विचार/तर्क

डिजिटल युगमा प्रभावकारी कक्षाकोठा सञ्चार


हिजोआज हामी मानव इतिहासको अद्वितीय मोडमा उभिएका छौं । यस अवधिमा शिक्षा, सञ्चार र प्रविधिको सम्बन्ध जति प्रगाढ बनेको छ, शायद इतिहासमा कहिल्यै बनेको थिएन । कृत्रिम बुद्धिमत्ता (AI), स्मार्ट सूचना प्रविधि, अनलाइन सिकाइ र डिजिटल प्लेटफर्महरूले ज्ञानको उत्पादन, वितरण र उपयोग गर्ने तरिकामा आमूल परिवर्तन ल्याइदिएका छन् । सञ्चार प्रविधिको अकल्पनीय विकासले सिकाइको स्वरूप, माध्यम र प्रभाव समेतलाई रुपान्तरण गरिदिएको छ । कम्प्यूटर, स्मार्ट बोर्ड, मोवाइल, ट्याब्लेट, इन्टरनेट, डिजिटल प्लेटफर्म, इमेल, च्याट, भिडियो सम्मेलन जस्ता माध्यमको प्रयोगबाट सिकाइ सहज बनेको छ । कक्षाकोठामा डिजिटल सञ्चारको प्रयोगले समय र स्थानको सीमालाई तोडेर पठन–पाठन कार्यमा विश्वव्यापी पहुँच स्थापित गरेको छ । डिजिटल सञ्चारले सिकाइको दायरालाई अत्यधिक फराकिलो बनाएको छ । प्रविधिको उपलब्धताले ज्ञान अब निश्चित स्थानमा सीमित छैन, यो चौबीसै घण्टा अनि विश्वको जुनसुकै कुनाबाट समेत हरेक व्यक्तिका लागि उपलब्ध छ ।

डिजिटल प्रविधिको आवश्यकता, प्रयोग र प्रभावका सम्बन्धमा यस कार्यशालामा दुई दिन भरपूर मात्रामा सबिस्तार र व्यवस्थित हिसाबले मन्थन भइरहेछ । तसर्थ म अबको केहीबेर डिजिटल प्रविधिलाई कक्षाकोठामा प्रयोग गर्दा हामी शिक्षकले अपनाउनुपर्ने होसियारी र सामना गर्नुपर्ने चुनौतीहरूका बारेमा अलि बढी केन्द्रित हुन चाहन्छु ।

एउटा महत्वपूर्ण प्रश्नबाटै प्रसङ्ग अघि बढाउँ– के प्रविधिको यति धेरै विकास र त्यसको कक्षाकोठमा व्यापक प्रयोग हुँदैमा सिकाइ प्रभावकारी हुन्छ त ? मेरो उत्तर सपाट छ– अहँ हुँदैन । किन हुँदैन भने प्रविधि कक्षाकोठामा ल्याउनु मात्र पर्याप्त छैन, सिकाइको दर्शन र डिजाइन परिवर्तन नभएसम्म शिक्षामा वास्तविक रूपान्तरण आउँदैन । शिक्षाको केन्द्रमा प्रविधि होइन, सञ्चार हुन्छ ।

सिकाइलाई जीवन्त बनाउने अपरिहार्य उर्जा भनेकै प्रभावकारी सञ्चार हो । उर्जाबिहीन मेसिन र सञ्चारबिहीन कक्षाकोठा उस्तै हुन्छन् । मेसिनमा जतिसुकै नयाँ प्रविधि र गुणस्तरीय उपकरण जडान भएपनि उर्जा (energy) बिना त्यो केवल धातुको पिण्ड बन्छ– निष्क्रिय, गतिहीन र उपयोगबिहीन । यस्तैगरी, शिक्षकसँग प्रचुर ज्ञान, अनुभव र सामग्री भएपनि त्यहाँ प्रभावकारी सञ्चार हुँदैन भने कक्षाकोठा प्रभावहीन र निरर्थक बन्छ । सञ्चारबिहीन कक्षाकोठा र उर्जाबिहीन मेसिनमा संरचना त हुन्छ तर सञ्चालन हुँदैन, उपस्थिति त देखिन्छ तर प्रभाव पैदा गर्दैन ।

