पहाडमा दुर्गम बस्ति, साधारण र विपन्न परिवारका मनमाया बाल्य उमेरदेखि नै असाध्यै मेहनत र लगनशीलतापूर्वक अध्ययन गर्थिन् । उनले राम्रो अंकका साथ साधारण शिक्षा पूरा गरी एसईई उत्तीर्ण गरिन् । एसईईपछि भने मनमायाको रुचि र अध्ययन विषयमा तालमेल हुन सकेन । सानैदेखि कृषि कार्यमा उनको रुचि थियो । मनमायाले जानकारीको अभावका कारण रुचिको विषय छनोट गर्न सकिनन् । आमाबुबाकै सुझाबमा स्थानीय विद्यालयमा मानविकीतर्फ दशजोड दुईमा उनी भर्ना भइन् । आफ्नो रुचिअनुसारको विषय नभएकाले मनमायाले पहिलो वर्षदेखि नै ध्यान दिन सकिनन् । उनी पढाइमा कमजोर हुँदै गइन् र अन्ततः दशजोड दुई उत्तीर्ण गर्न असफल बनिन् । आफ्नो जीवनको उर्जावान समय खेर गएकाले मनमाया निराश थिइन् । तर, मनमायालाई आफूसँगै पढेकी साथीले रुचिअनुसारको विषयमा सहजै अध्ययनको सम्भावना रहेको जानकारी गराइन् । त्यसपछि छिमेकी गाउँको सामुदायिक विद्यालयमा डिप्लोमा इन एग्रिकल्चर (कृषि) विषयमा भर्ना गरिन् । त्यहाँ उनले छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गरिन् । अध्ययनसँगै आफूले सिकेका सीपहरु व्यवहारमै प्रयोग गर्न पाउँदा मनमाया राम्रो अंकसहित उत्तीर्ण भइन् । अझ, आफूले सिकेको सीपमा आधारित पेशामा स्वरोजगार भइन् । उनी आय–आर्जन गर्न सफल बनिन् ।
शैक्षिक परामर्श तथा जानकारीको अभावमा रुचिअनुसारको अध्ययन विषय छनोट गर्न नसक्दा एकजना मेधावी छात्राको दुई वर्षको महत्वपूर्ण समय अनुत्पादक रुपमा बित्यो ।
ग्रामीण क्षेत्रका मनमाया जस्ता हजारौं युवाहरु उचित वृत्ति मार्गनिर्देशन तथा परामर्श सेवाको अभावमा आफ्नो रुचि, खुबी र क्षमताअनुसार अध्ययन विषय छनोट गर्न नसकी सिकाइमा रमाउन सकेका छैनन् । त्यसो त, अध्ययनपश्चात्को समयसमेत बेरोजगारी र पीडामा व्यतित गर्न बाध्य देखिन्छन् ।
प्राविधिक तथा व्यावसायिक शिक्षामा भर्नादर घट्नु र छात्रवृत्तिमा समेत कोटा खाली रहनुको एउटा कारण यससम्बन्धी पर्याप्त सचेतनामूलक कार्यक्रमहरु सञ्चालन नहुनु, निर्देशन तथा वृत्ति परामर्श सेवा प्रभावकारी हुन नसक्नु पनि हो । सिटिइभिटिको वार्षिक प्रतिवेदन २०८१/८२ अनुसार प्रि–डिप्लोमा तहमा शैक्षिक शत्र २०८१/८२ को प्रशिक्षार्थी भर्नाको अवस्था हेर्दा २२ हजार ३८२ जना भर्ना क्षमतामा जम्मा लगभग २२ प्रतिशत मात्र भर्ना भएको तथ्याङ्क छ । प्रतिवेदनले वर्गीकृत निःशुल्क छात्रवृत्तिमा ७८२ जनाको कोटामा १५१ जना मात्र भर्ना भएको देखाउँछ । यस्तै, समग्रमा प्रशिक्षार्थीहरुको उत्तीर्ण प्रतिशत ५० भन्दा कम रहेको र रोजगारीको अवस्था हेर्दा औषतमा ५८ प्रतिशत देखिएको छ । अध्ययनका क्रममा प्राविधिक विषयहरु र वृत्ति मार्गसम्बन्धी जानकारीको अभावमा अध्ययन विषय उपयुक्त छनोट गर्न नसक्दा युवाहरुले पढाइ पूरा र उत्तीर्ण गर्न नसकेको पाइयो ।
