विचार/तर्कविशेष

शिक्षा उमेरले होइन, इच्छा शक्तिले सिक्छ : प्रेरणादायी कथा


शिक्षा लिन र ज्ञान आर्जन गर्न उमेरले कहिल्यै छेक्दैन भन्ने जीवन्त र प्रगाढ उदाहरण हो, काठमाडौंको नक्सालस्थित ऐतिहासिक नन्दीरात्री माध्यमिक विद्यालय । घडीको सुइँले जब बेलुकीको ठिक पाँच बजाउँछ, देशैभरिका धेरै विद्यालयका कक्षाकोठा र प्राङ्गणहरू सुनसान बन्न थाल्छन् । दिनभरिको कोलाहल बिस्तारै शान्त हुन्छ र विद्यालयका भवनहरू अर्काे बिहानीको सुनौलो पर्खाइमा निदाउँछन् तर नन्दीरात्री विद्यालयको कथा ठिक यसको विपरित छ । पाँच बजेको घण्टीसँगै यो विद्यालय नयाँ सपना र अदम्य उत्साह बोकेका आँखाहरूको उपस्थितिले एकाएक जीवन्त, ब्युँझिएको र गुञ्जायमान बन्न पुग्छ । यहाँ उमेरको कुनै सीमा छैन, न त यहाँ कुनै सामाजिक बन्धन नै छ । साँचो इच्छाशक्ति र सिक्ने तिर्खा भएमा जुनसुकै उमेरमा पनि शिक्षाको देदिप्यमान उज्यालो प्राप्त गर्न सकिन्छ भन्ने दृढ विश्वास बोकेर यहाँका विद्यार्थीहरू हरेक साँझ कक्षाकोठाको ढोका ढकढक्याउन आइपुग्छन् । दिनभरिको हतारो, आर्थिक गर्जाे टार्ने दौडधुप, कामको थकाइ र अनगिन्ति पारिवारिक जिम्मेवारीलाई थाती राख्दै नन्दीरात्रीमा आइपुग्ने आँखाहरूमा उत्साहको उज्यालो तिर्खा देखिन्छ ।

नेपाली समाजमा अझै पनि ‘पढ्ने लेख्ने एउटा निश्चित उमेर हुन्छ, उमेर ढल्केपछि दिमागले काम गर्दैन’ भन्ने संकुचित र परम्परागत धारणाको जरा गाडिएको छ । तर, नन्दीरात्री विद्यालयमा पाइला टेक्नेबित्तिकै यो सामाजिक भ्रम पूर्ण रूपमा परास्त हुन्छ । शिक्षा र ज्ञान प्राप्तिका लागि उमेर कहिल्यै पनि तगारो बन्न सक्दैन भन्ने जीवन्त प्रमाण यहाँका प्रत्येक विद्यार्थीका आँखाहरूमा चम्किरहेको आत्मविश्वासले दिन्छ ।

नन्दीरात्रीमा कक्षा ६ देखि १२ सम्म नियमित रूपमा पठनपाठन हुन्छ । गौरवको कुरा, यहाँका विद्यार्थीहरू केवल निश्चित उमेर समूहका किशोर–किशोरी होइनन् । उमेरमा विविधता भएका, एउटै कक्षाकोठामा, एउटै बेञ्चमा कोही सरकारी वा निजी कार्यालयमा जागिर गर्ने कर्मचारी भेटिन्छन्, कोही घरको चुल्होचौको र परिवारको हेरचाह भ्याएर हतार–हतार आएका गृहिणी, कोही स–साना व्यवसायी त कोही दिनभरि ईँट्टा, सिमेन्ट, बालुवा र श्रमसँग आफ्नो पसिना साटेर आएका श्रमजीवी श्रमिकहरू । कतिपय कक्षाको दृश्य त अझ रोचक र भावुक बनाउने खालको हुन्छ, जहाँ आमाबुबा र छोराछोरी वा सासू र बुहारी अर्थात् एकैघर परिवारका सदस्यसमेत सँगै बसेर सहपाठीका रूपमा एउटै उद्देश्य बोकेर किताबका पानामा हेरिरहेका भेटिन्छन् । उमेर, पेशा, वर्ग र पारिवारिक पृष्ठभूमि फरक–फरक भए पनि उनीहरू सबैको एउटै साझा ज्ञानको मन्दिर हो, नन्दीरात्री विद्यालय । यस विद्यालयले समाजमा एउटा बलियो भाष्य स्थापित गरिदिएको छ । ज्ञान प्राप्तिको अनन्त यात्रामा उमेर केवल एउटा संख्या हो । शिक्षा उमेरले होइन, इच्छाशक्तिले सिक्छ ।