प्रभावकारी सञ्चारले मात्र कक्षाकोठालाई उर्जाशील बनाउँछ, विचारलाई गति दिन्छ, सम्बन्धलाई प्रगाढ बनाउँछ र सिकाइलाई जीवन्त पार्छ । सञ्चाररहित कक्षाकोठामा विद्यार्थीका जिज्ञासा मौन हुन्छन्, सहभागिता हराउँछ र सिकाइको आत्मा मर्छ । त्यसैले शिक्षकको बोली, हाउभाउ, सङ्केत, प्रस्तुति शैली र विद्यार्थीका प्रतिक्रियाबीच हुने अटुट अन्तरक्रियाले मात्र कक्षाकोठालाई वास्तविक अर्थमा सिकाइको केन्द्रका रूपमा विकसित गर्छ ।

प्रभावकारी सञ्चारले मात्र कक्षाकोठालाई उर्जाशील बनाउँछ, विचारलाई गति दिन्छ, सम्बन्धलाई प्रगाढ बनाउँछ र सिकाइलाई जीवन्त पार्छ ।

 

फेरि अर्को प्रश्न उठ्छ– प्रविधि र कृतिम बौद्विकता अर्थात् एआईको युगमा मानव अन्तरक्रिया वा संवादको स्थान कहाँ छ ? हो, एआईको तीब्र विकाससँगै शिक्षणशास्त्र र सञ्चारलाई नयाँ सन्दर्भमा हेर्नु पर्ने आवश्यकता देखापरेको छ, किनकि एल्गोरिदमिक प्रणालीको उदयले सिकाइ कसरी हुन्छ, कसले सिकाउँछ, ‘बुझाइ’ भन्नाले के अर्थ राख्छ र समझदारी निर्माण कसरी हुन्छ भन्ने विगतका अवधारणाहरूमाथि चुनौती खडा गरिदिएको छ ।

यस सन्दर्भमा शिक्षाका “मेटा फ्रेमवर्क” हरूलाई सँगै राखेर छलफल बढाउनु उपयुक्त ठानेको छु । शिक्षाका यी मेटा फ्रेमवर्कहरू भनेका बौद्धिकता (intelligence) र चेतना (consciousness) हुन । एआईले अध्यापनको अभिनय गर्न सक्छ, सन्दर्भ सामग्रीहरूको विश्वव्यापी भण्डारबाट छिनभरमै सार खिच्न सक्छ, विषयवस्तु वैयक्तिकरण गर्न सक्छ, तत्काल प्रतिक्रिया दिन सक्छ, आदि इत्यादि । तर यस्तो ‘शिक्षण’ मूलतः प्रतिक्रियात्मक (reactive) र अनुकूलित वा समायोजित (adaptive) हुन्छ, सम्बन्धात्मक (relational) र संवादात्मक (dialogic) हुन सक्दैन । यसले जिज्ञासा र कल्पनाशक्तिलाई जागृत नगरी स्थापित तथा नियमित प्रक्रियाहरू अर्थात् routine algorithms मात्र अनुशरण गराउँछ । यसले ‘प्याटर्न’ गणना गर्छ तर अर्थ तथा समझदारी निर्माणको संसारमा बास गर्दैन । यसले शिक्षाको एउटा पक्ष बौद्धिकतालाई मात्र बोक्न सक्छ । त्यसैले नै यो प्रविधिलाई कृत्रिम बौद्धिकता भनिएको हो ।

