समाचार

सिरहाका तीनवटै क्याम्पसमा भएन स्ववियु निर्वाचन


शम्भु यादव
लहान । मधेसवादी दलका विद्यार्थी संगठनहरुको अवरोधले सिरहाका तीनवटै क्याम्पसमा आज हुने भनिएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को निर्वाचन हुन सकेन् । मधेशी विद्यार्थी संगठनहरुले क्याम्पसमा ताला बन्दी गरेका छन् ।

सदरमुकाम सिरहास्थित सुर्यनारायण सत्यनारायण मोरवैता यादब बहुमुखि क्याम्पस, गोलबजार क्याम्पस र लहानस्थित जे.एस. मुरारका बहुमुखि क्याम्पसमा स्ववियूको निर्वाचन अनिश्चित बनेको हो । मधेसी विद्यार्थीले दिएको चेतावनी र तालाबन्दीका कारण निर्वाचन गराउने वातावरण नबनेको भन्दै क्याम्पसहरुले निर्वाचन स्थगित गरेको सूचना जारी गरेका छन् ।

लहान, गोलबजार र सिरहा क्याम्पसले निर्वाचन स्थगितको सूचना जारी गरेपनि अब निर्वाचन कहिले गराउने विषयमा केहि उल्लेख गरेका छैन् । लहानस्थित जे.एस. क्याम्पसमा नेवि संघले चुनाव गराउन आलटाल गरेको भन्दै क्याम्पस प्रमुख तुलसी पोखरेल लगायतका प्राध्यापकलाई मंगलवार साँझ केहिबेर थुनेका थिए ।

लहान क्याम्पसमा चुनाव गराउन माग राख्ने नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी यूनियनले प्रदर्शन समेत गरे । तर क्याम्पस प्रशासनले निर्वाचन गराउने भन्दा भन्दै साँझमा अन्नतः चुनाव स्थगितको सूचना निकाल्यो ।

क्याम्पस प्रशासनको निर्णय विरुद्ध नयाँ शक्ति विद्यार्थी यूनियन, अखिल क्रान्तिकारी र अनेरास्ववियूले संयुक्त रुपमा आज विज्ञप्ती जारी गरेर निर्वाचन नगराउँदा दुःख व्यक्त गर्दै क्याम्पस प्रशासनको लापरबाहीले विद्यार्थीहरुको पठनपाठन समेत प्रभावित बनेको प्रति चिन्ता व्यक्त गरेका छन् ।

गोलबजार क्याम्पस प्रशासनले उम्मेदवारीका लागि मनोनय पत्र खरिद शुल्क अत्यधिक राखेको भन्दै मधेसी विद्यार्थी संगठनहरु र नयाँ शक्ति विद्यार्थी यूनियनले विरोध गरेको छ । स्रोतका अनुसार देशभरका हरेक क्याम्पसभन्दा बढी रु. ३५ हजार शुल्क मनोनयन दर्ताका लागि राखेकोमा विरोध भएको हो ।

मनोनयन शुल्क नघटाएसम्म स्ववियू निर्वाचन हुन नदिने नयाँ शक्ति विद्यार्थी युनियन र मधेसी विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् । उनीहरुले शुल्क नघटाएसम्म क्याम्पसमा लगाएको ताला नखोल्ने पनि जनाएका हुन् । यता क्याम्पस प्रशासनले शुल्क घटाउने विषयमा केहि बोलेका छैन् ।
सिरहा सदरमुकामस्थित सुर्यनारायण सत्यनारायण बहुमुखि क्याम्पसमा नेविसंघले निर्वाचन अवरोध गरेको छ । त्रिभुवन युनिभर्सिटीले लगाएको २८ बर्षे हदबन्दी हटाउनुपर्ने माग राख्दै नेविसंघले क्याम्पसमा तालाबन्दी गरेको हो ।

नेविसंघको उम्मेदवार नभेटेपछि क्याम्पसमा निर्वाचन विथोलेको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य अरबिन्द यादबले आरोप लगाए । उनले भने– २८ बर्षे हदबन्दी लागेपछि नेविसंघको उम्मेदवार नै भेटेका छैन् । त्यसैले निर्वाचन नै हुन नदिने षड्यन्त्रमा लाग्यो । सिरहा क्याम्पसमा मधेसी विद्यार्थीहरुले पनि ताला बन्दी गरेका छन, उनीहरुले निर्वाचन हुन नदिने अडान राखेका छन् ।

Facebook Comments

बाल कविता सङ्ग्रह ‘चित्रजस्तो देश’

Previous article

प्रजातन्त्रवादी प्रध्यापकसंघको अध्यक्षमा तिमल्सिना र महासचिवमा गौतमको उम्मेदारी घोषणा

Next article