विचार/तर्क

उपेक्षित हुँदै नेपाली भाषा !


भाषा आमसञ्चारको माध्यम मात्र नभएर कुनै पनि जातिको ऐतिहासिक विरासत, विशिष्ट सभ्यता, जीवन्त संस्कृति र राष्ट्रिय पहिचानको अमूल्य धरोहर हो । भाषासँग मानव चेतना, दर्शन र भू–सांस्कृतिक यथार्थ जोडिएको हुन्छ । जब कुनै भाषामाथि सङ्कट पर्छ, तब त्यो भाषा बोल्ने समुदायको समग्र मौलिक अस्तित्व र पहिचानको धरातल नै खलबलिन पुग्छ । आज हाम्रो मातृभाषा एवं राष्ट्रभाषा नेपालीको अवस्था ठ्याक्कै यस्तै गम्भीर र संवेदनशील मोडमा आइपुगेको छ । पछिल्ला केही दशक यता नेपाली भाषाको मौलिक प्रयोग, यसको व्याकरणिक शुद्धता र मानक स्तरीयतामा तीब्र ह्रास आएको छ । हाम्रो आफ्नै उदासीनता, वैश्वीकरणको अन्धानुकरण र औपनिवेशिक मानसिकताका कारण नेपाली भाषाको मौलिक पहिचानमाथि निरन्तर प्रहार भइरहेको छ । तसर्थ, नेपाली जनजिब्रो र दैनिक व्यवहारमा अङ्ग्रेजी शब्दहरूको अराजक, अप्राकृतिक र बढ्दो वर्चस्व नै वर्तमान भाषिक सङ्कटको मुख्य कारक बनेको छ ।

नेपाली भाषामा आएको यो डरलाग्दो विचलन र स्खलनको रूप हाम्रो नयाँ पुस्ता अर्थात् ‘जेनजी’ समूहमा विशेष रूपमा प्रकट भएको छ । आधुनिक समाजको यो वर्गमा आफ्नो भाषाप्रति सम्मान जगाउने र अपनत्व महशूस गराउने काम गर्न नसक्नु आजको ठूलो विडम्बना हो । परिणामतः आजकल हाम्रा घर–आँगनमा हुर्कंदै गरेका नानीबाबुहरूले क, ख, ग, घ सिक्नुभन्दा पहिल्यै ए, बी, सी, डी कण्ठ गरिसकेका हुन्छन् । नेपालीका सट्टा अङ्ग्रेजीचाहिँ शुद्धसँग बोल्न, बुझ्न र लेख्न आवश्यक ठान्ने र यही भाषालाई आधुनिकता, उच्च सामाजिक प्रतिष्ठा र विद्वताको मापदण्ड मान्ने एउटा आत्मघाती प्रवृत्तिले हाम्रो समाजमा जरो गाडेको छ । आफ्नै घरभित्र र आमाको काखमा हुर्कंदासमेत बालबालिकाहरूले मातृभाषामा सहज अभिव्यक्ति दिन नसक्नु र अङ्ग्रेजीमा मात्रै भावनात्मक रूपमा सहज महशूस गर्नुले हाम्रो राष्ट्रिय भाषिक चेतना कुन हदसम्म स्खलित भइरहेको छ भन्ने प्रष्ट पार्छ । यस्तो प्रवृत्तिले अन्ततः नयाँ पुस्तालाई पहिचानविहीन र आत्मगौरवबिहीन बनाउँछ ।

हाम्रा पारिवारिक सम्बन्धका कतिपय न्यानोपन र आदरभाव बोकेका विशिष्ट शब्दहरू समेत अङ्ग्रेजीको चिसो ओतभित्र हराउन थालेका छन् । बुबा, आमा, काका, काकी, मामा, माइजू, ठूलोबुबा, ठूलीआमा जस्ता विशिष्ट नातागोता र आदरार्थी शब्दहरूलाई ‘मम’, ‘ड्याड’, ‘अङ्कल’ र ‘आन्टी’ जस्ता सीमित र पहिचानविहीन शब्दहरूले निलिसकेका छन् ।