चेतनाको विशाल संसारमा प्रवेश नगरी सिकेका कुरालाई आत्मसात गर्न वा ती कुरालाई अनुभवमा संगाल्न सम्भव हुँदैन । कक्षाकोठा भनेको एल्गोरिदमिक उत्तर ग्रहण मात्र गर्ने ठाउँ होइन, तिनको आलोचनात्मक मूल्याङ्कन गर्ने, सन्दर्भको खोजी गर्ने, सिर्जनशील ढङ्गले तिनको बिस्तार गर्ने, अर्थ खोज्ने र परस्पर समझदारी निर्माण गर्ने सक्रिय चेतनाका रूपमा सिकाइलाई बुझ्नु पर्ने हुन्छ । चेतनाले सामाजिक जागरुकता, समानुभूति, दायित्व तथा नैतिक वोध जस्ता उच्च तहका मानव गुणहरूलाई समेटिको हुन्छ । चेतनाले यर्थाथ बुझ्न र यर्थाथलाई सम्बोधन गर्न ती ज्ञानको अर्थ, सम्बन्ध र सीमा खोज्छ ।

मेरो विचारमा, हामी शिक्षकले यहाँ ध्यान पुर्याउनुपर्ने पहिलो कुरा के हो भने नैसर्गिक स्वभाव अनुसार नै मान्छे स्क्रीनबाट सिक्ने प्राणी (screen learner) होइन । मान्छेको उत्तम सिकाइ एक–अर्का बीचको अन्तरक्रियाबाट हुन्छ ।

दोस्रो कुरा, डिजिटल शिक्षणका समयमा कक्षाकोठा सञ्चारलाई एकतर्फी वा गैरवैयक्तिक बन्न नदिन शिक्षकमाथि महत्वपूर्ण जिम्मेवारी थपिन्छ । डिजिटल माध्यमबाट सञ्चार गर्दा शारीरिक हाउभाउ र मौनता बुझ्न कठिन हुन्छ, विद्यार्थीको सक्रिय सहभागिता घट्न सक्छ । सञ्चारको सबैभन्दा प्रभावकारी स्वरूप अन्तरवैयक्तिक सञ्चारलाई गैरवैयक्तिक सञ्चारमा परिणत गरिदिन सक्छ । हाते–उपकरण (manual tools) अर्थात् प्रविधिमा आधारित सिकाइले सोच, बुझाइ, समस्या समाधान, सिर्जनशीलता विकास र समझदारी निर्माण गराउने सिकाइका मानसिक उपकरणहरू (mental tools) जस्तै भाषा, स्मरणशक्ति, विश्लेषण शक्ति, जिज्ञासा, विचार, तर्क, समस्या समाधान र अर्थ निर्माण गर्ने लगायतका बेजोड मानव क्षमतालाई नजरअन्दाज गरी प्राविधिक सर्वोच्चता हाबी गराउन सक्छ ।

मान्छेको अनुतलीय र अद्भूत क्षमता भनेको इन्द्रियहरूबाट ग्रहण गर्न र सिक्न सक्ने एस्थेटिक (aesthetic) शक्ति हो । एस्थेटिक शक्ति भनेको पूर्ण रुपमा सचेत र जागरुक भइ वर्तमानमा बाच्नु हो । यस अवस्थामा इन्द्रियहरू जीवन्त हुन्छन् र एस्थेटिक शक्तिकै कारण हरेक व्यक्ति वरिपरिको वातावरणसँग गहिरो रूपमा एकाकार हुन पुग्छ । आफू र वरिपरिको संसारलाई संवेदनशील रूपमा बुझ्छ र अनुभव गर्छ ।

हामीलाई थाहै छ, एस्थेटिकको विपरीत अवस्था भनेको एनेस्थेटिक (anesthetic) हो, जहाँ संवेदनाशून्यता देखापर्छ । यस अवस्थामा व्यक्तिले आफ्नो इन्द्रियहरूलाई बन्द गर्छ वा मन्द बनाउँछ । यो अवस्था भनेको मान्छेले असहजता, पीडा वा सम्वेदनाहरूलाई पूर्ण रूपमा अनुभव गर्न नसक्ने अवस्था हो । यस अर्थबाट हेर्दा कक्षाकोठामा प्रविधिको अधिक प्रयोग गरियो भने विद्यार्थीका एस्थेटिक चेतना बन्द वा मन्द भई शल्यक्रियाका समयमा अपरेशन थिएटरभित्र विरामीलाई एनेस्थेसिया दिनु जस्तै हुनजान्छ, जहाँ उ एक प्रकारले बेहोस हुन्छ वा सम्वेदना गुमाउँछ । कक्षाकोठामा प्रविधिको अत्यधिक निर्भरता र असावधानीपूर्ण प्रयोगलाई प्रश्रय दिइएमा विद्यार्थीले सामाजिक होस गुमाउँछन्, जसको उदाहरणका रूपमा हाल सामाजिक सञ्जालमा उखरमाउलो मच्चाइरहेका असम्वेदनशील र असहिष्णु अभिव्यक्तिहरूलाई लिन सकिन्छ ।

