‘विद्यार्थीले अब कक्षाकोठामा कति पाठ्यघण्टा बिताउनुपर्ने हो ? अहिलेकै पाठ्यक्रमले तोकेको पाठ्यघण्टा अनुसार नभई एउटा स्पष्ट फ्रेमवर्क बनाउनु पर्छ । एउटा निर्देशिका बनाएर काम गर्न सकिन्छ ।’
-डा. विष्णु कार्की, शिक्षाविद्
अबदेखि शैक्षिक संस्था र सरकारी कार्यालयहरु हप्ताको पाँच दिन मात्र खुल्ने र दुई दिन विदा दिने सरकारले निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारको निर्णयबारे जानकारी दिएका हुन् ।
यसैगरी, आउँदो शैक्षिक शत्र २०८३ वैशाख १५ गतेबाट शुरु गर्ने सरकारले निर्णय गरेको छ ।
नेपालमा दुई दिन विदा दिने निर्णय पहिलो भने होइन । तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पालामा काठमाडौं उत्यकामा र शेरबहादुर देउवाको पाला देशभरी शनिबार र आइतबार विदा दिने निर्णय गरिएको थियो । तर, केही समय कार्यान्वयन गरिएपनि नेपालका लागि अव्यवहारिक भएको र सेवाग्राहीलाई सेवा दिन बाधा पुगेको भन्दै सरकारले सो निर्णय फिर्ता लिएको थियो ।
दुई दिने विदा किन र कसरी शुरु भयो ?
विश्वमा कागजी रूपमा दुई दिने साप्ताहिक विदाको शुरुवात र विकासका पछाडि धार्मिक, औद्योगिक र सामाजिक कारणहरू छन् । यसको ऐतिहासिक सिलसिला रहेका छन् ।
सन् १९०८ तिर अमेरिकामा आधिकारिक रूपमा दुई दिने विदा (शनिबार र आइतबार) को शुरुवात भएको मानिन्छ । अमेरिकाको न्यु इङ्गल्याण्डस्थित एउटा कपडा मिल (स्पाइनिङ मिल)बाट भएको थियो । त्यहाँ काम गर्ने यहुदी कामदारहरूले आफ्नो धार्मिक पर्व ‘साबथ’ मनाउन शनिबार विदा मागेपछि मिलले हप्ताको दुई दिन विदा दिन शुरु गरेको थियो ।
यस्तै, प्रख्यात अटोमोबाइल व्यवसायी हेनरी फोर्डले आफ्नो ‘फोर्ड मोटर कम्पनी’मा सन् १९२६ देखि हप्तामा ५ दिन मात्र काम गर्ने र शनिबार–आइतबार विदा दिने नियम कडाइका साथ लागू गरे । उनले ‘मानिसलाई सामान किन्न र चलाउन फुर्सद पनि चाहिन्छ’ भन्ने व्यावसायिक मान्यताका साथ सो निर्णय लिएका थिए ।
सन् १९३८ मा त अमेरिकामा ‘फेयर लेबर स्ट्यान्डड्र्स एक्ट’ लागू भएपछि हप्तामा ४० घण्टा काम र दुई दिने विदाले कानुनी र राष्ट्रिय मान्यता पाएको थियो ।
शैक्षिक क्षेत्रमा कहिलेबाट ?