नन्दीरात्री विद्यालयको कक्षाकोठाभित्र पस्ने हो भने त्यहाँका प्रत्येक अनुहार पछाडि संघर्ष, आँशु, सामाजिक अन्याय र क्षतविक्षत भएका सपनाहरूको एउटा छुट्टै पाना लुकेको भेटिन्छ । यहाँ आइपुगेका विद्यार्थीहरूका विगत फरक–फरक पृष्ठभूमिका छन्, तर ती विगतका पीडा र सामाजिक–आर्थिक बाध्यात्मक परिस्थितिहरू भने मिल्दा देखिन्छन् ।

  • आर्थिक अभावको दुष्चक्रः कतिपय विद्यार्थीहरू यस्ता छन् जसले बाल्यकालमा कापी–कलम किन्न नसक्ने र विद्यालयको सामान्य शुल्कसमेत तिर्न नसक्ने चरम आर्थिक विपन्नताको सामना गरे । गरिबीले उनीहरूलाई विद्यालयको मुख देख्न दिएन वा प्राथमिक तह पार नगर्दै किताबले भरिएको झोला बिसाएर श्रमको गह्रौँ भारी बोक्न बाध्य बनायो ।
  • सामाजिक र सांस्कृतिक बन्धन (बालविवाहको पीडा) : विशेष गरी महिला विद्यार्थीहरूको हकमा हाम्रो समाजको पुरातन र संकुचित सोंचको गहिरो चोट प्रष्ट देखिन्छ । कतिपयको कलिलो उमेरमै बालविवाह भयो, जसका कारण पढ्ने तीब्र रहर हुँदाहुँदै पनि उनीहरूको उर्बर जीवन घरको चौघेरा, भान्छाको धुवाँ जिम्मेवारीमै सीमित हुन पुग्यो । हिजो अक्षर चिन्ने किताब र कपि बोक्ने उमेरमा उनीहरूका हातमा चुरा र सिन्दूर थमाइयो तर मनभित्रको पढ्ने भोक कहिल्यै मेटिएन ।
  • पारिवारिक जिम्मेवारी र बाध्यताको रोजगारीः कतिपयले सानै उमेरमा परिवारको जेठो सन्तान वा अभिभावकको हैसियतले घरको आर्थिक भार बोक्नुपर्यो । दुई छाक टार्न र साना भाइबहिनीको ओठको हाँसो जोगाउनका लागि आफ्ना रहरलाई तिलाञ्जली दिँदै उनीहरू बाल्यकालमै श्रमबजारको कठोर मैदानमा होमिनुपर्यो ।

विगतमा जे–जस्ता बाध्यात्मक र कहालीलाग्दा परिस्थितिहरू भएपनि, वर्तमानमा उनीहरूको एउटै दृढ संकल्प र समान सपना छ, अब जुनसुकै हालतमा आफ्नो पढाइ पूरा गर्ने र जीवनलाई एउटा नयाँ सकारात्मक दिशा दिने । हिजो परिस्थितिसँग हारेर छोडेको शिक्षालाई आज उनीहरू आफ्नै पसिना र दृढ इच्छाशक्तिको बलमा पुनर्स्थापित गर्दैछन् ।

नेपालको शैक्षिक इतिहासमा यो विद्यालय एउटा धरोहरका रूपमा खडा छ । वि.सं. २००४ सालमा स्थापना भएको यस ऐतिहासिक नन्दीरात्री माध्यमिक विद्यालयले उपत्यकाभित्रका मात्र नभई देशभरका श्रमजीवी, बीचैमा पढाइ छोड्न बाध्य सम्पन्न र पाको उमेरका नागरिकका लागि रात्री विद्यालय सञ्चालन गरेर वैकल्पिक समयमा पनि शिक्षा दिँदै शैक्षिक चेतनाको जग बसालेको हो । यसले इतिहासको स्थापनाकालदेखि नै निरन्तर रूपमा ज्ञानको बत्ति बालिरहेको छ, जुन समयमा सर्वसाधारणका लागि शिक्षा सहज उपलब्ध थिएन ।

यस प्रयासलाई नेपालको कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूले पनि बलियो जग प्रदान गरेका छन् :

