प्रमुख समाचारसमाचार

शिक्षामन्त्रीद्वारा राजीनामा, प्रधानमन्त्रीकै असहयोग र शिक्षक आन्दोलन मुख्य कारक


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आज अपरान्ह राजीनामा दिएकी छन् ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै राजधानीकेन्द्रित शिक्षक आन्दोलन चलिरहेकै बेला शिक्षामन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएकी हुन् । शिक्षकहरुले राखेका २४ बुँदे मागमा ऐन जारी गर्नुपर्ने मात्र नभई ऐनविना पनि सरकारले शिक्षकको मान–मर्यादा कायम गर्न तथा सेवा–सुविधा बढाउन सकिने मुद्दाहरु आन्दोलनमार्फत् उठाउँदै आएका छन् ।

शिक्षामन्त्री भट्टराई शुरुदेखि नै शिक्षकहरुको मागप्रति नरम र सकारात्मक रहेकी थिइन् । उनले ऐन जारी गर्न नसके राजीनामा दिने अभिव्यक्ति सार्वजनिक रुपमा प्रकट गर्दै आएकी थिइन् ।

आन्दोलनरत शिक्षकहरुको साझा संस्था नेपाल शिक्षक महासंघलाई पटक–पटक वार्तामा बोलाएकी मन्त्री भट्टराईले ऐनबाहेक मन्त्रिस्तर र मन्त्रिपरिपरिषदबाट गर्न सकिने हलका सम्बन्धमा प्रधान्मन्त्री र अर्थमन्त्रीसित छलफल पनि गरेकी हुन् । तर, प्रधानमन्त्री र अर्थमन्त्री दुबै सकारात्मक नदेखिनु तथा शिक्षकहरु पनि आन्दोलनबाट पछि हट्न टसको मस नहुनुले मन्त्री भट्टराईले राजीनामा दिनुपरेको बताइएको छ । मन्त्री भट्टराईले शिक्षक आन्दोलनको २० औं दिनमा राजीनामा दिनुपर्यो ।

‘कारण परीक्षासँग पनि गाँसिएको छ’

शिक्षामन्त्रीले राजीनामा दिनुलाई राष्ट्रिय परीक्षा बोर्डबाट लिइएको र अब लिइने परीक्षासँग पनि सम्बन्धित रहेको स्रोत बताउँछ । यही ११ वैशाखदेखि कक्षा १२ को परीक्षा हुँदैछ । सो परीक्षाका निम्ति परीक्षाकेन्द्रमा खट्न र सघाउन शिक्षकहरुलाई बैठकमा बस्न बोर्डले आह्वान पटक–पटक गरेको थियो । तर, शिक्षकहरुले त्यसलाई बहिष्कार गर्दै आएका छन् । त्यसो त, गत चैतमा लिइएको एसइइ परीक्षाको उत्तरपुस्तिका पनि शिक्षकहरुले जाँचेका छैनन् ।

लिइसकिएको परीक्षाको उत्तरपुस्तिका परीक्षण गराउन नसक्नु, नयाँ शैक्षिक शत्रमा शिक्षकहरु शैक्षिक हड्तालमा उत्रिएपछि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान रोकिनु र कक्षा १२ को परीक्षा पनि तोकिएको मितिमा हुने संकेत नहुनुले शिक्षामन्त्रीलाई नैतिक दबाब परेको शिक्षा मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।

‘आफूले भनेका कुरा लागू नहुनु अनि मुख्य काम पनि गर्ने अवस्था नबन्नुले शिक्षामन्त्री तनाबमा हुनुहुन्थ्यो,’ ती अधिकारीले भने ।

Facebook Comments

शिक्षक महासंघलाई राष्ट्रिय परीक्षा बोर्डको अपीलः नतिजा प्रकाशन ढिलाइले विद्यार्थीको महत्वपूर्ण अवसर गुम्न सक्छ 

Previous article

शिक्षक दरबन्दी पुनरावलोकन भएन सार्वजनिक, दरबन्दी घटाउन सुझाब दिएको खुलासा

Next article