जब मैले पहिलोपटक आफ्नो कक्षाकोठामा सकारात्मक अनुशासन लागू गर्न थालेँ, तब मलाई यो हुनै सक्दैन भन्ने सोंच आउँथ्यो । साँच्चै भन्नुपर्दा म सशंकित थिएँ । मेरो वर्षौंको शिक्षण अनुभवले मलाई विद्यार्थीलाई नियन्त्रण गर्नैपर्छ भन्ने सिकाएको थियो । तर, जति–जति मैले सकारात्मक अनुशासन अभ्यास गर्दै गएँ, त्यति नै मलाई महशूस हुन थाल्यो कि कक्षाकोठा व्यवस्थापन गर्नु भनेको सम्मान र अनुशासन दुबैलाई सँगै अँगाल्नु हो ।
सम्मान तर दृढतासाथ (Kind and Firm at the Same Time) व्यवहार गर्न सिक्नु मेरो लागि सबैभन्दा ठूलो परिवर्तन थियो । पहिले मलाई लाग्थ्यो यी दुई कुरा एकअर्काका विपरित हुन् । विद्यार्थीसँग न्यानो व्यवहार गर्नु वा नजिकिनु भनेको आफ्नो अख्तियार गुमाउनु हो र दृढ हुनु भनेको कठोर हुनु हो । सकारात्मक अनुशासनको अभ्यास गर्दै जाँदा मलाई थाहा भयो कि एक शिक्षकले स्पष्ट अपेक्षा र सीमाहरू कायम राख्दै पनि विद्यार्थीलाई सम्मानका साथ व्यवहार गर्न सक्छ । मैले स्वर चर्को पार्नुभन्दा पहिले ‘के भयो ?’ र ‘तिमीलाई किन यस्तो लाग्यो ?’ भनेर सोध्न थालेँ । सिधै दण्ड वा सजायतर्फ जानुको सट्टा केहीबेर धैर्य गर्न थालेँ । प्रतिक्रिया दिनुभन्दा पहिले ‘किन ?’ सोध्ने बानीले मेरा विद्यार्थीहरूको प्रतिक्रियामा नै परिवर्तन ल्यायो । उनीहरूले मबाट आफ्ना गल्ति लुकाउन छाडे । बरु, खुलेर आफ्ना अनुभव र कारणहरू बताउन थाले ।
सकारात्मक अनुशासनको अभ्यासले मेरो सोंचाइमै परिवर्तन ल्यायो । ‘यो व्यवहार कसरी रोक्ने ?’ भन्ने सोंचबाट ‘यो विद्यार्थीलाई अहिले साँच्चै के चाहिएको छ ?’ भन्ने सोंचतर्फ जान सिकायो । त्यसैले, आज मेरो कक्षाकोठा शान्त छ, विद्यार्थीसँगको मेरो सम्बन्ध बलियो छ र सबैभन्दा महत्वपूर्ण कुरा, मेरा विद्यार्थीहरूले मबाट डराएर नियम पालना गर्नुको सट्टा आत्म–नियमन गर्न
सिकिरहेका छन् ।
मैले सिकेको अर्को सबैभन्दा अर्थपूर्ण पाठ ‘सच्याउनुभन्दा वा प्रतिक्रिया दिनुभन्दा पहिले सम्बन्ध निर्माण गर्नुपर्छ’ (Build Connection Before Correction) थियो । यस कारण मैले भनेका कुरा विद्यार्थीहरूले सहज रूपमा स्वीकार गर्न थाले । जब म ढोकामै उभिएर विद्यार्थीलाई मुस्कानसहित स्वागत गर्थेँ, तब विद्यार्थीहरूको अनुहारमा पनि खुशीको तरङ्ग देखिन्थ्यो । कुनै निर्देशन दिनुअघि उनीहरूको आँखामा आँखा जुधाउँथेँ । त्यसपछि हुने सम्पूर्ण अन्तक्र्रिया अझ सहज हुन्थ्यो । जब विद्यार्थीहरूले आफूलाई महत्व दिइएको र सम्मानित महशूस गर्थे, त्यसपछि उनीहरूका अनुचित व्यवहार बिस्तारै घट्दै