अध्ययनपश्चात् सिकेका सीप प्रयोगमा पनि कमजोर भएका र वृत्ति विकास गर्न नसकेका थुप्रै उदाहरणहरु छन् । वर्तमान अवस्थामा युवाहरुले रुचि, खुबी र क्षमता पहिचान गरी क्षमता अनुसारको वृत्ति मार्गमा जान आवश्यक पर्ने विषयमा उपयुक्त जानकारी नपाउँदा पढाइप्रति रुचि नभएको देखिन्छ । उनीहरु मानसिक तथा शारीरिक विकासात्मक, संवेगात्मक, समायोजनात्मक क्षमता विकास गर्न नसकी दुर्व्यसन र अन्य विभिन्न समस्याहरुबाट ग्रसित भइरहेका भेटिएका छन् । यो अवस्थामा युवा मनोविज्ञानको असर मानसिक स्वास्थ्यसँगै शारीरिक एवं सामाजिक स्वास्थ्यको क्षेत्रमा समेत देखा पर्छ । बदलिँदो जीवनशैली, बढ्दो आकांक्षा, प्रतिस्पर्धा, विफलता तथा तनावबाट जोगाउन विद्यालयदेखि नै परामर्श एवं वृत्ति पथ निर्देशन सेवाको विकास र बिस्तार गरी युवाहरुलाई सहजीकरण गर्नु अति आवश्यक छ ।
यस लेखमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमप्रति उत्प्रेरणा जगाई रोजगार/स्वरोजगार सिर्जना गर्न युवाहरुलाई उपलब्ध गराउन सकिने परामर्श एवं वृत्ति मार्ग निर्देशनले खेल्न सक्ने सहयोगी भूमिकाबारे आवश्यक ध्यानाकर्षण गराउने प्रयत्न हो । खासगरी, वृत्ति परामर्शदाता, अभिभावक, शिक्षक तथा सामाजिक कार्यककर्ता लाभान्वित हुने अपेक्षा गरिएको छ ।
शिक्षाले व्यक्तिलाई सुसंस्कृत र सीपयुक्त बनाएर आफनो भविष्य निर्धारक आफैं हो भन्ने सामर्थ्य र स्वाभिमान दिनुपर्छ । अवसरको सिर्जना र उपयोगले नै मुलुकले समृद्धिको मार्ग तयार गर्दछ । अर्काे अर्थमा समृद्धिको सार व्यक्तिको सीपमा आधारित हुन्छ । हाम्रो शिक्षा नीतिको निष्कर्ष पनि शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोडेर मुलुकले प्रगतिको मार्ग तय गर्दछ भन्ने हो । यसर्थ ज्ञान, सीप र दक्षताबिनाको शिक्षाको कुनै महत्व हुँदैन । समृद्धिबिना स्वतन्त्रताको कल्पना गर्न सकिँदैन । व्यवहारिक रुपमा शिक्षाको अर्थ र उद्देश्य पनि व्यक्तिलाई पराधीनको बन्धनबाट मुक्त गराई स्वाधीन तथा आत्मनिर्भर बनाउनु हो । जसरी एउटा फलदार वृक्षलाई फल लाग्नुपूर्व निश्चित समयसम्म मलजल गराई ऋतुजन्य अत्यधिक वर्षा, चिसो र गर्मीबाट जोगाइन्छ, त्यसरी नै युवाहरुलाई एउटा निश्चित समयसम्म परामर्श तथा निर्देशनमार्फत् उज्ज्वल भविष्यको पथमा अगाडि बढ्न सहयोग पुर्याउनु पर्छ ।
शिक्षण सिकाइमा शैक्षिक निर्देशन र परामर्श