आज उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरूमा समेत समाजमा हुर्किएको यही भाषिक हीनताबोध तथा बेवास्ताका कारण नेपाली भाषाको न्यूनतम व्याकरण र शुद्धताप्रति चरम उदासीनता भेटिन्छ । आजकल कक्षा ११/१२ वा स्नातक तह उत्तीर्ण गरेका धेरै विद्यार्थीहरू पनि नेपालीमा शुद्ध शब्द प्रयोग गरेर एउटा वाक्य लेख्न सक्दैनन् । तर, तिनै विद्यार्थीहरू अङ्ग्रेजीमा भने सचेत देखिन्छन् । कुनै पनि ठाउँमा कसैले अङ्ग्रेजीको हिज्जे (स्पेलिङ) गलत लेख्यो वा बोल्यो भने त्यहाँ सबैका आँखा पर्छन् । तर, नेपालीमा जतिसुकै अशुद्ध भए पनि कसैको ध्यान गएको देखिँदैन । उदाहरणका लागि, सडकमा जताततै ‘दुर्घटनाग्रस्त क्षेत्र’ लेखिएको हुन्छ भने धेरै पसलहरूको नाम ‘बङ्गलामुखी’ बाट शुरु गरिएको हुन्छ । तर, कुनै पनि क्षेत्र ‘रोगग्रस्त’ वा ‘सङ्कटग्रस्त’ भएजस्तो ‘दुर्घटनाग्रस्त’ हुँदैन, त्यहाँ ‘दुर्घटना सम्भावित क्षेत्र’ भन्न खोजिएको हो । त्यस्तै, ‘बङ्गला’को अर्थ ‘वरिपरि हावा खेल्ने ठुलो घर’ भन्ने बुझिने भएकाले यसमा ‘मुखी’ थपेर नयाँ शब्द बनाउन सकिने कुरै आउँदैन । भन्न खोजिएको, देवीको रूपमा पूजा गरिने ‘बगलामुखी’ हो । यस्ता अनगिन्ती भाषिक त्रुटिहरू सार्वजनिक रूपमा दोहोरिरहँदा पनि समाजले त्यसलाई सामान्य ठान्नुले हाम्रो बौद्धिक लाचारी र भाषिक चेतनाको चरम सङ्कटलाई उजागर गर्छ ।

भाषिक विचलनको पराकाष्ठा कतिसम्म देखिन थालेको छ भने कक्षा ११/१२ उत्तीर्ण गरेकाहरू नै नेपाली वर्णमालाको सिङ्गो अक्षर र आधा अक्षरको भिन्नता समेत जान्दैनन् । परिणामतः उनीहरू ‘हेर्छन्‌’, ‘खान्छन्‌’, ‘जान्छन्‌’ जस्ता अस्वाभाविक शब्दहरू लेख्छन् । यस्तो भएपछि अन्य संयुक्त अक्षरको सही प्रयोग त उनीहरूका लागि धेरै टाढाको विषय भइहाल्यो । अझ, उदेकलाग्दो कुरा त के छ भने नेपाली भाषामा १ देखि १०० सम्म गन्न नजान्ने र आफ्नो फोन नम्बरसमेत नेपाली अङ्कमा व्यक्त गर्न नसक्ने ‘शिक्षित’हरूको जमात दिनानुदिन बढ्दो छ । अचेल आधुनिक डिपार्टमेन्ट स्टोरहरूमा जाँदा सामानको बिल तिर्ने क्रममा त्यहाँका कतिपय क्याशियरले ‘मेम्बरशिप’ सोध्छन्, तर ग्राहकले नेपाली अङ्कमा फोन नम्बर भन्यो भने उनीहरू ट्वाँ पर्छन् ।

नेपाली जनजिब्रो र दैनिक व्यवहारमा अङ्ग्रेजी शब्दहरूको अराजक, अप्राकृतिक र बढ्दो वर्चस्व नै वर्तमान भाषिक सङ्कटको मुख्य कारक बनेको छ ।