वर्तमान समाजमा देखापरेको यो अवस्था विद्यमान शिक्षाकै देन हुनसक्छ । हामीले कक्षाकोठामा प्रचुर मात्रामा ज्ञान त हस्तान्तरण गर्यौं तर त्यसको अर्थ र समझदारी निर्माण गर्नबाट नराम्ररी चुक्यौं, जसले विद्यार्थीमा बौद्धिकता थप्यो, तर्कशीलता बढायो तर चेतना बिल्कुलै जागृत गराएन ।

प्रभावकारी सञ्चार भएका कक्षाकोठामा विद्यार्थीहरू ज्ञानका उपभोक्ता नभएर वस्तुस्थितिमा र वस्तुस्थितिसँग पूर्ण रूपमा समाहित हुन्छन् । यस्ता कक्षाकोठामा सञ्चारको सम्बन्ध विद्यार्थी माथि शिक्षक (teacher over student) होइन, विद्यार्थीसँग शिक्षक (teacher with student) हुनपुग्छ, जहाँ उपलब्ध ज्ञान ब्रम्ह वाक्यका रूपमा होइन, एजेण्डाका रूपमा प्रस्तुत हुन्छ ।

सिकाइका सन्दर्भमा प्रविधिको प्रयोग सम्बन्धी अर्को महत्वपूर्ण चुनौती भनेको यसले पहुँच र प्रयोगका हिसाबले डिजिटल असमानता वा विभेद समेत सिर्जना गर्नसक्छ । सबै भौगोलिक क्षेत्र र हैसियतका विद्यार्थीहरूको डिजिटल पहुँच र प्रयोग कमजोर वा क्षमताभन्दा बाहिरको विषय हुनसक्छ । कक्षाकोठामा प्रविधिको अधिक निर्भरताले कतिपय विद्यार्थीमा व्यावहारिक र नैतिक आतङ्क (moral panic) सिर्जना गर्न सक्छ ।

म यहाँ सन्निकट विगतमा न्यूरोसाइन्टिस्टहरूले गरेका अध्ययनको निष्कर्षलाई पनि स्मरण गर्न चाहन्छु । न्यूरोसाइन्टिस्टका विश्लेषणहरूको निष्कर्ष अनुसार आधुनिक इतिहासमा हरेक नयाँ पुस्ता अघिल्लो पुस्ता भन्दा उत्तम प्रदर्शन (better perform) गर्दै आएको थियो तर जेन्जी पुस्ता इतिहासकै त्यस्तो पुस्ता हो, जसले लगभग सबै संज्ञानात्मक मापनहरू जस्तै ध्यान वा धैर्य, स्मृति, साक्षरता, अंकगणित, सामान्य आइक्यू (General IQ) लगायतका पक्षमा समेत अघिल्लो पुस्ता भन्दा कमजोर प्रदर्शन (under perform) गरेको छ । यसको मुख्य कारण जेन्जी पुस्ता नै त्यो पुस्ता हो, जुन पुस्ताबाट अर्थात् १९९० को दशकको अन्त्यतिरबाट विकसित मुलुकहरूले विद्यालयमा डिजिटल प्रविधिलाई व्यापक प्रयोगमा ल्याउन थालेका थिए ।

