समाचार

विव्यस गठनमा बिवाद हुँदा झडप


सर्लाही । सर्लाहीको पश्चिमी क्षेत्र गडहिया डुमरियामा विद्यालय व्यवस्थापन समिति चयनको विषय लिएर शुक्रबार दुई पक्षबीच विवाद हुँदा झडप भएको छ । झडपमा एक दर्जनभन्दा बढी अभिभावक घाइते भएका छन् ।

डुमरियास्थित श्री जनता उच्च माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठनको विषयलाई लिएर कांग्रेस सांसद अमरेशकुमार सिंह र तराई मधेस सद्भावना पार्टीका पूर्वसांसद शिवपूजन रायबीच विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सिंह सोही निर्वाचन क्षेत्रका निर्वाचित सांसद हुन् भने डुमरियाका राय पहिलो संविधानसभामामा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

व्यवस्थापन समिति सदस्य छान्ने क्रममा भागबन्डा नमिल्दा सांसद सिंह र पूर्वसांसद राय पक्षबीच झडप भएको हो । झडपमा दुवै पक्षबाट भाटा हानाहान भएको थियो । शिवपूजन रायले एकलौटी आफ्ना मानिसमात्र समितिमा राखेको जानकारी पाएपछि सिंह कार्यकर्ता लिई विद्यालय पुगेका थिए । विद्यालयले प्रक्रियामै गएर समिति चयन गरेकोले सिंहको मागअनुसार पुनः समिति चयन गर्न रायले नमान्दा झडप भएको हो । झडपले उग्र रूप लिएपछि सिंह फर्केका थिए । ‘आफ्ना पक्षका अभिभावकलाई विद्यालयबाट लिएर नफर्केको भए रक्तपात हुन्थ्यो’, सिंहले भने ।

सांसद सिंहले निर्णय भइसकेको समितिलाई नमान्ने धम्की दिएपछि झडप भएको रायको कथन छ । धम्कीपूर्ण शैलीमा सिंह र उनका कार्यकर्ता प्रस्तुत भएपछि स्थानीय आक्रोशित भएर प्रतिकारमा उत्रेको रायले बताए । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास तथा लाठी चार्ज गरेको सर्लाहीका प्रहरी नायब उपरीक्षक सीताराम रिजालले बताए । अन्नपुर्णपोष्ट दैनिकमा सुनिल ठाकुरले समाचार लेखेका छन् ।

Facebook Comments

नमुना विद्यालय छनौट प्रकरण : शून्य नतिजा ल्याउनेलाई नै उत्कृष्ट घोषणा

Previous article

स्कुल होइन, जेलमा यी बाला !

Next article