वर्षौंदेखि शिक्षकमाथि परेको दबाब, विद्यार्थीका असन्तुष्टि, व्यवस्थापनका चुनौती र अभिभावकका दोहोरिएका गुनासाहरूले सिकाउँछन् कि विद्यालयको यथार्थ सतहभन्दा निकै तल छ। त्यो यथार्थ न त फोटोमा देखिन्छ, न त प्रमोशनको भाषामा अटाउँछ। त्यसले त केवल बाहिरी चकचकेपनको आडमा भित्री बेचैनी लुकाउँछ। कति विद्यालयहरू अहिले पनि ‘सफलता’ को नाममा आन्तरिक कमजोरीहरू लुकाउँदै प्रचारको पछाडि दौडिरहेका छन्। तर यथार्थ भने त्यो पोस्टरमा देखिएको भन्दा धेरै फरक हुन्छ।
शिक्षकहरू थाकेका छन्, विद्यार्थीहरू भय र तनावमा छन्, व्यवस्थापन व्यवस्थापन जस्तो छैन अनि नेतृत्वरूपी अनुपस्थितिले विद्यालयलाई केवल प्रणालीको भरमा चलाइरहेको छ भने त्यस्ता विद्यालयहरू कहिल्यै अभिभावक र विद्यार्थी केन्द्रित बन्न सक्दैनन्। विद्यालयको साँचो आधारशीला भनेकै नेतृत्व हो। तर दुर्भाग्यवश, हाम्रा धेरै विद्यालयहरूमा नेतृत्व अझै ‘पद’ मा सीमित छ ‘दृष्टिकोण’ मा होइन।
एसईई नतिजाको मूल्याङ्कन र प्रदर्शन गर्नुभन्दा पहिले विद्यार्थीहरूमा पढाइ र सिकाइ अनि अभ्यासप्रतिको रूचि जगाउने कक्षा र परिवेश आ-आफ्नो विद्यालयमा निर्माण गरौँ। पैसा, नाम र नाफामुखी सोचले मात्र विद्यालय बन्दैन भन्ने कुरा त्यस्ता विद्यालय सञ्चालकहरूलाई बुझाउँदै अगाडि बढौँ।
निजी विद्यालयहरूको प्रसङ्ग झन् पीडादायी छ। जहाँ स्कूल मालिकको भूमिका प्राचार्यको भन्दा माथि ठानिन्छ, नीति पनि उसैको, निर्णय पनि उसैको मानिन्छ र प्राचार्य नाम मात्रका हुन्छन् भने एकपटक कल्पना गरौँ त यस्ता विद्यालयहरूमा व्यक्ति र शक्तिवादी चिन्तन कति र कुन हदसम्म हावी होला? हामीले बिर्सनै नहुने कुरा के हो भने एउटा प्राचार्य स्कूलमा उपस्थित छ कि छैन भन्ने कुरा मात्रले पनि शिक्षकहरूको जिम्मेवारीबोध, विद्यार्थीको व्यवहार र सम्पूर्ण विद्यालय संस्कृतिमा धेरै ठूलो असर पारिरहेको हुन्छ। पढाइले मात्र नेता बनाउँदैन। जसरी सबैले एउटै किताब पढेर एउटै जिपिए ल्याउँदैनन्, त्यसैगरी नेतृत्व पनि व्यक्तित्व, भोगाइ, दृष्टिकोण र अनुभवको समिश्रण हो। तर विडम्बना, विद्यालय नेतृत्वको लागि हाम्रो देशमा आजसम्म कुनै स्पष्ट मापदण्ड छैन।
च्याउसरि खुलेका निजी विद्यालयहरूले शिक्षाको स्तर, वातावरण र मूल्य कहाँसम्म पुर्याइरहेका छन् भनेर हेर्ने, बुझ्ने र थाम्ने संयन्त्र पनि अझै कमजोर छ। हो, अहिले स्थानीय सरकारसँग विद्यालयप्रति धेरै अधिकारहरू छन्। तर अधिकार पाएको कुरा मात्रले जिम्मेवारी पूरा हुन्छ त ? समस्या बोकेर वडा, नगरपालिका वा गाउँपालिकासम्म पुग्ने आँट गर्नेहरू कति होलान्? अनि त्यहाँबाट प्राप्त हुने सहयोग वा समाधान कति प्रभावकारी होला? प्रश्नहरू व्यवहारिक रूपमा जोडिएर आउँछन्। तर यथार्थमा यी प्रश्नहरू पनि अझै उत्तरविहीन छन्।
