यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसइइ) सकिँदा उत्तरपुस्तिकाको परीक्षण पनि सँगसँगै सकिएपनि परीक्षणको निष्पक्षतामाथि प्रश्न उठ्न थालेको छ ।
एसइइ परीक्षा यही १९ चैतबाट शुरु भई २९ गते सम्पन्न भएको छ । सरकारले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्नुपर्ने निर्णय गरेका कारण जुन विषयको जुन दिन परीक्षा भयो, सोही दिन परीक्षाकेन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको थियो । परीक्षा नतिजालाई छिटो–छरितो प्रकाशन गर्ने नयाँ सरकारको यो निर्णयले शुरुमा प्रशंसा पाएपनि उत्तरपुस्तिका परीक्षण प्रक्रियालाई लिएर शिक्षकहरुबाटै आलोचना भइरहेको छ । उनीहरुले ‘परीक्षाका निश्चित प्रक्रिया र मर्यादा मिचिएको’ भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । त्यो भनेको के हो त ? नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी भन्छन्, ‘यसपालि उत्तरपुस्तिका जाँच्दा कोडिङ–डिकोडिङ नै गरिएन, कोडिङ निष्पक्षताको प्रत्याभूति हो तर त्यो नहुँदा परीक्षाको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्छ ।’
शिक्षक महासंघ नतिजा चाँडो आओस् भन्नेमा सहमत भएको तर परीक्षाको निश्चित प्रक्रिया र मर्यादा मिच्नु हुँदैन भन्नेमा आफूहरु स्पष्ट रहेको उनी बताउँछन् । ‘बरु, शिक्षा विकास तथा समन्वय इकाईले सूची बनाई कोडिङ गरेर उत्तरपुस्तिका परीक्षण गर्न दिनुपर्थ्यो,’ सुवेदी भन्छन्, ‘यसो गरेको भएपनि एक महिनाभित्र नतिजा आउन सक्थ्यो ।’
‘बरु, शिक्षा विकास तथा समन्वय इकाईले सूची बनाई कोडिङ गरेर उत्तरपुस्तिका परीक्षण गर्न दिनुपर्थ्यो । यसो गरेको भएपनि एक महिनाभित्र नतिजा आउन सक्थ्यो ।’
-लक्ष्मीकिशोर सुवेदी, अध्यक्ष, नेपाल शिक्षक महासंघ
शिक्षकहरुले खासगरी उत्तरपुस्तिकामा कोडिङ र डिकोडिङ नगरी परीक्षण गरिएकोप्रति प्रश्न उठाएका हुन् । त्यस्तै, आधारभूत तहमा पढाइरहेका तर माध्यमिक तहमा कहिल्यै नपढाएका स्नातक उत्तीर्ण शिक्षकलाई उत्तरपुस्तिका जाँच्न दिइएको एकजना माध्यमिक प्रथम श्रेणीका शिक्षकले बताए । उनले भनेका छन्, ‘बारम्बार कापी जाँच्ने अनुभवी शिक्षकलाई कापी जाँच्न दिइएन । केन्द्राध्यक्षले आफ्ना नजिक ठानेका र एसइइको यसअघि कापी जाँच्दै नजाँचेका शिक्षकहरुद्वारा उत्तरपुस्तिका जाँच्न दिए ।’ अनुभवी माध्यमिक शिक्षकहरुको सूचि नबनाई उत्तरपुस्तिका परीक्षण गराइएको उनको दाबी छ ।