नेपाली भाषाप्रतिको उदासीनता विद्यार्थी र साधारण जनमानसमा मात्र सीमित छैन । समाजका अगुवा भनिने पत्रकार हुन् कि नेता, प्रोफेसर हुन् कि डाक्टर, जोसुकैले बोल्दा पनि आधा अङ्ग्रेजी र आधा नेपाली मिसाएर भाषाको खिचडी बनाइहाल्छन् । हालै प्रकाशित भएको कक्षा १२ को नतिजामा चित्त नबुझेर एक जना विद्यार्थी सञ्चारमाध्यममा आक्रोश पोख्दै थिए, “एक्पेक्टेशनभन्दा बिलो नम्बर आयो !” उनले आफ्नो यही भनाइलाई सरल नेपालीमा ‘आशा गरेभन्दा कम नम्बर आयो’ भन्न सक्तैनथे र ? अवश्य सक्थे, तर भाषिक औपनिवेशिकताको गहिरो प्रभावका कारण उनले नेपालीमा सोच्न र अभिव्यक्त गर्न नसकेरै अङ्ग्रेजीको सहारा लिएका हुन् । यो प्रवृत्तिले हाम्रो मौलिक संवाद क्षमता कसरी अपाङ्ग बन्दैछ भन्ने ऐना देखाउँछ ।

भाषिक शुद्धताप्रतिको यो व्यापक बेवास्तासँगै हाम्रा थुप्रै मौलिक, सुमधुर र गहन दार्शनिक अर्थ बोक्ने नेपाली शब्दहरू सामाजिक संवादबाटै विस्थापित हुँदै गएका छन् । ज्ञान र संस्कारको उज्यालो छर्ने आदरणीय ‘गुरु’ को महिमा र गरिमालाई भुलेर उहाँहरू ‘सर’ र ‘म्याम’ जस्ता ओहोदामा खुम्चिएको त धेरै भइसक्यो । बिहानीको झुल्के घामसँगै ओँठबाट फुट्ने आत्मीय शब्द ‘शुभप्रभात’ र रातको विश्राममा भनिने ‘शुभरात्रि’ लाई ‘गुड मर्निङ’ र ’गुड नाइट’ ले पूर्ण रूपमा प्रतिस्थापन गरिसकेका छन् । हिजोका दिनमा कसैलाई झुक्किएर गोडाले छोइँदा वा शरीर ठोक्किँदा विनम्रताका साथ, पृथ्वी र प्रकृतिका प्रतीक मानिने भगवानलाई सम्झेर ‘विष्णु, विष्णु’ भन्दै ढोग्ने र क्षमा माग्ने सुन्दर पूर्वीय शिष्टाचार थियो । तर आज त्यो हार्दिकता र संवेगात्मक अभिव्यक्ति पूरै हराएको छ, र त्यसको ठाउँ एउटा सस्तो औपचारिक शब्द ‘सरी’ले लिएको छ । दैनिक व्यवहारमा आफ्ना मौलिक शब्दहरूलाई त्यागेर कृत्रिम र आयातित शब्दहरू अँगाल्दा हाम्रा रैथाने मूल्य–मान्यता र सांस्कृतिक शिष्टाचारहरू स्वतः लोप हुँदै गइरहेका छन् ।

अङ्ग्रेजी भाषाको यो मिचाहा वर्चस्व केवल सामान्य अभिवादन र दैनिक शिष्टाचारमा सीमित नरही, यसले हाम्रा रैथाने ज्ञान, स्वास्थ्य र दैनिक व्यवहारका प्राविधिक शब्दहरूलाई समेत नराम्ररी निलेको छ । अचेल समाजमा कसैलाई ‘झाडापखाला’ लागेको छ भन्दा मानिसहरू अलमलिन्छन् र त्यो के हो भनेर सोध्छन्, तर ‘डायरिया’ भन्यो भने जसले पनि बुझ्छ । जनस्वास्थ्यको क्षेत्रमा वर्षौँदेखि राज्यले जनचेतना जगाएको ‘क्षयरोग’ भन्दा कसैको दिमाग चल्दैन तर ‘टीबी’ भन्नासाथ सबैले छ्याङ्ग बुझ्छन् । ‘मधुमेह’ सुन्दा मानिसहरू छक्क पर्छन् । तर, त्यही रोगलाई ‘सुगर’ वा ‘डायबिटिज’ भनेर परिचय गराएपछि मात्र यसका लक्षण र बन्देजबारे समाजमा चर्चा शुरु हुन्छ । यसरी हाम्रा रैथाने जडीबुटी, घरेलु उपचार र रैथाने रोगका नामहरूलाई अङ्ग्रेजीकरण गर्दा नयाँ पुस्ता आफ्नो ऐतिहासिक परम्परागत ज्ञान र विशिष्ट चिकित्सा पद्धतिबाट पूर्ण रूपमा विमुख बन्न पुगेको छ ।