यस सन्दर्भमा हामी शिक्षकहरू अर्को के कुरामा पनि स्पष्ट हुनु जरुरी छ भने युवा मस्तिष्कमा प्रविधिप्रतिको आशक्तिपूर्ण (obsessive) व्यवहारलाई रोक्न सहयोग पु¥याउने आत्म–नियन्त्रण प्रणाली पूर्ण रूपमा विकसित भइसकेको हुँदैन । यस अवस्थाले विद्यार्थीलाई सिकाइमा सहयोग गर्नुको साटो प्रविधिका थप खराबीहरूमा आदत बसाउन सक्छ र सिकाइलाई झन भताभुङ्ग बनाउन सक्छ ।

समग्रमा भन्नु पर्दा, प्रविधि र प्रणालीमा आधारित शिक्षाले अनिश्चिय र उच्च दबाबको वातावरणमा पनि क्रियाशील रहन सक्ने, असफलताहरूबाट पाठ सिक्नसक्ने तथा दृढ निश्चयी बन्ने जस्ता व्यक्तिका प्रतिकूल परिस्थितिको सामना गर्न अत्यावश्यक क्षमताको विकास गराउन सक्दैन । यस्तो शिक्षाले व्यक्तिगत तथा सामाजिक सम्वेदनालाई पहिचान गर्ने, दायित्व तथा नैतिकबोध गर्ने र त्यसको व्यवस्थापन गर्ने जस्ता व्यक्तिगत सम्वेगात्मक क्षमताको विकास गराउन पनि सक्दैन ।

हिजोआज आम कक्षाकोठामा बौद्धिकता र चेतनाको सन्तुलित विकास गराउनुको साटो परीक्षामा अनुतिर्ण हुने भय, जागिर नपाउने भय, प्रतिस्पर्धामा हार्ने भय, समग्रमा जीवन असफल हुने भय, आफू कमजोर छु भन्ने हिनताबोध र आसक्ति सिकाइ रहेछौं । यस्ता कक्षाकोठामा माग र अपेक्षाहरूलाई चाङ लगाएर राख्ने गरिएको हुन्छ । विद्यार्थीलाई साँझ–बिहानको गर्जो टार्नु नै जीवन सार हो भन्ने पाठ पढाइएको छ । यस्ता कक्षाकोठाहरूमा पूर्णतया रणनीतिक सञ्चार हुने गरेको छ, जहाँ विद्यार्थीलाई ज्ञान खटाइ–खटाइ दिइन्छ र त्यसलाई कण्ठ पार्न लगाइन्छ । सिकाइको उद्देश्य जान्नुसँग होइन, विद्यार्थीलाई जाँच्नु (test) सँग सीमित हुन्छ ।

नवप्रर्वतन, सिर्जना र समालोचनात्मक चेत विकास गराउने शिक्षा नभएर डर र प्रतिस्पर्धामा केन्द्रित यस्तो शिक्षाले मानव जीवन र समाजलाई पूर्ण रूपमा विचलित गराइरहेको छ । जीवन जगाउने होइन, जीवन थकाउने अथवा भनौं आशा होइन निराशाको पाठ कक्षाकोठामा पढाइरहेछ । व्यक्तिका स्वतन्त्रतापूर्वक बोध गर्ने, सोच्ने र व्यवस्थापन गर्ने क्षमतालाई दबाएर डाहा, घृणा, आक्रोश र आत्मघाती चेतनाको विकास भइ रहेको छ, जसले स्थायी रूपमा नै विचलित तथा विशृङ्खल समाज निर्माण गर्ने गर्छ ।

त्यसैले कक्षाकोठामा प्रविधिको प्रयोग गर्दा पठन–पाठनको बौद्धिककता र चेतना दुबै पक्ष कमजोर हुन नदिन हामी शिक्षक पूर्णतया सजग रहनु आवश्यक छ । प्रविधिको प्रयोगले आम कक्षाकोठामा मानकीकरणको संस्कृतिलाई मात्र स्थापित गराउन सक्छ तर शिक्षकले सान्दर्भिकता, कल्पनाशक्ति, सिर्जनशीलता, जिज्ञासा र नयाँ सम्भावनाबारे खोज गर्ने विद्यार्थीको क्षमतालाई प्रोत्साहन गर्नुपर्ने हुन्छ ।

