हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसिप (हेल्प)ले एसइइ उत्तीर्ण विद्यार्थीलाई कक्षा ११–१२ पढ्नका लागि यो वर्ष पनि छात्रवृत्ति दिएको छ ।
आइतबार धुलिखेलमा ‘हेल्प पोस्ट–एसइइ स्कलरसिप अवार्ड सेरेमनी २०२६’ समारोह आयोजना गर्दै छात्रवृत्ति वितरण गरिएको हो ।
सन् २०१० देखि शुरु छात्रवृत्ति कार्यक्रमलाई हेल्पले निरन्तरता दिँदै यो वर्ष ७३ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको हो । जसमा ६० प्रतिशत छात्राले छात्रवृत्ति पाएका छन् ।
छात्रवृत्तिस्वरुप प्रतिविद्यार्थी ५० हजारदेखि ७५ हजार रुपियाँसम्म उपलब्ध गराइएको छ ।
छात्रवृत्ति पाउनेमा सिन्धुपाल्चोकदेखि हुम्ला, बझाङ तथा मधेशका विद्यार्थीसम्म रहेका छन् । देशभरिका सातै प्रदेशका १७ जिल्लाबाट २०२ जनाले छात्रवृत्तिका लागि आवेदन दिएका थिए । १६ वर्षको अवधिमा हेल्पले जम्मा ८२० जनालाई छात्रवृत्ति दिइसकेको छ ।
हेल्पले छात्रवृत्ति छनौट समितिमार्फत् आवेदक विद्यार्थीको लिखित र अन्तर्वार्ता लिई छात्रवृत्तिमा छनौट गरेको जनाएको छ । जेहेन्दार, भूगोल तथा सामाजिक रुपमा पछाडि पारिएका समुदायका र आर्थिक रुपमा कमजोर तर भविष्यप्रति दृढ सपना साँचेका विद्यार्थीलाई हेल्पले छात्रवृत्ति दिँदै आएको छ ।
‘तपाईँहरुलाई कुनै दया गरेर छात्रवृत्ति दिइएको होइन, तपाईँहरुकै क्षमता प्रस्तुतिका आधारमा छनौटमा पर्नुभएको हो,’ हेल्पका को–फाउण्डर तथा डिरेक्टर अफ स्ट्राटेजिक एण्ड पार्टनरसिप जिमी लामाले समारोहमा विद्यार्थीहरुलाई भने, ‘तपाईँहरुको ठूलो आवश्यकतामा हेल्पको यो सानो प्रयास मात्र हो ।’
हेल्पको छात्रवृत्तिका कारण चिकित्सक, शिक्षक, इञ्जिनियरलगायत विभिन्न क्षेत्रमा आफ्नो करियर बन्न सकेको लाभान्वित विद्यार्थीले सुनाए । हेल्पकै छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएकी डा. कञ्चन गुरुङ हाल वीर अस्पतालमा कार्यरत चिकित्सक हुन् । उनले भनिन्, ‘म अहिले जुन हैसियतले उभिएकी छु, मलाई पहिलो अवसर दिने हेल्प संस्थालाई जहिल्यै सम्झन्छु ।’
हेल्पले छात्रवृत्ति प्रदान गर्नुका साथै विद्यालय शिक्षाको आधारभूत तहको जग बलियो बनाउन विभिन्न पालिकाहरुसितको सहकार्यमा ‘साथी’ शिक्षक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । छात्रवृत्ति वितरण समारोहमा ती पालिकाका प्रमुखहरु पनि सहभागी थिए । साथी शिक्षक कार्यक्रम सञ्चालन भइरहेको पालिकामध्ये पाँचपोखरी थाङपाल गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका अध्यक्षहरुले छात्रवृत्ति समारोहलाई सम्बोधन गरे ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमनले हेल्पको छात्रवृत्तिले आर्थिक विपन्नतामा रहेका विद्यार्थीको पढ्ने सपना साकार पार्न मद्दत पुग्ने बताए ।
उनले भने, ‘विद्यार्थी जेहेन्दार भएर मात्र पुग्दो रहेनछ । उच्च शिक्षा पढ्न मार्कसिटको नम्बर मात्र नापिन्न, कलेजहरुमा बा–आमाको आर्थिक हैसियत पनि नापिन्छ । त्यत्तिबेला विद्यार्थीलाई सबभन्दा ठूलो पीडा हुन्छ । त्यहीँ पीडालाई कम गर्न हेल्प छात्रवृत्तिले सहयोग पुगेको देख्छु ।’ उनले विद्यार्थीहरुलाई सबैले एउटै लक्ष्य नबोक्न परामर्श दिए । ‘सबै मान्छे डाक्टर, इञ्जिनियर र पाइलट हुनु पर्छ भन्ने छैन । पहिला आफ्नो सपनाप्रति दृढ हुनुहोस् अनि अघि बढ्नोस् ।’
पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टाँसी लामाले विद्यालयहरुले ‘एक्सिलेन्ट टिचर’ पाउन नसकिरहेको अवस्थामा अब्बल शिक्षक बन्ने लक्ष्य लिन पनि विद्यार्थीलाई सुझाए ।
हेल्पका अध्यक्ष आशिष श्रेष्ठले जिन्दगीमा असफलता र हार धेरै हुने हुँदा त्यसलाई जितमा बदल्न दृढता चाहिने बताए ।
कार्यक्रममा हेल्प छात्रवृत्ति छनौट समितिकी संयोजक तेजश्वी कार्की, भोटेनाम्लाङ माध्यमिक विद्यालय सिन्धुपाल्चोकका प्रधानाध्यापक गोपीकृष्ण पराजुली, यसपालि छात्रवृत्ति पाउने विद्यार्थीका तर्फबाट बझाङकी रोजिताकुमारी रावललगायतले सम्बोधन गरेका थिए ।
हेल्पले छात्रवृत्ति समारोहअघि धुलीखेलमा दुई दिने ‘थ्रि ई’ क्याम्प आयोजना गरेको थियो । ‘थ्रि ई’ अर्थात् इन्गेज, एक्सप्लोर र इमर्जको अवधारणामा क्याम्प सम्पन्न गरिएको थियो ।