कुनै एक अनुभवी व्यक्तिद्वारा कोही पनि व्यक्ति वा व्यक्तिहरुलाई इच्छाअनुसार उसको अभिरुचि, कुशलता, सम्भावना, व्यवहार, प्रक्रिया तथा उसमा निहित क्षमतालाई अधिकतम् उपयोग गरी व्यक्तिगत तथा समाजको हितमा समर्पित हुन गरिने सहायता वा परामर्श दिइने प्रक्रिया नै निर्देशन हो ।
महाभारत युद्ध प्रारम्भ हुँदा गीता ज्ञानमार्फत् भगवान श्रीकृष्णले अर्जुनलाई दिनुभएको परामर्श र निर्देशनले अर्जुनलाई आत्म साक्षात्कार गराई आफ्नो कर्तव्य पूरा गर्न उत्प्रेरित गरेको थियो । अर्जुनले श्रीकृष्णको निर्देशनको आधारमा युद्ध गरेकाले सफलता प्राप्त गरेको दृष्टान्त गीतामा उल्लेख छ । निर्देशन एउटा उद्देश्यपूर्ण प्रक्रिया हो, जसको मुख्य उद्देश्य राष्ट्र र समाजका लागि उपयोगी नागरिक बनाई व्यक्तिको जीवनमा सुख र सन्तुष्टि सिर्जना गर्नु हो ।
प्रत्येक व्यक्तिलाई उसको रुचि, खुबी र क्षमताअनुसार विद्यमान अवसरहरुमध्येबाट आफूलाई उपयुक्त अवसरको छनोट गर्न यस्तो सहयोग प्राप्त होस् कि व्यक्ति आफूले छनोट गरेको अवसरबाट सन्तुष्टि प्राप्त गर्न सकोस् । निर्देशन यस्तो प्रक्रिया हो, जसमा व्यक्तिलाई आफ्नोे जन्मजात क्षमताहरुलाई बुझेर त्यसको आफैं सामाधान खोज्न सहयोग गरिन्छ, ताकि भविष्यमा आफूखुशी र समृद्ध हुँदै समाज र राष्ट्रहितमा आफ्नोे योगदान पुर्याउन सकियोस् ।
शैक्षिक निर्देशन अंग्रेजी शब्द Educational Guidance को नेपाली रुपान्तरण हो, जसको अर्थ बाटो देखाउनु वा मार्गदर्शन भन्ने हुन्छ । विद्वान स्किनरले ‘युवाहरुलाई आफ्नो, अरुप्रति र समग्र परिस्थितिसँग सामञ्जस्यता स्थापित गर्न अपनाइने प्रक्रियालाई निर्देशन’ भनेका छन् । अहिलेका युवा विद्यार्थीहरुले अत्यधिक चुनौतीहरुको सामना गर्नु परिरहेको अवस्था छ । ज्ञानको अभावमा समुदाय तथा राज्यभित्र उपलब्ध स्रोतसाधन, अवसर र सम्भावनाबारे स्पष्ट जानकारी नहुँदा एकातर्फ स्रोतसाधनहरुको उपयोग हुन सकेको छैन । अर्काेतर्फ पौरखी जनशक्ति देश बाहिर गएर अत्यन्त कष्टसाथ जीविकोपार्जन गर्न बाध्य छन् । यस्तो अवस्थामा परामर्श तथा निर्देशन सेवाले युवाहरुको दक्षता वृद्धि गरी रोजगार र स्वरोजगारका सम्भावनाहरु बढाउन मद्दत पुग्छ ।
युवाहरुलाई सकारात्मक उर्जासाथ परिस्थितिसँग परिचित हुन, समस्याको कारण र त्यसको परिणाम तथा सामाधानका लागि सहयोगी विभिन्न वैकल्पिक उपायहरु पहिचान गरी आत्मबल वृद्धि गर्न निर्देशन एवं परामर्शका साथै आवश्यकताअनुसार मनोसामाजिक परामर्श सेवा समेत उपलब्ध गराउनुपर्ने देखिएको छ ।