दैनिक जीवनलाई नै नियाल्दा के पाउँछौं भने ‘कसैले केही कुरा भन्दैमा हामी पत्याइ हाल्दैनौं वा ग्रहण गर्दैनौं ।’ कसैले भनेको कुरालाई हामी अनायासै तीन पत्रे कसीमा जाच्न थाल्छौं, जसलाई हाम्रो स्वस्फूर्त चेतना (common sense) ले सक्रिय गराउँछ । हामीसँग प्राकृतिक रूपमै उपलब्ध तीन पत्रे कसी के हो भने ‘त्यो भनिएको कुरा वस्तुगत हिसाबले सत्य छ कि छैन, त्यो कुरा सामाजिक रूपमा उपयुक्त छ कि छैन र भन्ने व्यक्तिमा इमान्दारी छ कि छैन ?’

यसको अर्थ शिक्षक वा प्रविधिमार्फत केही कुरा सुनाउँदैमा विद्यार्थीले ग्रहण गर्छन भन्ने हुँदैन । ती भनिएका कुरा स्वीकार गर्न विद्यार्थीहरू पनि यिनै तीन पत्रे कसी प्रयोग गरेर सन्तुष्ट भएको हुनुपर्छ, जसका लागि कक्षाकोठामा मानव अन्तरक्रिया वा संवाद अनिवार्य छ अथवा भनौ कक्षाकोठा सञ्चारशील हुनैपर्छ । यसको अर्थ डिजिटल युगले कक्षाकोठामा प्रभावकारी सञ्चारको आवश्यकतालाई झन टड्कारो बनाएको छ, किनभने सिकाइ यान्त्रिक वा मेकानिकल प्रणाली होइन, यो पूर्ण रूपमा मानव प्रणाली हो ।

तसर्थ हामी शिक्षकले प्रभावकारी सञ्चारका केही मौलिक पक्षहरूलाई कहिल्यै बिर्सन हुँदैन । एउटा अकाट्य सत्य के हो भने हामी सञ्चार नगर्न सक्तैनौं तर के हामी सधैं प्रभावकारी सञ्चार गर्न सक्षम छौं त ? शिक्षणका समयमा घोत्लिनु पर्ने यक्ष प्रश्न यही हो । शिक्षकका रूपमा ‘मैले के भने’ भन्ने कुराले कक्षाकोठामा खासै अर्थ राख्दैन, अर्थ त्यसले राख्छ– ‘मैले भनेको कुरा विद्यार्थीले कसरी बुझे ।’

सञ्चारका कारण मान्छे सजिलै अन्यौलमा पर्नसक्छ, सजिलै मर्माहत हुनसक्छ, सजिलै अपमानित भएको ठान्नसक्छ, सजिलै उपेक्षित वा तिरस्कृत भएको महशूस गर्नसक्छ, सजिलै उत्तेजित वा क्रोधित बन्नसक्छ, सजिलै लज्जित हुनसक्छ, सजिलै निराश र हतास हुनसक्छ । त्यसैले मानव सञ्चार आफैंमा अपरिहार्य, रोमाञ्चक र दिलचस्पी पनि छ ।

सञ्चार जगत्मा एउटा प्रचलित भनाइ छ– ‘कुनै पनि मानिस यति कुरा वा निश्चित विषयवस्तु मात्र सुन्छु भनेर जन्मिएको हुँदैन, यदि उसलाई दिक्कलाग्दो केही छ भने त्यो तपाईको प्रस्तुतिमा छ ।’ यस भनाइले प्रभावकारी सञ्चारको आवश्यकतालाई दर्शाउँछ । समयक्रममा आर्जन गरिएका ज्ञानमा आधारित व्यक्तिगत विश्वास तथा आम रूपमा स्वीकार गरिएका वास्तविकतालाई भावनात्मक माध्यमबाट बदल्ने वा परिमार्जन गर्ने शक्तिशाली सिकाइ प्रक्रिया नै प्रभावकारी सञ्चार हो । तसर्थ, प्रभावकारी सञ्चार भनेको आफ्ना कुरा अरूलाई सुनाउने र मनाउने कार्य होइन, यो त पारस्परिक संवादमार्फत साझा अर्थ र समझदारी निर्माण गरी निरन्तर सिक्दै जाने एउटा सशक्त प्रक्रिया हो ।

