दस्तावेजशिक्षण सिकाइ

विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) को कसीमा कक्षा ५ र १० को नतिजा


शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गत आर्थिक वर्षमा प्रकाशित कक्षा ५ र १० को विद्यार्थी उपलब्धि (NASA) को राष्ट्रिय परीक्षण प्रतिवेदनका मुख्य प्राप्ति र निष्कर्ष सार्वजनिक गरेको छ ।

केन्द्रले विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (NASA) अन्तर्गत आ.व. २०७८/७९ मा सम्पन्न कक्षा ५ को र २०७९/८० मा गरेको कक्षा १० को परीक्षणबाट प्राप्त तथ्याङ्कहरूको विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गरेको हो । 

प्रस्तुत छ, केन्द्रको वार्षिक प्रतिवेदनबाट साभार गरिएको सामग्री सारांश जस्ताको तस्तै । –सं.

सारांश

१. यस केन्द्रको आ.व.२०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रममध्ये कक्षा ५ र १० को विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (NASA) को प्रतिवेदन विकास गर्नु प्रमुख कार्य  रहेको थियो । NASA अन्तर्गत आ.व. २०७८/७९ मा सम्पन्न कक्षा ५ को र २०७९/०८० मा सम्पन्न कक्षा १० को परीक्षणबाट प्राप्त तथ्याङ्कहरूको विश्लेषण गरी प्रतिवेदन विकास गरिएको हो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट गत आर्थिक वर्षमा प्रकाशित कक्षा ५ र १० को विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण प्रतिवेदनका मुख्य प्राप्ति र निष्कर्ष देहायबमोजिम रहेका छन् :

  • कक्षा ५ को नतिजाको सन्दर्भमा सन् २०१८ को तुलनामा सन् २०२२ मा गणित विषयको सिकाइ उपलब्धि घटेको (५०० बाट ४८४.६) छ भने नेपालीको सिकाइ उपलब्धिमा खासै फरक परेको छैन (५०० बाट ४९८.९) । सन् २०१८ मा अंग्रेजी र विज्ञान तथा प्रविधि तथा प्रविधि विषयको परीक्षण सञ्चालन नभएकाले यी विषयको नतिजा तुलना गरिएको छैन ।

 

  • कक्षा ५ को सिकाइ सक्षमतालाई चार तह (Pre–Basic, Basic, Proficient and Advanced) र कक्षा १० को सक्षमतालाई ६ तह (Below–Basic, Basic, Proficient 1, Proficient 2, Proficient 3 and Advanced) मा विभाजन गरी विश्लेषण गरिएको छ । सिकाइस्तरका हिसाबले विषयगत रूपमा नतिजा फरक फरक रहेको छ । धेरै विद्यार्थी न्यूनतम सिकाइ हासिल गर्नका लागि पनि संघर्षरत छन् । कक्षा ५ का विद्यार्थीमध्ये गणितमा २२ प्रतिशतले, नेपालीमा ५१ प्रतिशतले, विज्ञान तथा प्रविधि तथा प्रविधिमा ५३ प्रतिशतले र अंग्रेजीमा ४४ प्रतिशतले न्यूनतम सिकाइ उपलब्धि हासिल गरेका छन् ।

 

  • कक्षा १० को सन् २०१९ सँग सन् २०२३ को नतिजा तुलना गर्दा विषयगत राष्ट्रिय औषत विज्ञान तथा प्रविधि तथा प्रविधिमा ५०० बाट ५०५, अंग्रेजीमा ५०० बाट ५१५ र नेपालीमा ५०० बाट ४९९ पुगेको छ । सन् २०२३ मा गणित विषयको राष्ट्रिय औसत ५०० रहेको छ ।

 

  • बागमती, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका विद्यार्थीको विषयगत सिकाइ उपलब्धि अन्य प्रदेशको तुलनामा राम्रो देखिएको छ । गाउँपालिकाको तुलनामा नगरपालिकाको र सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयको विषयगत सिकाइ उपलब्धि राम्रो
    देखिएको छ । दलित जनजातिका तुलनामा ब्राह्मण/क्षेत्री समुदायका विद्यार्थीको सिकाइ उपलब्धि राम्रो देखिएको छ । घरदेखि विद्यालयसम्मको दूरीले सिकाइमा प्रत्यक्ष प्रभाव पारेको देखिएको छ । सामाजिक सञ्जाल तथा अन्य सूचना प्रविधिमा दैनिक २ घण्टाभन्दा
    बढी समय बिताउने विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव परेको देखिएको छ । समूह कार्य गर्ने र फुर्सदमा अतिरिक्त क्रियाकलापमा सहभागी हुने विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको देखिएको छ । अभिभावकको शिक्षाले विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पारेको देखिएको छ । विद्यालय र शिक्षकप्रति सकारात्मक अभिवृत्ति भएका विद्यार्थीको उपलब्धि उच्च रहेको देखिएको छ । अझै पनि एक तिहाइ विद्यार्थीले दुर्व्यवहार भोग्नपुरेको देखिएको छ । दुर्व्यवहार सामना गर्ने विद्यार्थीको सिकाइ कमजोर रहेको देखिएको छ ।