युरोप र अमेरिकामा औद्योगिक क्रान्तिपछि कामदारका छोराछोरीको हेरचाह र पारिवारिक मिलनका लागि विद्यालयहरूमा पनि कार्यस्थलकै सिको गर्दै दुई दिने विदा दिन थालियो ।
२० औँ शताब्दीको मध्यतिर (१९४०–१९५० को दशक) बेलायत र अन्य युरोपेली देशहरूले दुई दिने विदालाई व्यापक रूपमा अपनाए भने एसियाली मुलुकहरूले सन् १९८० देखि यो रितलाई अपनाएको देखिन्छ । जस्तै, जापानले सन् १९८० को अन्त्यतिर र पूर्ण रूपमा सन् १९९२ देखि सरकारी कार्यलय र विद्यालयहरूमा दुई दिने विदा लागू गर्यो ।
यसैगरी, चीनले सन् १९९५ मे महिनादेखि हप्तामा ५ दिन काम र २ दिन विदाको व्यवस्था शुरु गर्यो ।
भारतमा सन् १९८५ देखि केन्द्र सरकारले ५ दिने कार्यतालिका लागू गर्यो, जसको प्रभाव बिस्तारै शैक्षिक संस्थाहरूमा पनि पर्न थालेको थियो ।
धर्म, उत्पादन, मनोरञ्जन र अर्थतन्त्र मुख्य कारण
दुई दिने विदा दिनुका ऐतिहासिक कारणहरु धर्म, उत्पादन वृद्धि, मनोरञ्जन तथा अर्थतन्त्र चलायमानसँग सम्बन्धित छन् । जस्तै, क्रिस्चियनहरूका लागि आइतबार र यहुदीहरूका लागि शनिबार पवित्र दिन मानिने भएकाले दुबैको सम्मानका लागि दुई दिने विदाको अवधारणा ल्याइएको देखिन्छ ।
यस्तै, उत्पादकत्व वृद्धि हुने विश्वास गरिन्छ । विभिन्न अनुसन्धानले देखाएका छन् कि लगातार काम गर्दाभन्दा विदापछि काममा फर्कँदा कामदार र विद्यार्थीको क्षमता बढी हुन्छ ।
यसैगरी मानिसहरूले विदामा घुमघाम र किनमेल गर्दा अर्थतन्त्र चलायमान हुने भएकाले पनि विभिन्न देशका सरकारहरूले यसलाई प्रोत्साहन गरे ।
नेपालमा केही समय आइतबार बिदा दिने निर्णय गरिएको थियो, तर व्यावहारिक कठिनाइ र इन्धन बचतको उद्देश्य मात्र राखिएकाले त्यो लामो समय टिक्न सकेन । तर, विकसित देशहरूमा भने दुई दिने विदालाई ‘गुणस्तरीय जीवन’सँग जोड्ने अवसरका रुपमा हेरिँदै आएको छ ।
नेपालका विद्यालयमा कस्तो प्रभाव पार्ला ?
सरकारले दुई दिन विदा किन दिएको भनेर कारण स्पष्ट पारेको त छैन तर अहिले पनि इरान–अमेरिका युद्धका कारण पेट्रोलियम पदार्थको अभावलाई कम झेल्न पनि यो निर्णय लिएको हुन सक्ने नागरिक तहमा चर्चा छ । यद्यपि, विद्यालयमा भने विद्यार्थीको सिकाइमा रचनात्मक र सिर्जनात्मक अवस्था आउन सक्ने विश्वास गरिएको छ ।
शिक्षाविद् डा. विष्णु कार्की भने दीर्घकालका लागि विद्यालयमा दुई दिन विदा दिने निर्णय भएको हो भने त्यो स्वागतयोग्य भएको बताउँछन् । ‘तर, विद्यार्थीले अब कक्षाकोठामा कति पाठ्यघण्टा बिताउनुपर्ने हो ? अहिलेकै पाठ्यक्रमले तोकेको पाठ्यघण्टा अनुसार नभई एउटा स्पष्ट फ्रेमवर्क बनाउनु पर्छ,’ उनी भन्छन्, ‘एउटा निर्देशिका बनाएर काम गर्न सकिन्छ ।’
डा. कार्की शिक्षकलाई पनि उस्तै तयारी अवस्थामा राख्नुपर्ने सुझाउँछन् । पाँच दिन पढाइ हुने हुँदा त्यो समय शिक्षकले कुनै नअल्मलिई सिकाउने परिस्थिति बन्नुपर्ने उनको भनाइ छ ।
त्यसो त, नेपाल विभिन्न चाडवाडका नाममा सबैभन्दा धेरै विदा दिने देशमा पर्छ । दुई दिन सार्वजनिक विदा लागू गर्दैगर्दा विभिन्न साँस्कृतिक विदालाई कटौती गर्न सक्यो भने मात्र विद्यार्थीले पूरा गर्नुपर्ने न्यूनतम पाठ्यघण्टा र सेवाग्राहीले सरकारबाट पाउनुपर्ने सेवा प्राप्त हुनसक्ने विज्ञहरुको बुझाइ छ ।
हप्ताको एक दिन मात्र विदा हुँदा मौजुदा व्यवस्था अनुसार वर्षमा कम्तिमा २२० दिन विद्यालय खुल्नुपर्ने र १८० दिन पढाइ हुनुपर्ने व्यवस्था छ ।