यसका अतिरिक्त, हाम्रा पारिवारिक सम्बन्धका कतिपय न्यानोपन र आदरभाव बोकेका विशिष्ट शब्दहरू समेत अङ्ग्रेजीको चिसो ओतभित्र हराउन थालेका छन् । बुबा, आमा, काका, काकी, मामा, माइजू, ठूलोबुबा, ठूलीआमा जस्ता विशिष्ट नातागोता र आदरार्थी शब्दहरूलाई ‘मम’, ‘ड्याड’, ‘अङ्कल’ र ‘आन्टी’ जस्ता सीमित र पहिचानविहीन शब्दहरूले निलिसकेका छन् । भान्सामा प्रयोग हुने ‘लोहोरो–सिलौटो’, ‘ठेकी’, ‘मदानी’, ‘डाडु–पन्यु’ वा घरका बनोट बुझाउने ‘बलेँसी’, ‘मझेरी’, ‘पिँढी’ जस्ता हाम्रा वास्तुकला र जीवनशैलीसँग जोडिएका शब्दहरू त नयाँ पुस्ताका लागि दन्त्यकथा जस्तै बन्दै गएका छन् । बजारमा जाँदा तरकारीका नामहरू ‘बन्दाकोभी’, ‘काउली’, ‘भ्यान्टा’ भन्न छाडेर ‘क्याबेज’, ‘काउलीफ्लावर’, ‘ब्रिन्जल’ भन्ने जमात बढ्दो छ, जसले भाषाको विद्रूपीकरणलाई अझ मलजल गरिरहेको छ । नातागोता, घरायसी सामग्री अनि खानपानका रैथाने नामहरूको यो विस्थापनले हाम्रो सामाजिक र सांस्कृतिक जनजीवनको मौलिक सुगन्ध नै समाप्त पारिरहेको छ ।

हाम्रो समाजमा मौलाउँदो यो भाषिक उपनिवेश र सांस्कृतिक सङ्कटको पछाडि त्रुटिपूर्ण शिक्षा प्रणाली, अङ्ग्रेजी माध्यमप्रतिको गलत लिप्सा र विज्ञापन बजारको व्यापारिक स्वार्थले सबैन्दा ठूलो भूमिका खेलेको छ । निजी विद्यालयहरूले नेपाली बोल्ने विद्यार्थीलाई दण्डित गर्ने सम्मका अमानवीय र अवैज्ञानिक नियम लागू गर्दा बालबालिकामा आफ्नै मातृभाषाप्रति हीनताबोध विकास भइरहेको छ । अर्कोतर्फ, आधुनिकताका नाममा आमसञ्चार माध्यम, चलचित्र, र सामाजिक सञ्जालहरूमा ‘हिंग्लिस’ वा ‘नेपली’ (नेपाली र अङ्ग्रेजीको भद्दा मिश्रण) लाई व्यापक रूपमा प्रबर्द्धन गरिनुले यो समस्यालाई झन् भयावह बनाएको छ । “म त नेपालीमा एकदमै ‘विक’ छु” भन्नुलाई कमजोरी होइन, गर्वको विषय बनाइनु सामाजिक चेतनाको चरम स्खलन हो । विद्यालय र सञ्चार माध्यमको यही व्यापारिक तथा औपनिवेशिक मानसिकताका कारण नेपाली भाषा आफ्नै भूमिमा निरन्तर अपहेलित र सङ्कुचित हुँदैछ ।