 

२. शैक्षिक सत्र २०८० मा कक्षा ३ पूरा गरेका विद्यार्थीको पढाइ तथा गणितीय सीपकोराष्ट्रिय परीक्षणका लागि प्रयोग गरिने परीक्षण साधनलाई स्तरीकरण गर्ने उद्देश्यले सातओटै प्रदेशको प्रतिनिधित्व हुनेगरी १० ओटा जिल्लाका ८० ओटा विद्यालयका १२०० विद्यार्थीमा पूर्व परीक्षण सञ्चालन गरिएको थियो ।

३. कक्षा ३ को पढाइ तथा गणितीय सीपको राष्ट्रिय परीक्षण ३३ क्षिल्लाका ५७९ ओटा सामुदायिक विद्यालयका ८,००० विद्यार्थीमा २०८१ जेठमा सञ्चालन गरिएको थियो । उक्त परीक्षणको प्रतिवेदन चालू आर्थिक वर्षमा तयार गरिने कार्यक्रम रहेको छ ।

४. माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SEE) मा विद्यार्थीको विषयगत प्राप्ताङ्कका आधारमा प्रश्न विश्लेषण, पाठ्यक्रम र विशिष्टीकरण तालिका तथा प्रश्नबीचको तालमेल, विद्यार्थीको उपलब्धिस्तरको अवस्था जस्ता पक्षहरुको अध्ययन गरी प्रतिवेदन तयार गरियो । उक्त विश्लेषणबाट अंग्रेजी, गणित र विज्ञान तथा प्रविधि विषयको केही प्रश्न सुधार गर्नुपर्ने देखिएको छ ।

५. पाठ्यक्रमका निर्दिष्ट सिकाइ उपलब्धि तथा सक्षमताहरूको उपलब्धिको अवस्था पहिचान गर्न विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (NASA) गर्ने कार्यका लागि परिवर्तित पाठ्यक्रमअनसुार कक्षा १० को गणित, विज्ञान तथा प्रविधि, नेपाली र अंग्रेजी गरी मुख्य ४ विषयको परीक्षण कार्य ढाँचा (Assessment Framework) विकास गरिएको छ ।

६. विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (NASA) को विगतका नतिजाहरूलाई सङ्क्षेपीकरण गरी अंग्रेजी विषयको कक्षा ५, ८ र १० को सन् २०१२, २०१५, २०१९ र २०२२ को विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (NASA) का प्रतिवेदनहरूलाई संश्लेषण गरी क्यााप्सुल प्रतिवेदन विकास गरिएको छ ।

७. स्थानीय तहको शिक्षा सेवा प्रवाहसम्बन्धी सेवाग्राही सन्तुष्टि लेखाजोखा गर्ने कार्यक्रमअनसुार १२ जिल्लाका ३५ ओटा स्थानीय तहका सेवाग्राहीसँग सेवाग्राही सन्तुष्टि लेखाजोखा गरियो । यसको प्रतिवेदन आ.व. २०८१/८२ मा तयार गरी प्रकाशन गरिनेछ ।

८. स्थानीय तह शिक्षा शाखा/महाशाखाको कार्यसम्पादन परीक्षणसम्बन्धी कार्यक्रम रहेकोमा सेवाग्राहीहरूको पहिचान गर्ने प्रदान गरिएको सेवाप्रति कार्यसम्पादनको स्तरबारे नियमित जानकारी गराउने, नागरिकप्रति सरकारको जवाफदेहिता अभिवृद्धि गराई सार्वजनिक शैक्षिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, स्थानीय तहको संस्थागत जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले १२ जिाल्लाका ३५ ओटा स्थानीय तहको शैक्षिक सेवाप्रवाहको कार्यसम्पादन परीक्षण गरिएको थियो । यसको प्रतिवेदन आ.व. २०८१/८२ मा तयार गरी प्रकाशन गरिनेछ ।

९. गैरसरकारी संस्थाहरूद्वारा सञ्चालित कार्यक्रमहरूको कार्यसम्पादन परीक्षण विज्ञ परीक्षकद्वारा गराइएको थियो । यसको तथ्याङ्क विश्लेषण तथा प्रतिवेदन लेखन कार्य बाँकी रहेको छ ।

१०. सातओटै प्रदेशका शिक्षा तालिम केन्द्रहरूका कार्यक्रमको कार्यसम्पादन परीक्षणमार्फत् शिक्षा तालिम केन्द्रको संस्थागत जवाफदेहिता अभिवृद्धि गर्ने अभिप्रायले शैक्षिक सेवा प्रवाहसम्बन्धी उक्त केन्द्रहरूको कार्यसम्पादन परीक्षण गरिएको थियो ।

