२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा २९ दिनमै सार्वजनिक भएको छ ।
परीक्षा दिएको एक महिना नपुग्दै सार्वजनिक प्रकाशित नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ अर्थात् उत्तीर्ण भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशन गरेको नतिजामा ग्रेडेड हुनेको संख्या गत वर्षको भन्दा ४.१७ प्रतिशतले वृद्धि भएकोे छ । २०८१ मा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।
बोर्डका अनुसार यो पटकको परीक्षामा सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) प्राप्त गर्ने ४८ हजार ३ सय ९२ जना विद्यार्थी रहेका छन् । यस्तै, ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी ३.६० देखि ४.०० जीपीए ल्याउनेको संख्या रहेको छ ।
जीपीए ३.२० देखि ३.६० सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ । यसैगरी, २.८० देखि ३.२० सम्म जीपीए ल्याउनेमा ९४ हजार २२२ जना विद्यार्थी रहेका छन् । २.४० देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ५५ हजार ९७७ रहेको छ । जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थी ५ हजार १९० रहेका छन् ।
बोर्डका अनुसार १.६० देखि २.०० जीपीए प्राप्त गर्ने विद्यार्थी भने ७ जना रहेका छन् ।
प्रदेशगत नतिजाअनुसार वर्गीकृत अर्थात् ग्रेडेड हुनेमा ५० हजार ८९० (कोशी), ४४ हजार ५९२ (मधेश), ७७ हजार ११३ (बागमती), २६ हजार ५५० (गण्डकी), ४४ हजार २५६ (लुम्बिनी), १९ हजार ९५ (कर्णाली) र २१ हजार ६६४ (सुदूरपश्चिम) जना विद्यार्थी रहेका छन् ।
विगतका वर्षहरूमा तीन महिनामा नतिजा सार्वजनिक गर्ने गरिन्थ्यो । तर, सरकारले एक महिनामै नतिजा सार्वजनिक गर्न निर्देशन दिएपछि परीक्षा बोर्डले २९ दिनमै प्रकाशन गरेको हो ।
परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरेकाले छिटो नतिजा सार्वजनिक गर्न सम्भव भएको अधिकारीहरु बताउँछन् ।
‘एनजी’ पाउनेमा झण्डै डेढ लाख विद्यार्थी
परीक्षामा १ लाख ४६ हजार ५०७ विद्यार्थी अवर्गीकृत अर्थात् ‘नन ग्रेडेड’ (एनजी) भएका छन् । नन ग्रेडेड हुनु अनुत्तीर्णसरह हो । जसमा ३१ हजार ७२५ (मधेश प्रदेश), २१ हजार ३६६ (कोशी प्रदेश), २१ हजार ७०४ (बागमती प्रदेश), ९ हजार ९४३ (गण्डकी प्रदेश), २७ हजार ८९३ (लुम्बिनी प्रदेश), १३ हजार २४१ (कर्णाली प्रदेश) र २० हजार ६३५ विद्यार्थी (सुदूरपश्चिम प्रदेश) का विद्यार्थी नन् ग्रेडेड भएका छन् ।
पूरक परीक्षा असार १ देखि ९ गतेसम्म
बोर्डले अनुत्तीर्ण भएका विद्यार्थीका लागि पूरक परीक्षाको पनि मिति तोकेको छ । असार १ देखि ९ गतेसम्मको लागि पूरक परीक्षाको समय तोकिएको छ । साथै, नतिजामा चित्त नबुझेमा बोर्डले आउँदो १ जेठदेखि ७ गतेसम्मको लागि पुनर्याेगको समय दिएको छ ।