प्रभावकारी सञ्चारका मौलिक स्वभाव भनेका सञ्चारका बखत परस्पर स्नेह (love), आशा (hope), खुलापन (openness), व्यावहारिकता (practicality) र सत्यनिष्ठा (sincerity) प्रवाह गर्न सक्नु हो । स्नेहले सञ्चारका बखत समानुभूति, आदर र आत्मीयता कायम गर्छ, सञ्चार सुरक्षित र भरोसायोग्य बन्छ, सञ्चारलाई मानवीय बनाउँछ । आशा, सञ्चारको प्रेरक शक्ति हो । यसले सकारात्मक साेंच र आफू स्वयं र भविष्यप्रति दृढ विश्वास जगाउँछ । खुलापनले द्विपक्षीय वा बहुपक्षीय सञ्चार वातावरण सिर्जना गर्छ । प्रभावकारी सञ्चारका लागि कक्षाकोठामा अभिव्यक्तिको खुलापन (expressive openness) र चिन्तनको खुलापन (reflective openness) दुबै कायम हुनुपर्छ । यसले शिक्षक र विद्यार्थी बीच आफ्ना दृष्टिकोणहरूलाई निरन्तर परीक्षण गर्ने अर्थात् वादेवादे जायते तत्व बोधको दृढ चाहना बढाउँछ । सञ्चारका कर्ताहरू बीच भावनात्मक जागरूकता बढाउँछ, सञ्चार तत्परता र ग्रहणशीलता थप्छ, परस्पर विश्वास कायम गर्छ र सिकाइलाई लेनदेनको विषय होइन, साझा प्रक्रियामा रूपान्तरण गर्छ ।

प्रभाकारी सञ्चारको अर्को तत्व व्यावहारिकताले सञ्चारलाई स्पष्ट, सरल, सान्दर्भिक, अर्थपूर्ण, स्वाभाविक र तर्कसङ्गत बनाउँछ । यसले सञ्चारका बखत प्राप्त नयाँ ज्ञान, सीप, विश्वास तथा प्रवृत्तिहरू दैनिक जीवनमा अभ्यास गर्न सकिने प्रशस्त आधार प्रदान गर्छ । प्रभावकारी सञ्चारको अन्तिम तत्व सञ्चारकर्ताको इमान्दारी र सत्यनिष्ठाले सञ्चारमा विश्वासनीयता र स्वीकार्यता सुनिश्चित गर्छ ।

प्रभावकारी सञ्चार भएका कक्षाकोठामा विद्यार्थीहरू ज्ञानका उपभोक्ता नभएर वस्तुस्थितिमा र वस्तुस्थितिसँग पूर्ण रूपमा समाहित हुन्छन् । यस्ता कक्षाकोठामा सञ्चारको सम्बन्ध विद्यार्थी माथि शिक्षक (teacher over student) होइन, विद्यार्थीसँग शिक्षक (teacher with student) हुनपुग्छ, जहाँ उपलब्ध ज्ञान ब्रम्ह वाक्यका रूपमा होइन, एजेण्डाका रूपमा प्रस्तुत हुन्छ । ती ज्ञानलाई आफ्नोे सन्दर्भमा ढाल्ने, तिनलाई सिर्जनशील ढङ्गले विस्तार गर्ने र ती ज्ञानमाथि प्रश्न खडा गर्ने जस्ता कार्य शिक्षक र विद्यार्थी मिलेर गर्छन् । शिक्षक र विद्यार्थी परस्पर अनवरत संवाद गर्छन् । अर्थात् उनीहरू ती ज्ञानलाई सन्दर्भ अनुसार पुनः रचना, विस्तार र परीक्षण गर्छन् । वादेवादे जायते तत्व बोध यस्ता कक्षाकोठाको मूल मन्त्र हुन्छ । कक्षाकोठामा अर्थ र समझदारी निर्माणमार्फत सत्यको खोजी, ज्ञानको निर्माण र पुनर्निमाण निरन्तर जारी रहन्छन् ।