हामीले यहाँनेर प्रस्टसँग बुझ्नुपर्ने कुरा के हो भने, अङ्ग्रेजी भाषा सिक्नु र विश्वव्यापी ज्ञानको ढोका खोल्नु आजको आधुनिक युगको अनिवार्य आवश्यकता हो । यसमा कसैको दुईमत हुन सक्दैन र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न यो माध्यम आवश्यक पनि छ । तर, अर्काको भाषा समृद्ध बनाउने नाममा आफ्नै भाषाको जग बिर्सनु र आफ्नो मौलिक पहिचानको हत्या गर्नु कदापि बुद्धिमानी हुन सक्दैन । विश्वका समृद्ध र स्वाभिमानी देशहरू— जस्तै जापान, चीन, फ्रान्स, जर्मनी वा दक्षिण कोरियालाई हेर्ने हो भने उनीहरूले विज्ञान र प्रविधिको शिखर चुम्दा पनि आफ्नो भाषा र संस्कृतिलाई कहिल्यै त्यागेनन्, बरु त्यसैलाई विकासको मुख्य माध्यम बनाएर अघि बढे । तसर्थ, आफ्नो मौलिक भाषिक धरातललाई अक्षुण्ण राखेर मात्र बाह्य ज्ञान र प्रविधिलाई रचनात्मक रूपमा आत्मसात् गर्नु नै वास्तविक बुद्धिमानी हो ।

कुनै पनि भाषा मर्नु भनेको केवल शब्दकोशबाट केही शब्दहरू हराउनु नभएर त्यो भाषाले शताब्दीयौँदेखि बोकेको दर्शन, चिन्तन, संस्कृति, लोकसाहित्य र मौलिक इतिहास सधैँका लागि समाप्त हुनु हो । भाषाको सङ्कुचनसँगै राष्ट्रिय आत्मसम्मान र राष्ट्रियताको जग समेत सङ्कुचित हुँदै जान्छ । तसर्थ, नेपाली भाषामा भइरहेको यो अङ्ग्रेजीको अराजक वर्चस्व, भाषिक अतिक्रमण र सांस्कृतिक विचलनलाई रोक्न हामी सचेत हुनैपर्छ । आफ्नो भाषिक गौरव र सांस्कृतिक पहिचानको रक्षाका लागि सम्पूर्ण नागरिक समाजले समयमै खबरदारी र प्रतिरोध गर्नु आजको अपरिहार्य आवश्यकता बनेको छ ।

देश, समाज र समग्र जातिकै सामूहिक सम्पत्ति भएकाले भाषाको रक्षा र संवर्धनका लागि राज्यस्तरबाटै ठोस भाषिक नीति र शिक्षा नीतिमा व्यापक सुधारको खाँचो छ । विद्यालय तहमा आँखा चिम्लँदै गरिएको अङ्ग्रेजी माध्यमको दौडलाई नियन्त्रण गरी प्राथमिक शिक्षा मातृभाषा वा राष्ट्रभाषामा दिइनु वैज्ञानिक र व्यावहारिक रूपमा अनिवार्य छ । आमसञ्चार माध्यम र प्रज्ञा–प्रतिष्ठानहरूले भाषाको मानक रूप र शुद्धता कायम राख्न नेतृत्वदायी भूमिका खेल्नुपर्छ र नयाँ पुस्तालाई आफ्नै भाषा, लिपि र संस्कृतिप्रति गौरव गर्न सिकाउने प्राथमिक दायित्व परिवार, विद्यालय र समाजको हो । जबसम्म हामी आफ्नै मौलिक शब्दहरूको माधुर्य र गहिराइ बुझ्दैनौँ, तबसम्म हाम्रो बौद्धिक चेतना सदाका लागि परनिर्भर रहनेछ ।

Facebook Comments

शिक्षकको नियति : सेवाको मूल्य कि तनाबको क्षतिपूर्ति ?

Previous article