प्रमुख समाचारसमाचार

विद्यालय व्यवस्थापन समितिको भूमिकालाई सशक्त बनाउनुपर्ने सुझाब


सामुदायिक विद्यालयको गुणस्तर बढाउने हो भने विद्यालय व्यवस्थापन समितिको भूमिकालाई सशक्त बनाउनुपर्ने सुझाब सरोकारवालाले दिएका छन् ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल (एसएमसी फेडेरेसन)को १२ औं स्थापना दिवस मनाउने क्रममा बुधबार आयोजित अनलाइन भर्चुअल छलफलमा यस्तो सुझाब दिइएको हो ।

‘परिवर्तित परिवेशमा : सार्वजनिक शिक्षा’ विषयक छलफलमा प्रा.डा. विद्यानाथ कोइरालाले विव्यसका पदाधिकारीले आफूलाई शासक नठानी विद्यालय व्यवस्थापनका लागि सहयोगी हो भन्ने बुझ्न सक्नुपर्ने सुझाब दिए । नयाँ सरकारले व्यवस्थापन समितिमा गैरदलीय सहभागिता हुनुपर्ने भनेपनि मानिसको मानसपटलमा रहिरहेको दलीय सोंच हटाउन चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।

महासंघका अध्यक्ष गुणराज मोक्तानले विद्यालय व्यवस्थापन समितिको अधिकार नखुम्च्याउन आफूहरुले अन्तिमसम्म आवाज उठाइरहने बताए । उनले विद्यालय व्यवस्थापन समितिको स्वायत्ततालाई कुण्ठित गर्ने विगतमा स्थानीय सरकारहरुबाट भएका प्रयत्नविरुद्ध महासंघले आवाज उठाएको स्मरण गराए ।

नयाँ प्रधानमन्त्री वालेन्द्र साह काठमाडौं महानगरपालिकाका प्रमुख छँदा वडाध्यक्षलाई विव्यस अध्यक्ष बनाउने निर्णय भएको र त्यसविरुद्ध महासंघले नागरिक र कानूनी दुइटै तहमा लड्नुपरेको सुनाए । ‘अब त्यस्तो नहोस् भन्ने हाम्रो अपेक्षा छ,’ उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल सरकारका सचिव डा. हरिप्रसाद लम्साल, महासंघका संस्थापक अध्यक्ष कृष्ण थापा, वर्तमान पदाधिकारीहरु, शैक्षिक अभियन्ता अभिषेक घिमिरे, पत्रकार सुदर्शन सिग्देललगायतले धारणा राखेका थिए । वक्ताहरुले विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु विद्यार्थीको सिकाइ स्तर बढाउने उपायमा योजनाका साथ लाग्नुपर्ने सुझाएका थिए ।

२०७० सालमा स्थापित महासंघ ‘हामी सुधार्छाैं हाम्रो विद्यालय’ भन्ने मूल मन्त्रका साथ क्रियाशील रहँदै आएको छ ।

 

Facebook Comments

यस वर्षको एसइइ परीक्षा आजबाट शुरू, पाँच लाखभन्दा बढी परीक्षार्थी सम्मिलित

Previous article

अबदेखि विद्यालयमा दुई दिन विदा दिने सरकारको निर्णय, पाठ्यघण्टालाई ख्याल गर्न शिक्षाविद्को सुझाब 

Next article