हुन्छन् । निर्माण कार्यशालाबाट प्रश्नपत्रका आइटम कलेक्सन गरिन्छन् ।

त्यस्ता प्रश्नपत्रहरूलाई विज्ञहरुले फेरि केन्द्रमा ल्याएर हेर्छन् । हेर्ने क्रममा केही कमजोरी तथा त्रुटि भएको खण्डमा विज्ञहरूले नै औंल्याउने र उनीहरूले सच्याउन लगाउने गरेको शर्माको भनाइ छ ।

प्रश्नपत्र निर्माण गर्ने शिक्षकहरूलाई जनक शिक्षा सामग्री केन्द्रको सेक्युरिटी प्रेसभित्र राखेर मोडरेसन गराइन्छ । त्यो मोडरेसन गरेका प्रश्नहरुचाहिँ सेक्युरिटीभित्रै राखिन्छन् । जहाँ विभिन्न सेटहरु बनाइन्छन् । सेक्युरिटीभित्र राखिसकेपछि जुन टिमले मोडरेसन गरेको हो, त्यो टिमले मोडरेसन गरेको टिमभन्दा फरक टिमलाई हेर्न लगाइन्छ ।

सुरक्षा घेरामा रहेर प्रश्नपत्रको छपाईको काम हुन्छ । प्रश्नपत्रको छपाई नहुँदासम्म प्रश्नपत्र निर्माण र मोडरेसन गर्नेहरूको मोबाइल सुरक्षा निकायसँग हुन्छ । बिहान ल्याइसकेपश्चात् विज्ञले हेरिसकेपछि कुनै सच्याउनुपरेमा पेनड्राइभमा हालेर सदस्य सचिवको रोहबरमा सच्याइन्छ । त्यसपछि कुन सेटचाहिँ आजको लागि चाहिएको हो, गोला हालेर सेट झिकिन्छ र त्यही सेटलाई बाहिर पठाइन्छ ।

विगतमा विभिन्न ठाउँमा विविध खालका फरक–फरक सेट पठाउने गरिएको थियो । अहिले एउटै सेट सबै ठाउँमा पठाइन्छ । एसईईको हकमा प्रदेश अनुसार फरक–फरक सेट पठाइन्छ भने कक्षा १२ का लागि एउटै सेट सबैतिर पठाइन्छ ।

कक्षा १२ का लागि १२१ विषयको प्रश्नपत्र निर्माण गरिन्छ । कक्षा १० को हकमा ७४ विषयका प्रश्नपत्र निर्माण गरिन्छन् ।

उत्तरपुस्तिका परीक्षणमा समेत कक्षा १० को हकमा देशभरका ५० ठाउँमा परीक्षण गरिन्छन् भने कक्षा १२ को हकमा २५ ठाउँमा परीक्षणको व्यवस्था मिलाइएको अध्यक्ष शर्मा बताउँछन् ।

ती केन्द्रहरूमा परीक्षण भइसकेका कापीहरूमा परीक्षणपछि सम्परीक्षण हुन्छ । जम्मा कापीहरूमध्ये २० प्रतिशत उत्तरपुस्तिको स्याम्प्लिङ परीक्षण गराउने गरेको उनको भनाइ छ । स्याम्प्लिङ परीक्षण गराउँदा केही त्रुटि भेटिएको खण्डमा पुनः सच्याउने गरिन्छ ।

त्यसपछि अंक इन्ट्री गरिन्छ । अंक इन्ट्री गर्दासमेत दुई ठाउँबाट समान रूपमा हुन्छ । विद्यार्थीको नतिजा इन्ट्री गर्ने क्रममा कुनै त्रुटि नहोस् भनेर दुई ठाउँबाट नै कम्प्यूटरमा प्रविष्ट गरिने उनको भनाइ छ ।

स्लिप वान र स्लिप टुबाट आएको अंकलाई क्रसचेक गरिन्छ । कतै इरर आयो भने देखिन्छ भनेर त्यसरी क्रसचेक हुने बताए ।

त्यसपछि मार्कसिटको लेजर निकालेर समेत हेर्ने गरिएको हुन्छ । त्यसका लागि सबै काम बोर्डका कर्मचारीहरूले गर्ने गरेका छन् ।

प्रश्नपत्रमा इरर आउनुको अर्थ कहिलेकाहीँ कतिपय प्रश्नहरु भित्रै गएर पहिले नै प्रिन्ट गरेर ल्याउँदा मानवीय त्रुटि हुने गरेको अध्यक्ष शर्माको भनाइ छ ।