११. प्रारम्भिक कक्षाहरूमा बालबालिकाको पठन र गणितीय सीप परीक्षण गर्नका लागि उपयुक्त प्रक्रिया र साधन विकास र परिमार्जन गर्न आवश्यक देखिएकाले विज्ञ, शिक्षक तथा अन्य सम्बन्धित सरोकारवालासँग छलफल तथा कार्यशाला सञ्चालन गरी Early Grade Reading Assessment (EGRA), Early Grade Mathematics Assessment (EGMA) and Classroom Based Early Grade Reading Assessment (CB–EGRA) को परीक्षण ढाँचा विकास गरी Item Bank तयार गरिएको थियो ।

१२. यस केन्द्रबाट सञ्चालित विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (National Assessment of Student Achievement–NASA) तथा कार्यसम्पादन परीक्षण (Performance Audit–PA) अध्ययनका प्राप्ति एवम् सिफारिस सारांश र सिफारिस कार्यान्वयनका ठोस सुझाबसमेत समेटिएको  आ.व. २०७९÷०८० को वार्षिक प्रतिवेदनलाई माननीय शिक्षा, विज्ञान तथा प्रविधि तथा प्रविधि मन्त्रीज्यूससमक्ष एक सार्वजनिक समारोहका बीच हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।

१३. यस केन्द्रबाट वार्षिक रूपमा सम्पादन गरिएका कार्यहरूको प्रतिवेदनमा समाविष्ट प्राप्ति र सिफारिसका सम्बन्धमा सरोकारवालालाई जानकारी दिने उद्देश्यले कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको दाङ, बागमती प्रदेशको काभ्रेपलाञ्चोक, मधेश प्रदेशको धनुषा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेशस्तरीय प्रबोधीकरण गोष्ठी सञ्चालन गरियो ।

१४. यस केन्द्रका कार्यसम्पादनलाई स्वतन्त्र तबरबाट अनगुमन गरी लेखाजोखा गर्न र भावी दिनका लागि सुझाब  तथा पृष्ठपोेषण प्राप्त गर्न १४ जना सञ्चारकर्मीहरूको सहकार्यमा नमूनाका रूपमा १४ जिल्लाको स्थलगत अनगुमन गरी प्रतिवेदन लिने कार्य सम्पन्न भयो ।

१५. आ.व. २०७९/८० मा विद्यालय कार्यसम्पादन परीक्षण सम्पन्न भएका सुनसरी, रौतहट, सिन्धुपाल्चोक र प्युठान गरी ४ जिल्लाका ३९५ सामुदायिक माध्यमिक विद्यालयको तथ्याङ्क व्यवस्थापनको कार्य सम्पन्न भई स्थानीय तहका आधारमा जिल्लागत एवम् एकीकृत प्रतिवेदन तयार गरिएको थियो ।

१६. आर्थिक वर्ष २०८०/०८१ मा विद्यालय कार्यसम्पादन परीक्षण सम्पन्न भएका स्याङ्जा, गुल्मी, खोटाङ र दैलख गरी ४ जिल्लाका ४५० सामुदायिक माध्यमिक विद्यालयको तथ्याङ्क व्यवस्थापनको कार्य सम्पन्न भई स्थानीय तहका आधारमा जिल्लागत एवम् एकीकृत प्रतिवेदन तयार गरिएको छ ।

१७. कार्यसम्पादन परीक्षणपश्चात् सामुदायिक माध्यमिक विद्यालयलाई दिइएको पृष्ठपोषण तथा सुझाबको कार्यान्वयन र सुधारको अवस्था पहिचान गर्ने तथा विद्यालय तथा सम्बन्धित निकायलाई थप सुधारका लागि सुझाब तथा पृष्ठपोषण प्रदान गर्ने प्रयोजनार्थ ७ प्रदेशका ७ जिल्लाका १४ ओटा स्थानीय तहअन्तर्गतका ८८ ओटा विद्यालयको कार्यसम्पादन परीक्षण फलोअप कार्यक्रम सम्पन्न गरिएको छ ।

१८. प्रधानाध्यापकको नेतत्व कार्यसम्पादन परीक्षण साधनलाई परिमार्जन गरी वस्तपुरक बनाउने र साधनमा सूचकको सङ्ख्यासमेत थप गरिएको छ ।

१९. कक्षा एकमा बालबालिका विद्यालय शिक्षाको लागि कत्तिको तयार अवस्थामा आउने गर्दछन् भन्ने विषयमा केन्द्रित रहेर सातै प्रदेश समेट्नेगरी २९ जिल्लाका २७४ ओटा विद्यालयका ३९७८ विद्यार्थीबाट तथ्याङ्क सङ्कलन गरी प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड (ELDS) को प्रतिवेदन तयार गरिएको छ ।

 

स्रोत : शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानोठिमी भक्तपुर

Facebook Comments

एसईई परीक्षा नतिजा सार्वजनिक

Previous article

लगानी बढाउँदै, शिक्षा सुधार्दै तारकेश्वर नगरपालिका 

Next article