यसरी कोडिङ डिकोडिङ नगरिँदा उत्तरपुस्तिकामा कुनैपनि विद्यालयको विद्यार्थीको सिम्बोल नम्बर कुन क्रमबाट शुरु भएको हो भन्ने जाँचकीलाई थाहा हुने र उसले पूर्वाग्रही भएर अङ्काकन गर्न सक्ने शंका रहिरहने शिक्षकहरुको भनाइ छ । सिन्धुपाल्चोकका एक माध्यमिक शिक्षक भन्छन्, ‘बरु, निर्देशिकाअनुसार नै स्थानीय तहको शिक्षा शाखालाई जिम्मेवारी दिएर कोडिङ र डिकोडिङ गरी उत्तरपुस्तिका बाँडेको भए निष्पक्षतामा शंका उठ्दैनथ्यो । यहाँ त, माध्यमिक अनुभवी शिक्षक हुँदाहुँदै पनि प्राथमिकमा पढाएका तर माध्यमिक योग्यता पुगेका शिक्षकले पहिलो पटक कपि जाँचे । हामीकहाँ यस्ता जाँचकी शिक्षक ५० प्रतिशतभन्दा बढी छन् ।’
परीक्षा निर्देशिका अनुसार नै उत्तरपुस्तिका परीक्षण सम्पन्न भएको छ । कोडिङ -डिकोडिङ अनिवार्य प्रावधान होइन । उत्तरपुस्तिका परीक्षणमा शिक्षकहरु जिम्मेवार अनि विवेकी छन् भन्नेमा हामी विश्वस्त छौं ।
-टुकराज अधिकारी, परीक्षा नियन्त्रक, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०
माध्यमिक शिक्षा परीक्षा (एसइइ) सञ्चालन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२ मा ‘उत्तरपुस्तिका परीक्षण/संपरीक्षण कार्यका लागि स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईको समन्वयमा दक्ष, अनुभवी परीक्षक, संपरीक्षकको सूचि बानाइराख्ने’ उल्लेख छ । यस्तै, सम्बन्धित विषयका माध्यमिक शिक्षक र अवकाशप्राप्त माध्यमिक शिक्षकद्वारा उत्तरपुस्तिका परीक्षण/संपरीक्षण गराउने र शिक्षकको अभावमा न्यूनतम शैक्षिक योग्यता पुगेका, सम्बन्धित विषयमा अध्यापन गरिरहेका अनुभवी शिक्षकलाई सम्बन्धित विद्यालयको सिफारिशपत्रका आधारमा परीक्षण कार्यमा सहभागी गराउने’ व्यवस्था रहेको छ ।
यता, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने परीक्षा निर्देशिका अनुसार नै उत्तरपुस्तिका परीक्षण सम्पन्न भएको बताएका छन् । उनले कोडिङ-डिकोडिङ अनिवार्य प्रावधान नभएको र शिक्षकहरु जिम्मेवार अनि विवेकी छन् भन्नेमा आफूहरु विश्वस्त रहेको बताए । यद्यपि, उनले शैक्षिक योग्यता पुगेका तर माध्यमिक तहमा कहिल्यै नपढाएका शिक्षकहरुले उत्तरपुस्तिका जाँचेको गुनासोचाहिँ परीक्षा नियन्त्रण कार्यालयमा आएको स्वीकारे । अनियमितता भएको भए कार्बाही गर्ने व्यवस्थासमेत रहेको उनले सम्झाए ।
अधिकारीले उत्तरपुस्तिका परीक्षणको विवरणहरु धमाधम परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा प्रविष्ट गर्न थालिसकिएको जानकारी दिएका छन् ।

‘बरु, शिक्षा विकास तथा समन्वय इकाईले सूची बनाई कोडिङ गरेर उत्तरपुस्तिका परीक्षण गर्न दिनुपर्थ्यो । यसो गरेको भएपनि एक महिनाभित्र नतिजा आउन सक्थ्यो ।’
परीक्षा निर्देशिका अनुसार नै उत्तरपुस्तिका परीक्षण सम्पन्न भएको छ । कोडिङ -डिकोडिङ अनिवार्य प्रावधान होइन । उत्तरपुस्तिका परीक्षणमा शिक्षकहरु जिम्मेवार अनि विवेकी छन् भन्नेमा हामी विश्वस्त छौं ।