‘नतिजामा देखिने त्रुटि भनेको मानवीय त्रुटि हुन् । एकजनाले एउटा मात्रै गर्यो भने पनि त धेरै त्रुटि देखिने भयो । त्यो चाहिँ ह्युमन इरर नै हो,’ अध्यक्ष शर्माले भने, ‘त्यस्तो कुराहरुलाई हामीले कसैले ब्लन्डर पनि गरेका रहेछौं भने त्यस्तोलाई सचेत गराउने गरेका छौं । हामीले कार्बाही गरेर केही वर्षसम्म कापी जाँच्न नदिने बनाएका छौं ।’

उत्तरपुस्तिकामा गम्भीर बनेर नहेर्ने, जाँच्दा, जाँचिसकेपछि सम्परीक्षण गर्दा, उत्तर स्लिपमा चढाउँदा जस्ता अवस्थामा त्रुटि देखिने गरेको शर्माको भनाइ छ ।

त्रुटि भेटिएको खण्डमा रिटोटलिङ गराउन पाउने व्यवस्था छ । रिटोटलिङपछि पनि चित्त नबुझेको खण्डमा कापी हेर्न पाउने व्यवस्था गरिएको छ । त्यसमा पनि चित्त नबुझेको खण्डमा कापी जचाउने व्यवस्था छ । त्यसका लागि तीनजनाले जाँचेर औषत अङ्क दिने गरिन्छ ।

विद्यार्थीलाई कुनै किसिमको मर्का नपरोस् भनेरै पारदर्शी भएर बोर्डले काम गर्दै आएको अध्यक्ष शर्मा बताउँछन् । विद्यार्थीहरूको नाम, जन्ममितिमा देखिने त्रुटि भने बोर्डबाट नहुने उनको दाबी छ । विद्यालयमा फारम भर्दा नै त्रुटि हुने गरेको र त्यो सच्याउनका लागि सिडिओको फैसला नै चाहिने गर्छ ।

‘रजिस्ट्रेसन अथवा प्रवेश पत्रको आधारमा त्रुटि भएको रहेछ भने राष्ट्रिय परीक्षा बोर्डले सच्याइदिन सक्छं,’ अध्यक्ष शर्माले भने, ‘नागरिकता अथवा अरु कारणबाट तलमाथि भएको छ भने त्यसमा हाम्रो अधिकार छैन । त्यस्तोमा सिडिओको निर्णयबाट मात्र सच्याउन सकिन्छ ।’

परीक्षाविद् प्रा.डा. गणेशबहादुर सिंह अन्तिम समयमा आएर प्रश्नपत्र निर्माण गर्ने परिपाटीका कारण त्रुटि भेटिने गरेको बताउँछन् । यसका लागि पहिले नै प्रश्नपत्रहरू निर्माण गरेर राख्नुपर्ने उनले बताए ।

त्यसो त, बोर्डले अहिले त्यसको अभ्यास गर्दै आएको छ । सिंह भन्छन्, ‘२५ सेट पहिला नै तयार पारेर राख्ने हो भने अन्तिममा प्रश्नपत्र बनाउने हतारो हुने भएन । चार/पाँच वर्षका लागि तयार पारेर राखिसकिएको हुन्छ । हतार हुने काम पनि कम हुन्छ । हतार कम भएपछि त्रुटि पनि कम हुने भयो ।’

प्रमाणपत्रमा भइरहने त्रुटिचाहिँ अङ्कहरू इन्ट्री गर्दा नै गम्भीर नहुँदा यस्तो खालको समस्या देखिने गरेको देखिन्छ । यसका लागि बोर्डमा नम्बर इन्ट्री गर्नेहरू गम्भीर बनेर कुनै प्रकारको त्रुटि नहोस् भनेर काम गरेमा समाधान हुने प्रा.डा. सिंह बताउँछन् ।

Facebook Comments

परीक्षालाई मर्यादित बनाउन राष्ट्रिय परीक्षा बोर्ड अध्यक्षको अनुरोध, गल्ति भए तत्काल कार्बाही गरिने

Previous article

कूल बजेटको शिक्षामा दुई खर्ब ११ अर्ब १७ करोड रुपैयाँ विनियोजन, शिक्षा क्षेत्रलाई १०.७५ प्रतिशत मात्रै

Next article