जब विद्यालयमा बढी परिणाम र प्रतिस्पर्धामा ध्यान केन्द्रित गरिन्छ, विद्यार्थीहरूमा अत्यधिक दबाब सिर्जना हुन सक्छ। यो दबाबले विद्यार्थीहरूलाई मानसिक रूपमा थकित बनाउन सक्छ जसले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्न सक्छ। जब विद्यार्थीलाई केवल उत्कृष्टता हासिल गर्न प्रतिस्पर्धा गर्न प्रेरित गरिन्छ, उनीहरूको आत्मविश्वास प्रभावित हुन सक्छ। उनीहरूले यदि अपेक्षित परिणामहरू प्राप्त गर्न सकेनन् भने उनीहरूमा आत्मसम्पूर्णता र आत्ममूल्यको भावना कम हुन सक्छ। प्रतिस्पर्धात्मक सोचले सहकार्य र समावेशितालाई पनि कम गर्न सक्छ। विद्यार्थीहरू एकअर्कासँग प्रतिस्पर्धामा लागेर एकअर्काको सहयोग गर्न कम इच्छुक हुन सक्छन्। यसले विद्यालयको सामाजिक वातावरणमा नकारात्मक असर पार्न सक्छ।
विद्यालयको मुख्य उद्देश्य भनेको विद्यार्थीको समग्र विकास हो। केवल देखाउनमा ध्यान केन्द्रित गर्दा यसले विद्यार्थीहरूको भावनात्मक, सामाजिक र नैतिक विकासमा बाधा पुर्याउन सक्छ। विद्यालयमा सकारात्मक वातावरण सिर्जना गर्न र विद्यार्थीहरूको समग्र विकासलाई प्रोत्साहित गर्न, प्रतिस्पर्धात्मक सोचलाई सन्तुलित र सहयोगात्मक दृष्टिकोणसँग समायोजन गर्नुपर्छ। यसरी मात्र विद्यार्थीहरूलाई आत्मविश्वास, सहकार्य र समावेशिता सिकाउने अवसर प्राप्त हुन्छ।
त्यसैले अब हामीले ‘कति जनाले ए प्लस र ४ जिपिए ल्याए?’ भन्नेभन्दा पहिले ‘कति विद्यार्थीले जीवन बुझ्न थाले?’ भन्ने प्रश्न सोध्न सिक्नुपर्छ। किनकि शिक्षा भनेको आत्मा समेट्ने प्रक्रिया हो। नतिजा देखिनेभन्दा बढी भोगिने र महशूस गरिने कुरा हो। त्यसैले विद्यालय सफल बनाउने भनेको पेन्ट गर्ने कुरा होइन, बरू बुझ्ने र बदल्ने कुरा हो।
प्राचार्यदेखि शिक्षक, अभिभावकदेखि स्थानीय तहसम्म सबैले आफूले गर्न सक्ने कुरा गर्न थाले भने विद्यालय परिवर्तनका थालनीहरू आफैँ शुरु हुन्छन्। एसईई नतिजाको मूल्याङ्कन र प्रदर्शन गर्नुभन्दा पहिले विद्यार्थीहरूमा पढाइ र सिकाइ अनि अभ्यासप्रतिको रूचि जगाउने कक्षा र परिवेश आ-आफ्नो विद्यालयमा निर्माण गरौँ। पैसा, नाम र नाफामुखी सोचले मात्र विद्यालय बन्दैन भन्ने कुरा त्यस्ता विद्यालय सञ्चालकहरूलाई बुझाउँदै अगाडि बढौँ।
बाहिरी प्रदर्शनभन्दा भित्री सुधार महत्वपूर्ण हो भन्ने कुरा सबैले बुझ्ने दिन कहिले आउँला भनेर आफ्ना कमजोरीहरू लुकाउँदै आदर्श बन्नुको सट्टा आउनुहोस् एउटा एउटा विद्यालय सुधारौँ।
(लेखक, विद्यालय काउन्सिलर हुन् ।)

एसईई नतिजाको मूल्याङ्कन र प्रदर्शन गर्नुभन्दा पहिले विद्यार्थीहरूमा पढाइ र सिकाइ अनि अभ्यासप्रतिको रूचि जगाउने कक्षा र परिवेश आ-आफ्नो विद्यालयमा निर्माण गरौँ। पैसा, नाम र नाफामुखी सोचले मात्र विद्यालय बन्दैन भन्ने कुरा त्यस्ता विद्यालय सञ्चालकहरूलाई बुझाउँदै अगाडि बढौँ।








