प्रमुख समाचारसमाचार

यस वर्षको एसइइ परीक्षा आजबाट शुरू, पाँच लाखभन्दा बढी परीक्षार्थी सम्मिलित


यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आज बिहीबारबाट शुरू भएको छ । बिहान ८ः०० बजेबाट देशभर एकैपटक परीक्षा सञ्चालन गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले एसइइ परीक्षा सञ्चालन गर्ने गर्दछ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले एसइइ परीक्षा फाराम भरेका थिए । तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षामा सम्मिलित हुनेछन् । यति संख्याका विद्यार्थीका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी छन् ।

परीक्षामा यो वर्ष पनि छात्राको संख्या बढी छ । छात्रा दुई लाख ५७ हजार ६१३, छात्र दुई लाख ५४ हजार ८०१  र अन्य सात जना परीक्षामा सहभागी छन् । जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिएका छन् ।

परीक्षाको पहिलो दिन बिहीबार (१९ चैतमा) अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ । यसैगरी, चैत २० गते अनिवार्य नेपाली, २२ मा अनिवार्य गणित, २३ मा विज्ञान तथा प्रविधि, २४ मा सामाजिक अध्ययन, २५ मा ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ मा ऐच्छिक द्वितीय खण्डका सबै विषय तथा चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।

परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

परीक्षा यही चैत २९ गते सम्पन्न हुने तालिका रहेको छ ।

यसपालिको एसइइमा यी हुन् नयाँ व्यवस्था 

तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण 
–’माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ लागू ।

–परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गरिसक्ने बोर्डको योजना ।

–निर्देशिकाअनुसार ‘मार्कस्लिप प्रिन्ट’ गरी ‘ट्याब’ मा चढाइ खाममा ‘सिलबन्दी’ गरी गोप्य र सुरक्षित रूपमा शिक्षा विकास तथा समन्वय एकाइमा तीन दिनभित्र बुझाउनुपर्ने नयाँ व्यवस्था ।

–परीक्षा समाप्त हुने समयमा तोकिएका परीक्षकहरू परीक्षण केन्द्रमा पुगिसक्नुपर्ने प्रावधान ।

–सम्बन्धित विद्यालयको उत्तरपुस्तिका नपर्नेगरी परीक्षक र संपरीक्षकको व्यवस्था । नतिजा प्रकाशनलाई प्रदेशगत रूपमा पनि प्रकाशन गर्न सकिने व्यवस्था ।

–परीक्षक र संपरीक्षकलाई परीक्षण केन्द्रमै रहेको अवस्थामा उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने ।

–परीक्षण केन्द्र रहेको विद्यालय भवनको सम्भव भएसम्म सिसिटिभी जडान भएको सुरक्षित कक्षमा परीक्षण र संपरीक्षण गराउने व्यवस्था ।

–परीक्षण केन्द्रबाट उत्तरपुस्तिका बाहिर लैजाने, तोकिएका परीक्षकको सट्टामा अन्यले परीक्षण गर्ने, तोकिएको योग्यता नपुगेका शिक्षकले परीक्षण गर्ने, उत्तरपुस्तिकाको पोका हराउन वा मिसिन सक्ने जस्ता अनियमितता रोक्ने प्रबन्ध ।

–परीक्षक र संपरीक्षकले परीक्षण कक्षमा मोबाइललगायतका विद्युतीय उपकरण ल्याउन नहुने प्रावधान ।

–परीक्षा भएकै दिन परीक्षक र संपरीक्षकलाई उत्तरपुस्तिका बुझाइने, परीक्षणमा लापर्वाही गरेको पाइएमा लापर्वाहीको मात्रा हेरी पुनः परीक्षण गराउने, पारिश्रमिक कट्टा गर्ने वा परीक्षकको सूचीबाट नाम हटाउने, अन्य अमर्यादित कार्य गरेमा प्रचलित कानुनबमोजिम विभागीय कारबाहीसमेत गर्ने निर्देशिकामा व्यवस्था ।

सामूहिक अनुगमन गर्न नपाइने

–एसइइ परीक्षामा सामूहिक अनुगमन गर्न रोक लगाइएको छ । परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न संघ–संगठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अबरोध पुगेको गुनासो आएको थियो । अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

 

 

 

Facebook Comments

शिक्षामा बजेट अपुग छ, यसलाई बढाइन्छ : नवनियुक्त शिक्षामन्त्री पोखरेल

Previous article

विद्यालय व्यवस्थापन समितिको भूमिकालाई सशक्त बनाउनुपर्ने सुझाब

Next article