प्रमुख समाचारसमाचार

हराएको उत्तरपुस्तिकाबारे छानबिन गरी दोषीलाई हदैसम्मको कार्बाही गर्न अखिल क्रान्तिकारीको माग


त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत बीए प्रथम वर्षकोे जनसंख्या ‘पीओपी–४२२’ विषयमा परीक्षा लिइएको उत्तरपुस्तिका नै हराएको घटनाप्रति अखिल क्रान्तिकारीले प्रश्न उठाउँदै ‘उत्तरपुस्तिकामा संलग्न प्राध्यापकहरुमाथि सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कानूनी कार्बाही गर्न’ माग गरेको छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी त्रिवि समितिका अध्यक्ष प्रदीप भट्टद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीको सुनौलो भविष्यमाथि खेलवाड गर्ने शिक्षा क्षेत्रका दलाल माफिया जोसुकै किन नहुन् त्यस्तालाई अखिल क्रान्तिकारी चेतवानी दिन चाहन्छ । विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने जिम्मेवारी प्राप्त गरेको परीक्षा नियन्त्रण कार्यालयको यो गैरजिम्मेवारीपनको पछाडि परीक्षा नियन्त्रक र केन्द्रीय परीक्षा बोर्डका अध्यक्ष रजिष्ट्रारको उदासीनता माफियाकरणको उपजका कारण यो समस्या बारम्बार उत्पन्न भइरहेको छ ।’

क्रान्तिकारीले यस्ता अप्राज्ञिक हर्कतहरुका विरुद्ध एक ढिक्का भई लड्न पनि सम्पूर्ण विद्यार्थीहरुलाई आह्वानसमेत गरेको छ ।

गत कात्तिकको पहिलो साता भएको जनसंख्या विषयको परीक्षाको उत्तरपुस्तिका सम्परीक्षण गर्नुअघि नै हराएको थियो । यो विषयका देशभरबाट ल्याइएका १६५ थान उत्तरपुरस्तिका हराएको छ ।

यसैबीच, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा अर्को विषयको पनि उत्तरपुस्तिका हराएको खुलासा भएको छ । अछामको परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको स्नातक तह प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको १७६ थान उत्तरपुस्तिका हराएको त्रिवि स्रोतले जनाएको छ ।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न इतिहास विभागका प्रमुख ईश्वरी कँडेलको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो । छानबिन समितिले प्रतिवेदन के दियो भन्ने थाहा नहुँदै त्रिवि पनिकाले भने यही चैत २१ गतेदेखि परीक्षा गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरेको छ ।

 

Facebook Comments

विद्यालयको छानामाथि ११ हजार भोल्टको विजुली तार, उच्च जोखिममा विद्यार्थी र शिक्षक

Previous article

 “Fostering Diversity, Equity, Inclusion and Innovation in Early Grade Learning.” 

Next article