  • नेपालको संविधान (२०७२) को धारा ३१ः यस धाराले प्रत्येक नेपाली नागरिकलाई शिक्षाको मौलिक हक प्रत्याभूत गरेको छ ।
  • Lifelong Learning (आजीवन सिकाइ) भन्नाले जन्मदेखि जीवनको अन्त्यसम्म निरन्तर रूपमा सिक्ने प्रक्रिया हो । यो औपचारिक विद्यालय शिक्षामा मात्र सीमित नभई अनौपचारिक र अनौपचारिकेतर सिकाइलाई पनि समेट्छ ।
  • अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को दृष्टिकोणः आईएलओका बालश्रम तथा युवा श्रम बजारसम्बन्धी प्रतिवेदनहरूले आर्थिक कारणले पढाइ छोडी श्रममा लाग्न बाध्य भएका व्यक्तिहरूका लागि शिक्षाको अपरिहार्यतालाई दृढताका साथ पुष्टि गरेको छ ।
  • शिक्षा तथा मानव स्रोत विकास केन्द्र (हालको शिक्षा विभाग) को नीतिः नेपाल सरकारको यो निकायले देशमा जीवनपर्यन्त सिकाइ (Lifelong Learning) का लागि राष्ट्रिय नीति, बजेट र कार्यक्रमहरू तर्जुमा गर्दै आएको छ । हाम्रो नेपाली समाजमा अझै पनि ‘पढ्ने लेख्ने एउटा निश्चित उमेर हुन्छ, उमेर ढल्केपछि दिमागले काम गर्दैन’ भन्ने संकुचित र परम्परागत धारणाको जरा गाडिएको छ । तर, नन्दीरात्री विद्यालयमा पाइला टेक्नेबित्तिकै यो सामाजिक भ्रम पूर्ण रूपमा परास्त हुन्छ । शिक्षा र ज्ञान प्राप्तिका लागि उमेर कहिल्यै पनि तगारो बन्न सक्दैन भन्ने जीवन्त प्रमाण यहाँका प्रत्येक विद्यार्थीका आँखाहरूमा चम्किरहेको आत्मविश्वासले दिन्छ । भनिन्छ, संसारमा सिकाइ जीवनपर्यन्त चल्ने प्रक्रिया हो । बाल्यकालमा विविध घरायसी, आर्थिक वा सामाजिक कारणले विद्यालय जान नपाएका वा बीचैमा पढाइ छोड्न बाध्य भएकाहरूका लागि यस्तो विद्यालय ज्ञानको ढोका खोल्ने महत्वपूर्ण शैक्षिक केन्द्र सावित भएको छ ।

दिनभरी शारीरिक तथा मानसिक श्रम गरेर, काँधमा जिम्मेवारीको पहाड बोकेर बेलुकीको समयमा कापी र कलम समातेर बेञ्चमा बस्नु चानचुने कुरा हुँदै होइन । यसका लागि सामान्य मानिसमा हुनेभन्दा कयौँ गुणा बढी इच्छाशक्ति, साहस र अदम्य उत्साहको आवश्यकता पर्दछ, जुन यहाँका विद्यार्थीहरूमा प्रष्टै देख्न सकिन्छ । अझ गर्वको कुरा त के छ भने डिजिटल प्रविधिको यो आधुनिक युगमा, पाको उमेरका विद्यार्थीहरू पनि कम्प्यूटर, इन्टरनेट र आधुनिक शैक्षिक प्रविधिसँग जोडिँदै आफ्नो क्षमता अभिवृद्धि गरिरहेका छन्, जुन नयाँ पुस्ताका लागि समेत अनुकरणीय छ ।

विद्यार्थीहरूमा थकित शरीर, निद्रा, समयको उचित व्यवस्थापन र पारिवारिक जिम्मेवारीको ठूलो मनोवैज्ञानिक दबाब हुन्छ । दिनभरीको कामले लखतरान भएका विद्यार्थीहरूलाई कक्षामा एकाग्र गराउनु, असमान उमेरका विविध विद्यार्थीहरूलाई एकैसाथ शिक्षा दिनु शिक्षकहरूका लागि पनि उत्तिकै चुनौतीपूर्ण हुन्छ । तर पनि अनुभवि शिक्षकहरूको मेहनत मार्गदर्शनले विद्यार्थीहरू लाभान्वित भएका छन् ।