कक्षाकोठामा प्रभावकारी सञ्चारले विद्यार्थीमा शिक्षाका बृहत्तर अवधारणाहरू बौद्धिकता र चेतना दुबैलाई सन्तुलित रुपमा विकास गराउन सक्छ । तसर्थ कक्षाकोठामा प्रभावकारी सञ्चारले समाज र मानवताका लागि उपयुक्त, अधिक पूर्ण र विवेकशील मान्छे निर्माण गर्न शिक्षालाई सक्षम बनाउँछ, जुन शिक्षाको परम उद्देश्य पनि हो ।

अन्ततः एआई वास्तवमा शिक्षाशास्त्री प्रा.डा. मीनबहादुर विष्टले भनेझैं नयाँ युगको शिक्षण प्रतिस्थापन परियोजना होइन्, यो कक्षाकोठा सञ्चार र सिकाइलाई पुनः परिकल्पना गर्ने प्रक्रिया हो, जहाँ प्रविधिले माध्यमको सहजता प्रदान गर्न सक्छ, तर बुझाइको गहिराइ, मौनताको वजन र संवादको रूपान्तरणकारी शक्ति अझै पनि मानव क्रियाकलाप र अनुभवमै निहित रहन्छ । भविष्यका कक्षाकोठा प्रविधि–समृद्ध अवश्य हुनेछ, तर शिक्षणको केन्द्रीय पक्ष मानिसकै अनुभव, चेतना, जिज्ञासा, संवेदना र संवाद वा सञ्चारशीलताले नै निर्धारण गर्नेछ ।

मेरा विचारमा यो विश्वमा कुनै पनि त्यस्तो प्रणाली र प्रविधि छैन र हुन पनि सक्तैन, जुन सिकाइका लागि शिक्षक र मानव अन्तरक्रियाभन्दा उत्तम होस् । शिक्षण भनेको सिर्जनशील पेशा हो, कुनै वितरण प्रणाली (delivery system) होइन । शिक्षाको वास्तविक मुहान जीवनजगत् हो, प्रणाली वा प्रविधि होइन । तसर्थ डिजिटल युगका वर्तमान कक्षाकोठामा मानव शिक्षण तथा प्रभावकारी सञ्चारको आवश्यकता र महत्व झनै सघन बन्दै गएको छ ।

यसरी शिक्षण र सिकाइ चेतना सम्पन्न संवाद वा सञ्चारशील कार्यका विशिष्ट स्वरूप हुन, जसमा शिक्षक र विद्यार्थी दुवैको सक्रिय सहभागिता अत्यावश्यक हुन्छ । तसर्थ हामीले डिजिटल र एआई सीपयुक्ति भविष्यका लागि तयार शिक्षक मात्र होइन, सञ्चारशील, चिन्तनशील र मानवीय शिक्षक निर्माण गर्न सक्यौं भने मात्र भविष्यका लागि तयार अधिक पूर्ण र विवेकी विद्यार्थी निर्माण गर्न सक्नेछौं ।

(रघु मैनाली, पिएचडीले विश्वविद्यालय अनुदान आयोग (UGC) को सहयोगमा पत्रकारिता तथा आम सञ्चार विभाग, त्रिभुवन विश्वविद्यालयद्वारा हालै आयोजित  ‘Future-Ready Educators with Digital Pedagogy and AI Skills: Empowering Faculty Members in Journalism Education’ कार्यशालाका सहभागीमाझ प्रस्तुत गर्नुभएको Key Note Speech को सम्पादित अंश– सम्पादक)

Facebook Comments

उनान्तिस दिनमै एसइइ नतिजा प्रकाशन, ६५.९८ विद्यार्थी ग्रेडेड हुन सफल

Previous article