विचार/तर्क

समृद्ध राष्ट्र र सभ्य समाजको निर्माण गर्ने शिक्षा अहिलेको आवश्यकता


सन्दर्भ–राष्ट्रिय शिक्षा दिवस २०८२

आज राष्ट्रिय शिक्षा दिवस । नेपालमा सरकारी निर्णयानुसार राष्ट्रिय शिक्षा दिवस असोज २ गतेदेखि मनाउन थालिएको धेरै समय भएको छैन । खासगरी, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ लाई प्रमाणीकरण गरेको दिनलाई आधार मानेर तत्कालीन मन्त्रिपरिषद्को निर्णयअनुसार हरेक वर्षको असोज २ गतेका दिन राष्ट्रिय शिक्षा दिवस मनाउन थालिएको हो । विगतमा रष्ट्रिय शिक्षा दिवस हरेक वर्ष फागुन १२ गते मनाउने गरिन्थ्यो । ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित नहुन्’ भन्ने आदर्श वाक्यका साथ २०३१ सालदेखि यो दिवस मनाउन प्रारम्भ गरिएको थियो ।

मानव जीवनलाई सभ्य, सुसंस्कृत र प्रगतिशील बनाउने आधार नै शिक्षा हो । शिक्षाबिना व्यक्तिको सोंच, व्यवहार र जीवनको दिशा सकारात्मक हुन सक्दैन । यिनै कारणले नेपालमा शिक्षामा पर्याप्त लगानी गरिनु पर्दछ भन्ने आवाज उठेको हो ।

समाजमा शिक्षाको  अपरिहार्यताको  सन्देश फैलाउनु नै शिक्षा दिवसको मूल लक्ष्य हो । यस दिन नीति निर्माता, शिक्षाविद् र सरोकारवालाबीच शिक्षा क्षेत्रका उपलब्धि र चुनौतीबारे छलफल गर्दै भविष्यमा कस्तो शिक्षा प्रणाली हुनुपर्छ भन्ने विषयमा सिंहावलोकन हुने गर्छ । सुझाब र योजनाबद्ध धारणा सम्पे्रषण गर्ने गरिन्छ ।

शिक्षाले मानिसको बैद्धिक, सामाजिक, शारीरिक, नैतिक आर्थिक, राजनीतिकलगायत समग्र पक्षको विकास गर्न मद्दत पुर्याउँछ । शिक्षाले मानिसको सकारात्मक सोच्ने कलाको विकास गराउँदै प्रगतिशिल रुपान्तरण पनि गराउँछ । शिक्षाको माध्यमबाट व्यक्तिले जीवन ज्यूँने कला थाहा पाउँछ । मानव सभ्यताको विकाससँगै शिक्षासम्बन्धी चेतना र सोंचमा पनि अभिवृद्धि हुँदै शिक्षा अपरिहार्य रुपमा स्थापित हुन पुगेको छ ।

सबैभन्दा पहिला शिक्षाले  नैतिकवान मानिस बनाउन सक्नुपर्छ । यदि शिक्षाले व्यक्तिलाई इमान्दार, सत्यनिष्ठ र उत्तरदायी बनाउने क्षमता राख्दैन भने त्यो अधूरो हुन्छ । नैतिकताको आधारमा उभिएको व्यक्तिले मात्र समाजमा असल नागरिकको पहिचान बनाउन सक्छ । चोरी, भ्रष्टाचार, घूसखोरी, हिंसा जस्ता सामाजिक विकृति तब मात्र कम हुन्छन् जब शिक्षाले मान्छेको भित्री मनमा सदाचार रोप्छ । राष्ट्रियता भनेको आफ्नो देश, भाषा, संस्कृति, धरोहर र सार्वभौमिकताप्रतिको गहिरो प्रेम हो । यस्तो राष्ट्रप्रेम शिक्षाले नै जगाउँछ । के हाम्रो पाठ्यक्रममा यस्ता सदाचार चिन्तन गर्ने  विषयवस्तु समावेश छन् ? समयले बहस र चिन्तन गर्ने बेला भएको संकेत गरेको छ ।

