नव नियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले आफूलाई किताब बेच्दाबेच्दै अपर्झट मन्त्री बनाइदिएकाले शिक्षामा तत्काल के गर्ने भन्ने विषयमा केही भन्न नसक्ने तर विज्ञहरुको सुझाब लिएर सकेसम्म छिटोछरितो काम गर्ने बताएका छन् ।
सोमबार राष्ट्रपति भवनमा सपथ ग्रहण गरेपछि कार्यभार सम्हाल्न मन्त्रालय गएका मन्त्री पुनलाई ‘शिक्षा सुधार्न तपाईँका योजना के–के छन् ?’ भन्ने प्रश्न पत्रकारहरुले राखेपछि उनले भने, ‘अहिले नै यो गर्छु भनेर भन्न सक्दिनँ । आफू जान्ने भएर भन्दा पनि विज्ञहरुको सुझाब लिएर शिक्षामा सकेसम्म छिटोछरितो काम गर्नेछु ।’
आविष्कार केन्द्रका वैज्ञानिकसमेत रहेका मन्त्री पुनले आफ्नो प्राथमिकता विज्ञान तथा प्रविधि र नवप्रवर्तनमा रहने सुनाए । साथै, विज्ञानमा शिक्षा पनि जोडिएको मन्त्रालय भएकाले राम्रा विज्ञहरुको सुझाबबाट काम गरिने उनको स्पष्टोक्ति थियो ।
‘सेवा–सुविधा केही चाहिँदैन, मन्त्रालयमै बस्ने हो, त्यही ओच्छ्यान लाउने हो ।’ उनले थपे, ‘मन्त्रालयभित्रै किचन होला, त्यहीँ पकाएर खाने, त्यहीँ सुत्ने हो ।’
निकै फरासिला र रमाइलो शैलीमा प्रस्तुत भएका मन्त्री पुनलाई अरु मन्त्रीले झैँ सेवा–सुविधा छोड्नुहुन्छ कि भनेर सोधिएको थियो । उनको जवाफ थियो, ‘सेवा–सुविधा केही चाहिँदैन, मन्त्रालयमै बस्ने हो, त्यहीँ ओच्छ्यान लाउने हो ।’ उनले थपे, ‘मन्त्रालयभित्रै किचन होला, त्यहीँ पकाएर खाने, त्यहीँ सुत्ने हो ।’
पत्रकारहरुले फेरि प्रश्न गरे, ‘तपाईँ मन्त्री बन्दिनँ भन्नुहुन्थ्यो नि !’ मन्त्री पुनको जवाफ थियो, ‘म औपचारिक रुपमा मात्र मन्त्री भएको हो, व्यवहारिक रुपमा मन्त्री होइन । मन्त्री बन्दै बन्दिनँ भन्ने सोच थियो तर परिस्थिति आएपछि बनेँ ।’
निःशुल्क शिक्षा गर्न सक्नुहुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘म मन्त्री हुनेबित्तिकै कसरी निःशुल्क बनाउने, म भगवान हो र ? पत्रकारहरु धेरै नपेल्नोस् न !’ मन्त्री पुनको जवाफले पत्रकारबीच हाँसो गुञ्जिएको थियो ।

‘सेवा–सुविधा केही चाहिँदैन, मन्त्रालयमै बस्ने हो, त्यही ओच्छ्यान लाउने हो ।’ उनले थपे, ‘मन्त्रालयभित्रै किचन होला, त्यहीँ पकाएर खाने, त्यहीँ सुत्ने हो ।’ 








