वर्तमान समयमा धेरैजसो व्यक्तिहरुसँग अध्यात्मको कुरा गर्दा सुख, शान्ति, प्रेम तथा खुशीरहित निरस संसार हो कि जस्तो सोचिएको पाइन्छ । अध्यात्मको कुरा गर्नेबित्तिकै प्रायःजसोको मनमा जीवनबाट अलग हुन खोजेको वा बुढेसकालमा गर्ने काम हो जस्तो लाग्ने गर्दछ । वास्तवमा, आध्यात्मिकताको अर्थ भौतिक संसारभन्दा पनि माथिको अनुभव प्राप्त गर्नु हो ।
असल कार्यहरुको माध्यमबाट सुख, सन्तोष, शान्ति र समृद्धि प्राप्त गर्ने, भित्री मनबाट आफू आनन्दित हुने भई अरुलाई पनि आनन्दित हुन सघाउने तरिका आध्यात्मिकता हो । आध्यात्मिकताले व्यक्तिलाई चिन्तन–मननद्वारा मनका विकारहरु हटाई यथार्थको पहिचान गराउनुका साथै निरन्तर परिवर्तन र रुपान्तरित हुनका लागि मार्ग प्रशस्त गरिदिन्छ । निरन्तर अभ्यासले विकारजन्य विचारहरु निर्मूल भई दिगो आनन्दको अनुभुति प्राप्त गर्न सकिन्छ ।
नैतिक शिक्षा र आध्यात्मिकता जीवन जिउने सर्वोत्तम प्रक्रिया हो । यो कुनै मनोवैज्ञानिक वा सामाजिक प्रक्रिया नभई आफ्नो अस्तित्व पहिचान गर्ने, आफूसँगै यो विश्वमा रहेका समस्त प्राणी, वनस्पति तथा चराचर जगतको अस्तित्व स्वीकार गर्ने र तन्मयतापूर्वक असल कार्यहरुमा समर्पित रहने कर्म हो । व्यक्तिलाई कस्तो जीवन जिउने भन्ने ज्ञान र सोचबिनाको भौतिक वस्तुहरुको उपस्थितिमा देखिएको उन्नति र सम्पन्नताले बाहिरबाट हेर्दा सफल अनि सम्पन्न देखिएपनि भित्रबाट जीर्ण तथा खोक्रो बनाइराखेको हुन्छ, फलतः जीवनमा मूल रुपमा खोजेको सुख र शान्ति कहिल्यै प्राप्त गर्न सकिएको हुन्न ।
शिक्षाको मूलभूत उद्देश्य व्यक्तिको सर्वाङ्गीण विकास गरी एउटा असल नागरिक तयार गर्नु हो । शिक्षाले व्यक्तिलाई विनयी बनाउने, सीपयुक्त तथा ज्ञानवान र सुपात्र बनाउने र सिकेको सीप तथा ज्ञानलाई आय आर्जनसँग जोडेर सुखी बनाउँछ भन्ने मान्यता हो । युनेस्कोले २१ औं शताब्दिको शिक्षाका उद्देश्यलाई १) विषयवस्तुको बारेमा जान्नका लागि, २) विषयवस्तुअनुसार काम गर्नका लागि ३) विषयवस्तुअनुसार दक्ष हुनका लागि ४) साथ–साथ रहनका लागि र ५) आफू र समाज परिवर्तनका लागि सिकाइ गरिनुपर्ने भनेर ५ खम्बाहरु निर्धारण गरेको छ ।
हाम्रो शिक्षाका पाठ्यक्रमहरुमा आध्यात्मिक शिक्षा, मानव धर्म, व्यक्तिको परिवार समुदाय, राज्य तथा समग्र प्राणी तथा वनस्पति जगतप्रतिको उत्तरदायित्व बोध गराई सोको अभ्यास हुनेगरी विषयवस्तुहरु समेटेर शिक्षण–सिकाइको महत्वपूर्ण भागको रुपमा लिन सकिएमा शिक्षाको परम उद्देश्य प्राप्त गर्न सकिन्छ ।
हाम्रो देशको शिक्षा नीतिले ‘राष्ट्र र राष्ट्रियताप्रति निष्ठावान, संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्य–मान्यताप्रति प्रतिबद्ध, स्वाभिमानी, सामाजिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्ने, चरित्रवान, नैतिकवान एवं जिम्मेवार नागरिक तयार गर्ने’ भनेको छ । शिक्षाको उक्त उद्देश्य पूरा गर्नका लागि नीतिगत, संरचनागत तथा कार्यगत रुपमा नैतिक शिक्षा र आध्यात्मिकता अपरिहार्य रहन्छ । जसका लागि परिवार, शिक्षण संस्था तथा समाजले महत्वपूर्ण भूमिका खेल्नु पर्छ । जस्तैः बिहान सबेरै किन उठ्ने, किन स्नान, योग, ध्यान, प्रार्थना गर्ने जस्ता कुराहरुको नैतिक तथा आध्यात्मिक मूल्य मात्र नभई यसको वैज्ञानिक पक्षद्वारा समेत प्रष्ट पार्नेगरी विद्यार्थीहरुलाई अभ्यास गर्न उत्प्रेरित गरिनु पर्छ ।
पाठ्यक्रमहरुमा नैतिक तथा आध्यात्मिक शिक्षा