नेपालजस्तो बहुजातिय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा शिक्षा नै राष्ट्रिय एकताको आधार बन्नुपर्छ । विद्यार्थीलाई आफ्नो संस्कृति, भाषा, इतिहास र गौरवबारे पनि सिकाउनुपर्छ । जब विद्यार्थीले आफ्नो देशलाई बुझ्छ र माया गर्छ, तब मात्र राष्ट्रको पहिचान सबल हुन्छ ।

शिक्षा क्षेत्रका चुनौतीहरू प्रशस्त छन्, जसलाई हामीले सामना गरिरहेका छौ । बालबालिकाको  शिक्षाको पहुँचमा प्रगति हुँदै गएको छ तर गुणस्तरीय र समावेशी शिक्षा सुनिश्चित गर्न अझै धेरै कार्य गर्न बाँकी नै छन् । धेरै विद्यालयमा सिकाइ नतिजा कमजोर रहेको छ । विद्यार्थीहरू परीक्षा पास भएपनि जीवनोपयोगी सीप र ज्ञानको कमी देखिन्छ । धेरै विद्यालयमा दक्ष र प्रेरित शिक्षकको कमी छ । अझै पनि घोकन्ते शिक्षण पद्धति प्रचलित छ । आलोचनात्मक साेंच, सिर्जनात्मकता र अनुसन्धानमुखी पद्धति कमजोर छन् । ग्रामीण क्षेत्रमा अझै कतिपय विद्यालयमा भवन, शौचालय, पुस्तकालय, प्रयोगशाला र सूचना प्रविधिको पहुँच छैन । नतिजा मापनमा निजी विद्यालयको तुलनामा सार्वजनिक विद्यालयहरू पछाडि परिरहेका छन् । यसले सामाजिक असमानता बढाइरहेको छ । शैक्षिक डिग्री पाएका युवाहरू पनि बेरोजगार छन् । यसले शिक्षा जीवनोपयोगी नभएको प्रमाणित गराएको छ । यी चुनौतीहरूलाई सम्बोधन नगरेसम्म नेपालमा शिक्षा वास्तविक अर्थमा सबैको अधिकार बन्न सक्दैन भन्ने आम नागरिकको धारणा रहेको छ । हुन त, संघीय र प्रदेश सरकारहरुले यसबारे योजनाबद्ध कार्य नगरेका होइनन् । कतिपय अनूकरणीय र उदाहरणीय कार्य संघीय शिक्षा मन्त्रलय, समाजिक विकास मन्त्रालय बागमती प्रदेश, शिक्षा विकास निर्देशनालय, पालिकाका शिक्षा शाखाहरुलगायत सरकारी संरचनाहरुबाट भएका छन् । यस्ता राम्रो कामको उचित मूल्याङ्कन पनि हुनु पर्दछ । तर अपेक्षाकृत काम नभइरहेको भने पक्का हो । स्रोतको अभावमा आशातित कार्य नसकिने भएर नै शिक्षामा लगानी बढाउनुपर्ने माग उठेको हो ।

शिक्षाको अधिकार स्थापित गर्न नागरिक समाज सञ्जालहरु जस्तै शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, शिक्षा पत्रकार समूह, शिक्षा अधिकार अनुगमन समूहलगायतमा आबद्ध संस्थाहरु क्रियाशिल छन् । नागरिक समाज संस्थाहरुले शिक्षाको अधिकारको कुरा उठाइरहँदा कर्तव्यको विषयमा पनि बोध गराउन चुक्नु हुँदैन । विद्यालयहरूले प्राविधिक र व्यावसायिक शिक्षा, तालिम तथा सीप विकासका कार्यक्रमहरू समावेश गर्नुपर्छ । यसबाट युवालाई आत्मनिर्भर र उद्यमशील बनाउन मद्दत पुग्दछ । आजको डिजिटल युगमा अनलाइनमा आधारित शिक्षा अपरिहार्य छ । अनलाइन सिकाइ, कम्प्यूटर शिक्षा, डिजिटल सामग्रीको उपयोगले गुणस्तर बढाउन सकिन्छ । समावेशी र सीपमूलक शिक्षा नै आजको आवश्यकता हो जसले समाजलाई न्यायपूर्ण र आत्मनिर्भर बनाउन सक्छ । नेपालको शिक्षा प्रणाली सबल बनाउन सार्वजनिक विद्यालय सुदृढ गर्नु अपरिहार्य छ । देशका अधिकांश बालबालिका यिनै विद्यालयमा अध्ययन गर्ने भएकाले  निःशुल्क र अनिवार्य शिक्षाको सुनिश्चित गर्दै सार्बजनिक शिक्षाको सुदृढीकरण आजको आवश्यकता हो ।