युवाहरुलाई शिक्षा क्षेत्रमा उचित रुपमा समायोजन हुनका लागि, मानसिक उल्झन, चिन्ता एवं तनावमुक्त भई प्रगति तथा विकास गर्नका लागि आफ्नोे इच्छा र सामथ्र्यअनुसारको सिकाइ चाहिन्छ । यसका निम्ति पेशा छनोट गर्न शिक्षण सिकाइसँगै मार्गदर्शन अति आवश्यक छ । युवाहरुलाई आत्म समायोजन तथा सामाजिक समायोजन गरी विकास पथमा अग्रसर गर्नका लागि निर्देशन गरिनु आवश्यक हुन्छ ।
वर्तमान समयमा व्यक्तिको जीवन निकै कठिन हुँदै गएको छ । प्रत्येक व्यक्ति कुनै न कुनै समस्याबाट ग्रसित देखिन्छन् । अभिभावकहरुको व्यस्त दिनचर्या, प्रविधिको दुरुपयोग, फरक संस्कृतिको गलत प्रभाव, शिक्षक तथा समाजको उदासीनता जस्ता कारणहरुले गर्दा वर्तमान समयमा नेपाली युवाहरुमा अनुशासन, वृत्ति विकासप्रतिको सजगता, परिवार, समाज, प्रजातन्त्र र राष्ट्रप्रतिको दायित्व बोध घट्दै गएको छ । यसकारण पनि युवाहरुमा संस्कारसहित सकारात्मक धारणा विकास गर्न, आत्मबल बढाउन, कर्तव्य बोध गरी प्रगति पथ प्रशस्त गर्न, परिवार, समाज र राष्ट्रप्रति समर्पणको भावना बढाउन विद्यालयस्तरमा निर्देशन तथा परामर्श सेवालाई प्रभावकारी बनाउनु अपरिहार्य छ ।
नेपालमा आर्थिक रुपमा सक्रिय उमेर समूहको जनसंख्या लगभग ५७.४ प्रतिशत रहेको छ । जनसंख्याको ठूलो हिस्सा अर्द्धबेरोजगार र झण्डै ११.४ प्रतिशत जनसंख्या बेरोजगार छ । रोजगारीको खोजीमा लगभग ४४ लाख युवाहरु विदेशिएको र विदेशिनेमा लगभग ९० प्रतिशत अर्द्धदक्ष र अदक्ष जनसंख्या रहेको तथ्याङ्कले देखाउँछ । यसले शिक्षा, सीप र श्रमबीचको स्पष्ट सम्बन्ध माग गरिरहेको देख्न सकिन्छ । सीप र स्वरोजगार समाजवादको आधार पनि हो ।
सीपमार्फत् आर्थिक स्वनिर्भरता निर्माण गरेर नै व्यक्ति सशक्तीकरणद्वारा मुक्तिको मार्ग तय गर्न सक्छ । समृद्धि समाज निर्माणको आधार बन्न सक्छ । काम गरेर सिक्ने शिक्षाले पढाइका साथ वृत्ति र व्यावसाय निर्माण पनि गर्दछ । त्यसैले, काम गर्दै सिक्दै आर्जन गरिने शिक्षालाई प्राथमिकता दिनुपर्ने हुन्छ । विकासशील मुलुकमा उच्च शिक्षा आर्जन गरेर जागिरमा जानेभन्दा जीवनोपयोगी सीप सिकेर पारिवारिक व्यावसाय, आयमूलक क्रियाकलाप र स्वरोजगारी सिर्जना गरी आर्थिक उपार्जनको आधार तयार गर्ने शिक्षाको आवश्यकता बढी छ । यो आफ्नोे सीपबाट आफ्नै आवश्यकता पूरा गर्ने प्रक्रिया पनि हो । सीप सिकेर जो मुलुक बाहिर जान्छन्, उनीहरु पनि कम जोखिमयुक्त काम गरी धेरै आर्जन गर्ने हैसियत राख्छन् । यी दुबै अवस्थामा स्थानीय आर्थिक व्यवस्था सुदृढ भई राष्ट्रिय अर्थतन्त्र विकासमा योगदान पुग्छ ।
नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकको व्यक्तित्व विकासका साथै सर्वाङ्गीण विकासका लागि अधिकारहरु उपलब्ध गराएको छ । प्रत्येक नागरिक राष्ट्रको एकाई हुने भएकाले उसको सर्वाङ्गीण विकास तब मात्र सम्भव छ, जब उसलाई आफ्नोे रुचि, खुबी र क्षमताअनुसार योग्यता पहिचान गरी तदनुरुप सुशिक्षित हुने अवसर प्राप्त हुन्छ । हाम्रो समाजमा जीवनको प्रारम्भदेखि नै आफूभन्दा ठूलो मान्छेबाट ‘यस्तो गर्नु/यस्तो नगर्नु’ जस्ता निर्देशन, सल्लाह–सुझाबहरु प्रदान गर्ने चलन रहिआएको छ । यस्ता निर्देशन, सल्लाह र सुझाबहरु अग्रजहरुको भोगाई, अभ्यास तथा अनुभवको आधारमा दिइने गरिएको हुन्छ । प्राचीन समयमा गुरु–शिष्य परम्परामा निर्देशनको अत्यन्त सकारात्मक प्रभाव थियो ।
परामर्शको सम्बन्ध व्यक्तिको वृत्ति विकास, स्वास्थ्य सचेतना, बचाव तथा उपचारसँग रहेको हुन्छ । वर्तमान समयमा युवाहरुलाई अग्रज तथा गुरुजनहरुबाट प्राप्त हुने परामर्श सेवा कम हुँदै गइरहेकाले यसको परिणामस्वरुप युवाहरुमा सामाजिकपन, हार्दिकता, नैतिकता र व्यवहारिकता घट्दो छ, जसलाई अघिल्लो पिंढीले महशूस गरेको भएपनि नवयुवा पुस्तालाई स्वीकार गराउन सकेको छैन । व्यक्तिको वैयक्तिक तथा वृत्ति विकासका लागि मात्र नभई शान्त र समृद्ध समाजका लागि परिवार एवं विद्यालय तहदेखि नै उचित मार्गनिर्देशन (Guidance) र परामर्श (Counseling) सेवा उपलब्ध गराउनु आवश्यक छ ।
विद्यालय केवल पुस्तकीय ज्ञान प्रदानगरी उत्तीर्ण/अनुत्तीर्ण गर्ने संस्था होइन । हामीले कस्तो शिक्षा दिने भन्ने कुरा पाठ्यक्रम र पाठ्यक्रमअनुरुपको विद्यालयको शैक्षिक वातावरणले निर्धारण गर्दछ । यहाँ निर्देशन तथा परामर्श जस्ता विषयवस्तुहरु पाठ्यक्रममा समावेश गरिनु पर्छ । शिक्षकहरुको निर्देशन तथा परामर्श सेवा उपलब्ध गराउने क्षमता अभिवृद्धि गरिनु पर्छ । निर्देशन तथा परामर्शलाई सिकाइको अन्योन्याश्रित विषयका रुपमा समाविष्ट गर्दै यस प्रकारको सेवा विद्यालय शिक्षादेखि नै सञ्चालनमा ल्याउन सकेमा यसबाट विद्यार्थी, अभिभावक, शिक्षण संस्थालगायत सबै पक्ष लाभान्वित हुनेछन् ।
बालकको प्रत्येक पक्षको विकास, प्रोत्साहन, दिशानिर्देश गर्न, समस्याका कारण र सामाधान पत्ता लगाउन तथा व्यक्तिगत मार्गदर्शन गराउन अभिभावक एवं शिक्षकहरुको भूमिका महत्वपूर्ण हुन्छ । एकजना असल शिक्षकले विद्यालयलाई प्रयोगशालाको रुपमा उपयोग गरी विद्यार्थीलाई परामर्श र निर्देशन सेवा प्रदान गर्नु पर्दछ भने गम्भीर एवं दीर्घकालीन संवेगात्मक समस्यामा रहेका विद्यार्थीलाई आवश्यकताअनुसार मनोविमर्श सेवाका लागि समेत सिफारिश गर्ने गर्नुपर्ने हुन्छ ।