विद्यालय शिक्षा तथा उच्च शिक्षाका पाठ्यक्रमहरुमा आध्यात्मिक विषयहरुको प्रवेश रहेको कमै पाइन्छ । आधुनिकताको नाममा यी विषयहरुलाई हटाउने गरिएको छ । कुनै पाठ्यक्रमले यसलाई समेटेको भएपनि शिक्षण–सिकाइको क्रममा यो विषय प्रवेश गराउन सक्षम प्रशिक्षकहरुसमेत उपलब्ध नभएको कारणले पनि यसले महत्व नपाएको अवस्था छ । जस्तै : दिगो विकास तथा वातावरणीय सुधारका लागि भौतिक विषयहरु, वृक्षारोपण बढाउने, कार्बन उत्सर्जन घटाउने, फोहर व्यवस्थापन गर्ने, स्रोत–साधनहरुको कम प्रयोग तथा पुनः प्रयोग आदि विषयहरु शिक्षण–सिकाइमा समेटिने तर व्यवहारमा नै परिवर्तन गराउनका लागि मन मस्तिष्कमा सुविचारहरु ल्याउने, गलत सोंच–विचार हटाउने, शब्द चयन तथा मधुर बोल्ने, सकेसम्म अरुको हित हुने काम गर्ने, नसके अरुलाई अहित नहुनेगरी कार्य गर्ने, हरित सोंच, हरित विचार र हरित शब्द चयन गर्ने आदि जस्ता जीवनभरी काम लाग्ने सिकाइलाई कुनै महत्व दिइएको पाइँदैन । आध्यात्मिकताले भरिएका जीवन र जगतलाई जोड्ने पौराणिक प्रेरक प्रसङ्ग, खोज, जीवन पद्धतिसँग अभिमुख हुने वातावरणबाट हाम्रा पाठ्यक्रमहरु भिन्न हँुदै गएका छन् ।
नैतिक शिक्षा र आद्यात्मिक ज्ञानको अभावमा मानव समाजवादी, राष्ट्रवादी नभएर व्यक्तिवादी हुन पुग्छ । राष्ट्रको र समाजको अस्तित्वलाई भुल्न थाल्छ र क्षणिक भौतिक सुख–सुविधालाई मात्र महत्व दिन थाल्छ । मानव धर्म, आफ्नो कर्तव्य र इमान्दारितालाई भुलेर मदान्ध हुँदा भौतिक वस्तुहरुको प्राप्तिलाई मात्र उपलब्धि ठानेर जुनसुकै कुरामा पनि स्वार्थको वसिभूत भएर आफ्नो फाइदाको दृष्टिले हेर्ने गर्छ । मनुष्यले प्राप्त गरेका भौतिक वस्तुहरु र यसको उपभोगबाट शारीरिक रुपमा क्षणिक केही सुख त प्राप्त गर्ला तर यसबाट मानसिक स्वास्थ्य तथा आध्यात्मिक रुपमा आनन्दित हुन नसक्दा मनोरोगी भइराख्नु परेको छ ।
वर्तमान समयमा समग्र मनुष्य जीवनलाई केवल कमाउनु, आय–आर्जन गर्नु र क्षणिक सुखलाई महत्व दिई केन्द्रिकृत गरिएको देखिन्छ । जसले गर्दा जन्मभूमि र देशप्रतिको श्रद्धा, माया कम हुँदै गएको, दुर्बल र असहायहरुप्रतिको सहिष्णुता र कर्तव्यबोध घट्दै गएको, वृद्ध आमाबुबालाई बोझको रुपमा लिने गरेको, आफूप्रति आश्रितहरुलाई अलपत्र छोडेर एक्लै बस्नमा रमाउने गरेको र व्यक्ति तथा समाजले मानव धर्म बिर्सिँदै गएको देखिन्छ । यसकारण हाम्रा पाठ्यक्रममा नैतिक तथा आध्यात्मिक शिक्षा र मानव धर्मका विषयहरु समेटिनु आवश्यक छ । साथै शिक्षण–प्रशिक्षणमा यस्ता कुराहरुलाई महत्व दिइनु पर्छ ।
अन्त्यमा,
हामीले प्रत्येक विषयमा सधैं सकारात्मक परिणाम खोजेका हुन्छौं, प्रत्येक वस्तुमा सकारात्मकता देख्ने र खोज्ने प्रवृत्तिको विकास भयो भने वास्तवमा नकारात्मकता आफैं हट्दै जान्छ । तर, हाम्रो आशक्ति नकारात्मकतर्फ बढी आकर्षित रहेको हुन्छ, जसबाट सकारात्मक परिणाम पाउन सकिँदैन । सकारात्मक उर्जाका लागि मन, वचन र कर्मले सुविचार, सुसङ्गत र सुकर्म खोजेको हुनु पर्छ । नैतिक शिक्षा तथा आध्यात्मिक चेतले जीवन र जगतलाई हेर्ने सही दृष्टिकोण दिन्छ, सही मार्ग अवलम्बन गर्न प्रेरित गर्छ र दुःख, निराशा, उदासी जस्ता मनोरोगबाट अलग राख्छ । भौतिक उन्नतिका साथै आध्यात्मिक पक्षलाई समेत अङ्गिकार गर्न सकेमा निःसन्देह व्यक्ति, समाज, राष्ट्र र विश्वमा सम्पन्नता प्राप्त हुन सक्छ ।
अतः हाम्रो शिक्षाका पाठ्यक्रमहरुमा आध्यात्मिक शिक्षा, मानव धर्म, व्यक्तिको परिवार समुदाय, राज्य तथा समग्र प्राणी तथा वनस्पति जगतप्रतिको उत्तरदायित्व बोध गराई सोको अभ्यास हुनेगरी विषयवस्तुहरु समेटेर शिक्षण–सिकाइको महत्वपूर्ण भागको रुपमा लिन नसकिएसम्म शिक्षाको परम उद्देश्य प्राप्त गर्न सकिँदैन ।