जान थाले । यसले मलाई महशूस गरायो कि हामीले ‘खराब व्यवहार’ भनेर लेबल लगाउने धेरैजसो व्यवहार वास्तवमा बच्चाले ध्यान खोजिरहेको, आफ्नो स्तरभन्दा माथि वा तलको पाठसँग संघर्ष गरिरहेको वा कक्षासँग जोडिन नसकेको संकेत मात्र रहेछ । कतिपय अवस्थामा त्यो उनीहरूलाई मैले बुझ्न नसकेको पीडाको अभिव्यक्ति पनि रहेछ । जब मैले व्यवहारलाई यसरी हेर्न थालेँ, मेरो सम्पूर्ण अनुशासन गर्ने तरिका नै बदलियो ।
मैले विद्यार्थीहरूलाई कक्षाकोठाका नियमहरू सिधै लाद्नुको सट्टा उनीहरूसँगै बसेर बनाउन थालेँ । हामीले मिलेर ५–७ वटा साधारण नियमहरू बनायौँ । विद्यार्थीहरूले ती नियम आफ्नै भएको महशूस गरे । नियमहरूलाई सधैँ सकारात्मक भाषामा लेख्यौँ । जस्तै ‘नबोल’ भन्नुको सट्टा ‘बोल्नुअघि हात उठाऊ’ भन्ने नियम राख्यौँ । यसरी बनाइएका नियमहरूप्रति विद्यार्थीहरूले बढी स्वामित्व लिए । यो देख्दा म आफैँ छक्क परेँ । कसैले नियम तोड्यो भने त्यो ‘मेरो नियम तोडेको’ जस्तो लाग्दैनथ्यो, बरु त्यो ‘हाम्रो’ सहमति भएकाले जवाफदेहिता स्वाभाविक रूपमा बढेको लाग्थ्यो ।
सबैभन्दा गाह्रो त सार्वजनिक रूपमा सजाय दिने बानी छोड्नु थियो । पहिले म बाधा पु¥याउने वा धेरै हल्ला गर्ने विद्यार्थीलाई कक्षाबाट बाहिर पठाउँथेँ वा सबैको अगाडि नाम लिएर गाली गर्थेँ । सकारात्मक अनुशासनले मलाई बरु पुनःस्थापनामूलक (Restorative) अभ्यासतर्फ डो¥यायो । खराब व्यवहारलाई एकान्तमा सम्बोधन गर्ने, विद्यार्थीलाई ‘के भयो ?’ र ‘यसलाई कसरी सुधार्न सकिन्छ ?’ भनेर सोंचन लगाउने तथा प्राकृतिक वा तार्किक नतिजासँग जोड्ने अभ्यास गर्न थालेँ । जसले फोहोर गर्यो, उसैले सफा गर्यो। जसले समूह कार्यमा बाधा पुर्यायो, उसैले समूहलाई फेरि लयमा ल्याउन सहयोग गर्यो । यसले छिटो सजाय दिनुभन्दा बढी समय र धैर्य माग्यो । तर, यसबाट सिकेको कुरा धेरै समयसम्म टिक्यो । किनभने, विद्यार्थीहरूले नियम पालना गर्न मात्र होइन, जिम्मेवारी लिन पनि सिके ।
मैले सकारात्मक अनुशासनलाई समावेशी शिक्षाबाट अलग गर्न नसकिने विषयका रूपमा पनि बुझ्न थालेँ । डरले भरिएको कक्षाकोठा कहिल्यै समावेशी हुन सक्दैन त्यहाँ जतिसुकै राम्रो पाठयोजना भएपनि । मैले याद गरेँ कि व्यवहारमा सबैभन्दा बढी संघर्ष गर्ने विद्यार्थीहरू प्रायः तिनै थिए जसका सिकाइ आवश्यकता पूरा भइरहेका थिएनन् । उनीहरूको स्तरभन्दा माथिको पाठ वा उनीहरूको ध्यान तान्न नसक्ने गतिविधि नै त्यसको कारण थियो । जब मैले श्रव्य–दृश्य सामग्री प्रयोग गर्न थालेँ, केही विद्यार्थीहरूको ध्यान अकस्मात् बढेर आयो । विद्यार्थीहरूको ध्यान टिकाइराख्न हरेक १०–२० मिनेटमा गतिविधि परिवर्तन गर्नुपर्दो रहेछ भन्ने पनि सिकेँ । संघर्ष गरिरहेका विद्यार्थीलाई सजाय दिनुको सट्टा थप सहयोग दिन थालेँ । त्यसपछि अनुशासनहीन व्यवहार उल्लेखनीय रूपमा घट्यो । मैले सकारात्मक अनुशासन र राम्रो शिक्षण वास्तवमा अन्योन्याश्रित छन् भन्ने महशूस गरेँ ।