यस विद्यालयले देशको साक्षरता दर बढाउन, नागरिकलाई सचेत र जागरुक बनाउन तथा उनीहरूलाई आत्मनिर्भर बन्नका लागि निर्वाह गरेको भूमिका अतुलनीय छ । यदि राज्य र स्थानीय सरकारले रात्री विद्यालयहरूलाई थप प्रोत्साहन, विशेष छात्रवृत्ति र आधुनिक प्रविधि दिने हो भने यसले समाजको तल्लो तहसम्म ठूलो रूपान्तरण ल्याउने सम्भावना बोकेको छ । यी विद्यार्थीहरूले हाम्रो सिङ्गो समाजलाई एउटा गहिरो, निष्कपट र शाश्वत सत्य सिकाउँछन् सिकाइको कुनै उमेर हुँदैन । जसले सिक्न चाहन्छ, उसका लागि हरेक दिन र हरेक क्षण एउटा नयाँ सुरुवात हो ।

दिनभरी काम गरेर लखतरान भएको शरीर र आँखामा भएको थकाइलाई बिर्सिएर बेलुकी विद्यालय पुग्ने उनीहरूको लगनशीलता, कडा अनुशासन, अदम्य आत्मविश्वास, कौतुहलता समाजका लागि प्रेरणाको सबैभन्दा ठूलो र लाभकारी स्रोत बनेको छ । राज्य र अभिभावकले सबै सुख–सुविधा र अनुकूल वातावरण दिँदा पनि पढाइलाई बेवास्ता गर्ने, कक्षाकोठा बङ्क गर्ने र कुलतमा फस्ने आधुनिक युवा पुस्ताका लागि यी ‘साँझका यात्रीहरू‘ एउटा गतिलो र आँखा खोलिदिने जीवन्त पाठ हुन् ।

वास्तवमा, नन्दीरात्री विद्यालय अक्षर चिनाउने वा परीक्षा उत्तीर्ण गराउने एउटा भौतिक स्थान मात्र होइन, यो त मानिसका अधूरा र अधूरै छोडिएका सपनाहरू पूरा गर्ने पवित्र थलो हो, समाज र परिस्थितिले भत्काइदिएको आत्मविश्वासलाई पुनः फर्काउने ऊर्जा केन्द्र हो । जीवनलाई अन्धकारको सुरुङबाट फेरि उज्यालोतर्फ डोर्याउने एउटा सुन्दर यात्राको सुखद सुरुवात हो । त्यसैले, यस्ता वैकल्पिक र रात्री विद्यालयहरूको भौतिक पूर्वाधार सुधार गर्न, यिनीहरूलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउन र कामकाजी विद्यार्थी अनुकूल वातावरण निर्माण गर्न राज्य, स्थानीय सरकार र नागरिक समाजले विशेष ध्यान दिनु अपरिहार्य भइसकेको छ । शिक्षा साँच्चै नै उमेरले होइन, केवल इच्छाशक्तिले जित्छ भन्ने कुराको साक्षी नन्दीरात्री विद्यालय सधैँ बनिरहोस् र ज्ञानको यो मन्दिर सधैँ बलिरहोस् ।

ढिलो हुनु असफलता होइन, प्रयास नै नगर्नु मात्र वास्तविक असफलता हो । शिक्षा र ज्ञान प्राप्तिका लागि कहिल्यै पनि ढिलो हुँदैन, किनकि ज्ञानले मानिसको उमेर होइन, उसको भित्री इच्छाशक्ति मात्र हेर्छ । विद्यालयको ढोका उमेरले कहिल्यै बन्द गर्दैन, यसलाई त केवल मनको चाहनाले खोल्छ । आउनुहोस्, परिस्थितिले चुँडालेका अधूरा सपनाहरूलाई फेरि पढाइसँग जोडौं । किनकि, सिकाइ कुनै निश्चित गन्तव्य होइन, यो त जीवनभर निरन्तर चल्ने एउटा सुन्दर र अनन्त यात्रा हो ।

(लेखक, नन्दीरात्री मावि नक्साल काठमाडौंकी शिक्षक हुनुहुन्छ ।)

 

Facebook Comments

सकारात्मक अनुशासनः मेरो कक्षाकोठाको अनुभव

Previous article

भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोविलिटी एक्स्पो २०२६’, पहिलो दिनमै २९ हजारभन्दा बढीले गरे अवलोकन

Next article