सरकारले यस पटक विद्यालयमा विद्यार्थी भर्ना र कक्षा सञ्चालनको समय पछाडि सारिदिएपछि विभिन्न थरीका प्रतिक्रिया आए । कतिपय ‘आदर्शवादी’ले भने, ‘अन्तिम परीक्षापछि विद्यार्थीलाई रिफ्रेस दिलाउन र शिक्षकलाई वार्षिक कार्ययोजना बनाउनका लागि यो विदा एकदम ठिक छ ।’ तर, यसको विपक्षमा ‘यथार्थवादी’का तर्कहरू फरक आए ।
सरकारी विद्यालयका शिक्षकले भने, ‘हाम्रा विद्यार्थी निजीले तान्ने भए ! यति लामो विदा गरेर कहाँ हुन्छ !’
निजी विद्यालयलाई फेरि वैशाख महिनाको शुल्क नलिनू भनिएछ । यसको विरुद्ध निजी विद्यालय सञ्चालकहरूको गुनासो रह्यो, ‘हामीले विद्यालयको भाडा तिर्नुपर्छ । बसको भाडा तिर्नुपर्छ । विद्यार्थीबाट शुल्क नलिने हो भने त्यो शुल्क सरकारले तिरिदिनु पर्छ ।’
पीडा वास्तवमा हो नि ! सरकारले हप्तामा दुई दिन विदा दिने निर्णयसमेत गरेपछि ‘कोर्स नसकिने’ कुरा पनि आयो । ‘सकिहालिन्छ नि !’ भन्नेहरू पनि निस्के । खासगरी ‘शिक्षकको काम कक्षाकोठाभित्र पसेर पढाउनु र विद्यार्थीको काम त्यहीँ पढ्नुबाहेक अरू केही पनि नभएको’ ठान्ने ‘शिक्षावादी’हरूलाई दुईदिने विदा ठूलो चिन्ताको विषय भयो ।
विद्यालय पठाऊँ बन्द छ । कोठामा बसेर मोबाइल चलाएको चलायै छन् । यस्तो भएपछि शहरीया अभिभावकलाई आफ्ना छोराछोरी अब बिग्रे भन्ने लाग्ने नै भयो । मोबाइल चलाएर दिक्क भएपछि ‘लु हामीलाई घुमाउन लानू’ भनेर हैरान पार्छन् । घुमाएर ल्यायो, एकदुई दिन मोेबाइल चलाएपछि अब फेरि, ‘लु हामीलाई घुमाउन लानूपर्यो’ भन्ने शब्द दोहोर्याउँछन् । अब कताकता मात्रै लानु ! पैसा सकिइसक्यो । एकजना सर यस्तै गुनासो गर्दै हुनुहुन्थ्यो, ‘छोराछोरीहरुलाई लुम्बिनी, चितवन घुमाएर ल्याइयो । अझै कराउँदैछन् । स्कूल पठाऊँ बन्द छ । दिक्कै लागिसक्यो ।’
‘हातलागि’ कम हुने भएकाले दुईदिने विदाले ज्यालादारी शिक्षकहरूलाई पीर पार्ने नै भयो । यता, अफिस जान मात्रै काम ठान्ने कर्मचारीहरूका लागि दुईदिने विदा ‘तास विदा’ हुने भयो ।
विभिन्न क्रिया–प्रतिक्रिया र छलफलका बीच कतिपय स्थानीय तहले १५ वैशाख अगावै पूर्ववत् विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन् । यसलाई धेरैले ‘गुड जब’ ठाने पनि कतिपयले ‘संघको निर्णय नमाने पनि हुने’ हुनु हुँदैन भन्दै छन् । यसैबीच, सरकारले पनि ‘आफूलाई अनुकूल हुनेगरी चलाउनू’ भनिसक्यो । शिक्षासम्बन्धी अधिकार त स्थानीय सरकारलाई छँदैछ !
उता, गाउँतिरका विद्यार्थीलाई भने जति बढी विदा भयो उति फाइदा छ । विदाको समयमा वर्षभरि बाल्ने दाउरा जोहो गर्नुपर्छ । दैनिक गाईबाख्रा चराउनु पर्छ । खरपराल ओसार्नु पर्छ । खेत जोत्नु, डल्ला फुटाउनु पर्छ । खेतबारीमा मकै छर्ने बेला भयो । कतिपय खेतमा बर्खे धान रोप्ने बेला पनि यही हो । पढ्ने काम त हुँदै गर्छ नि !
वार्षिक परीक्षाको रिजल्ट गरेपछि गाउँका विद्यालयका धेरै शिक्षकहरू शहरमै छन् । त्यतातिर पढाइ शुरु हुने भनेकै सधैँ वैशाख १५ पछि नै हो । शिक्षकलाई वर्षेनी यस्तै सुविधा ! त्यसमा पनि ८ जना विद्यार्थी ३ जना शिक्षक भएको विद्यालयमा कोर्स सिध्याउन कति नै समय लाग्ला र ! जेठ लागेपछि विद्यालय पुगे पनि केही छैन ।
ठाउँअनुसारको चलन । सबैका आ–आफ्नै समस्या र पीर !