८०–१०० जनाको ठूलो कक्षाकोठामा सकारात्मक अनुशासन व्यवस्थापन गर्नु आफैँमा चुनौतीपूर्ण थियो, जुन हामीमध्ये धेरै शिक्षकहरूले भोग्ने वास्तविकता हो ।
मैले पहिलो दिनदेखि नै अनुमानयोग्य दैनिक कार्यतालिका (Routine) बनाएँ । अनुगमनकर्ता, समूह नेता वा कप्तानलाई पङ्क्ति तथा समूह व्यवस्थापनमा परिचालन गर्न थालेँ । समूहगत सिकाइमा जोड दिएँ । आफ्नो हाउभाउ र शारीरिक भाषा सुधार्न थालेँ । एकै ठाउँमा उभिएर पढाउनुको सट्टा निरन्तर कक्षाकोठाभरी घुम्दै पढाउन थालेँ । कुनै गतिविधि शुरु गर्नुअघि विद्यार्थीहरूले निर्देशन बुझे वा बुझेनन् भन्ने कुरा सुनिश्चित गर्न थालेँ । यसले अन्योलका कारण उत्पन्न हुने धेरैजसो व्यवहारगत समस्याहरू हटेको मैले अनुभव गरेँ । वास्तवमा, सकारात्मक अनुशासनको अभ्यासले मेरो सोंचाइमै परिवर्तन ल्यायो । ‘यो व्यवहार कसरी रोक्ने ?’ भन्ने सोंचबाट ‘यो विद्यार्थीलाई अहिले साँच्चै के चाहिएको छ ?’ भन्ने सोंचतर्फ जान सिकायो । त्यसैले, आज मेरो कक्षाकोठा शान्त छ, विद्यार्थीसँगको मेरो सम्बन्ध बलियो छ र सबैभन्दा महत्वपूर्ण कुरा, मेरा विद्यार्थीहरूले मबाट डराएर नियम पालना गर्नुको सट्टा आत्म–नियमन गर्न सिकिरहेका छन् । सकारात्मक अनुशासनले केवल शान्त कक्षाकोठा सिर्जना गरेको छैन, बरु सक्षम, जिम्मेवार र आत्म–अनुशासित नागरिक निर्माण गरिरहेको छ । यसले दण्डरहित र सम्मानजनक सिकाइ वातावरण निर्माण गरिरहेको छ ।
बालबालिकालाई बालमैत्री वातावरणमा सिक्न सहयोग गरिरहेको छ । शिक्षकको आत्मविश्वास र व्यावसायिक सन्तुष्टि बढाइरहेको छ । सबैभन्दा महत्वपूर्ण कुरा, शिक्षामार्फत् कर्मठ, सिर्जनशील, जिम्मेवार र कर्तव्यनिष्ठ नागरिक उत्पादन गर्ने आधार तयार गरिरहेको छ ।

सकारात्मक अनुशासनको अभ्यासले मेरो सोंचाइमै परिवर्तन ल्यायो । ‘यो व्यवहार कसरी रोक्ने ?’ भन्ने सोंचबाट ‘यो विद्यार्थीलाई अहिले साँच्चै के चाहिएको छ ?’ भन्ने सोंचतर्फ जान सिकायो । त्यसैले, आज मेरो कक्षाकोठा शान्त छ, विद्यार्थीसँगको मेरो सम्बन्ध बलियो छ र सबैभन्दा महत्वपूर्ण कुरा, मेरा विद्यार्थीहरूले मबाट डराएर नियम पालना गर्नुको सट्टा आत्म–नियमन गर्न








