सबै समाचार

विद्यार्थीलाई किताबी ज्ञानभन्दा बाहिर निकाल्न विद्यालयमा ‘स्टीम’ प्रदर्शनी


हरेक विद्यार्थीमा फरक–फरक प्रतिभा र क्षमता हुने र त्यसलाई प्रस्तुत गर्न विद्यालयहरुले पाठ्यपुस्तकभन्दा बाहिरी क्रियाकलाप गराई विशेष कार्यक्रम गर्न थालेका छन् ।

यस्तै कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीस्थित महाकवि देवकोटा मेमोरियल माध्यमिक विद्यालयले शनिबार ‘स्टीम’ (STEAM) प्रदर्शनी आयोजना गरी विद्यार्थीको प्रतिभा सार्वजनिक गरेको छ । स्टीम दृष्टिकोणमार्फत् परियोजनामा आधारित सिकाइलाई प्रवर्द्धन गर्दै विद्यार्थीहरूमा सिर्जनशीलता, समालोचनात्मक सोंच, सहकार्य तथा समस्या समाधान क्षमताको विकास गराउने विश्वास आफूहरुमा रहेको आयोजकको भनाइ छ ।

विद्यालयले वार्षिक स्टीम प्रदर्शनीका साथै सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरणसमेत सम्पन्न गरेको छ । आयोजक विद्यालयले कार्यक्रम गर्नुको मुख्य  उद्देश्य विद्यालयमा स्टीम अर्थात् साइन्स, टेक्नोलोजी, इञ्जिनियरिङ, आर्ट्स र म्याथमेटिक्सको दृष्टिकोणमार्फत् परियोजनामा आधारित सिकाइलाई प्रवर्द्धन गर्नु हो भनेको छ ।

कार्यक्रममा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुले ३० भन्दा बढी नवीन तथा सिर्जनात्मक परियोजनाहरू प्रदर्शन गरे । ती परियोजनाहरू विज्ञान, गणित, इन्जिनियरिङ, प्रविधि तथा कला क्षेत्रसँग सम्बन्धित रहेका छन् । प्रदर्शित मुख्य परियोजनाहरुमा मार्स रोभर, मेकानम ह्विल कार, हाइड्रोलिक जेसिवि मोडल, हाइड्रोलिक आर्म, ब्लुतुथ अब्स्ट्याकल डिटेक्टर कार, फ्रि इलेक्ट्रिसिटि मोडल, वाटर लेभल इन्डिकेटर, अटोमेटिक स्ट्रिट लाइट मोडल, ग्रासल्याण्ड इकोसिस्टम, भोल्क्यानो मोडल, सोलार सिस्टम होम मोडललगायत रहेका थिए । साथै, विद्यार्थीहरूले अंग्रेजी, नेपाली तथा सामाजिक अध्ययन विषयसँग सम्बन्धित परियोजनाहरू पनि प्रस्तुत गरे, जसले अन्तरविषयक सिकाइलाई स्पष्ट पार्न सकेका थिए ।

कार्यक्रममा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुति गरेका थिए । नेपाली विविध संस्कृति र कलालाई नृत्यमार्फत् उजागर गरिएको थियो । विद्यार्थीहरुले सन्देशमूलक नाटकसमेत प्रदर्शन गरे । बालबालिकामा मोबाइल फोनको सही प्रयोग तथा अभिभावकको सकारात्मक अभिभावकत्वसम्बन्धी सन्देश सो नाटकमा दिइएको थियो ।

यस अवसरमा विद्यालयले ‘इसीए मिट अवार्ड सेरेमोनी’ गर्दै ३५० भन्दा बढी विद्यार्थीलाई सम्मानका साथै पुरस्कृत गरेको थियो । अतिरिक्त क्रियाकलाप तथा खेलकुद क्षेत्रमा गरेका उपलब्धिका लागि विद्यार्थी सम्मानित एवं पुरस्कृत भएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि रहेकी कागेश्वरी मनोहरा नगरपालिकाकी शिक्षा अधिकृत रोशनी आचार्यले विद्यार्थीको सिकाइ उपलब्धि बढाउन शिक्षक र अभिभावकले आधारभूत तहबाटै मेहनत गर्नुपर्ने बताइन् ।

स्वागत मन्तव्य राख्दै विद्यार्थी कृति थापाले भनिन्, ‘स्टीम प्रदर्शनी विद्यार्थीको सर्वाङ्गीण प्रतिभालाई अभिव्यक्त गर्ने गजबको अवसर बनेको छ ।’

शिक्षक निराजन पौडेलले भने, ‘अभिभावकहरुले आफ्ना बालबालिकालाई विद्यालय पठाउँदा सधैं एकै ड्रेसमा देखिरहेका र यस्तो कार्यक्रममा फरक पहिरन र फरक प्रतिभामा देख्दा कस्तो अनुभूति भएको होला, नानीबाबुहरुसित अनुभव साझा गर्न नछुटाउनु होला ।’

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलानाथ रेग्मी, प्रिन्सिपल रमेशप्रसाद शर्मालगायतले अतिथिहरुलाई स्वागत गरेका थिए । एन प्याब्सन काठमाडौंका अध्यक्ष अमृत खड्का, एन प्याब्सन काठमाडौंका उपाध्यक्ष प्रेम भुजेललगायतको सहभागिता रहेको सो कार्यक्रममा ५०० भन्दा बढी अभिभावक तथा १०० भन्दा बढी आगन्तुकहरूको उपस्थिति थियो ।

 

Facebook Comments

धादिङका आधारभूत विद्यालयमा देखियो गणित शिक्षामा आमूल परिवर्तनको संकेत

Previous article