हालसम्म शिक्षकहरुले पाएको तालिमको सदुपयोग गर्दै आवश्यकताका आधारमा शिक्षक तालिम र दक्षता बढाउनुपर्ने काममा चुक्न हुँदैन । वास्तवमा, प्रेरित, सक्षम र उत्तरदायी शिक्षकबिना गुणस्तर सम्भव छैन । शिक्षकको सक्षमता र योग्यतामा ध्यान दिनु जरुरी छ । अब हामीले समुदाय र अभिभावकको सक्रिय सहभागिताबाट बालमैत्री विद्यालय निर्माण गर्दै विद्यालय व्यवस्थापन समितिलाई पारदर्शी र जिम्मेवार बनाउन आवश्यक छ । निजी र सार्वजनिक विद्यालयबीचको अन्तर कम गर्ने नीति बनाउन सकियो भने  शिक्षामा समान अवसर दिलाउन सकिनेछ । सार्वजनिक विद्यालय सबल बनेमा मात्र नेपालमा शिक्षा प्रणाली न्यायपूर्ण र समानतामूलक हुनेछ भन्ने बुझाई आमरुपमा हुन जरुरी छ ।

हामी निष्कर्षमा भन्न सक्छौं कि शिक्षा नैतिकता, राष्ट्रप्रेम र सामाजिक रुपान्तरणको मेरुदण्ड भएकाले नै प्रशस्त लगानी अभिवृद्धि गर्नु पर्दछ । यो पूर्वाधारको पनि पूर्वाधार हो । शिक्षाले मानिसलाई इमान्दार र सदाचारी बनाएर उसको चरित्र निर्माण गर्दै समाजलाई विभेद, असमानता र अन्धविश्वासबाट मुक्त गराउँदै सभ्य, समानतामूलक र न्यायपूर्ण बनाउन मद्दत पुर्याउँछ भन्नेमा दुई मत छैन ।

अब आमरुपमा नेपाल र नेपालीले शिक्षाको गुणस्तरमा चिन्तन गर्ने बेला आएको छ । शिक्षा भनेको जीवनको मूल मन्त्र हो जसले व्यक्तिलाई नैतिकवान, राष्ट्रप्रेमी र सभ्य नागरिक बनाउनु पर्दछ । हामी हाम्रो शिक्षा प्रणालीलाई कस्तो बनाउँदैछौं भन्नेबारे सिंहावलोकन आजको आवश्यकता हो । तसर्थ, अब हामीले खोज्ने शिक्षा त्यही हुनु पर्छ जसले नैतिकता सिकाओस; केवल व्यक्तिगत लाभको घेरामा मात्र नअल्झिई राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने चेतना जगाओस् । यसका लागि सरकार, नागरिक समाज संस्थालगायत अन्य सरोकारवालाहरुबीच व्यापक बहस र चिन्तन गरिनुपर्छ । शिक्षालाई नैतिकता, राष्ट्र एवं सामाजिक रुपान्तरणसँग जोड्न सकियो भने मात्रै समृद्ध राष्ट्र र सभ्य समाजको निर्माण हुन सक्छ ।

(लेखक, बाल कल्याण समाजका अध्यक्ष तथा बागमती प्रदेश बालअधिकार समितिका सदस्य एवं शिक्षा अभियन्ता हुन् ।) 

 

 

Facebook Comments

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

Previous article

शिक्षा मन्त्रालय केशरमहल सरेपछि जे देखियो…

Next article