विद्यार्थीले नपढे शिक्षकले नपढाएको ठानिन्छ, विद्यार्थी अनुत्तीर्ण भए सिङ्गो विद्यालय र शिक्षकको सामर्थ्यमाथि नै प्रश्नचिह्न खडा गरिन्छ । अझ प्रचलित भनाइ नै छ, ‘शिक्षक उडे विद्यार्थी दौडन्छन्, शिक्षक दौडे विद्यार्थी हिँड्छन्, शिक्षक हिँडे विद्यार्थी बस्छन्, शिक्षक बसे विद्यार्थी सुत्छन् र शिक्षक सुते विद्यार्थीको चेतना नै मर्छ ।’
यो गहकिलो भनाइले शिक्षकलाई सधैँ ऊर्जावान्, गतिशील र सक्रिय रहन निरन्तर दबाब दिइरहन्छ । तर, वर्तमान आधुनिक समाज र बदलिँदो जीवनशैलीका बीच के यो आदर्श वाक्यको सम्पूर्ण भार केवल शिक्षकको काँधमा बिसाउनु न्यायसंगत हुन्छ ? आजको शैक्षिक यथार्थको धरातलमा उभिएर हेर्ने हो भने यो प्रश्नले एउटा गम्भीर र मार्मिक बहसको माग गर्दछ ।
मनोविज्ञान र सिकाइको सर्वमान्य नियम भन्छ— कुनै पनि कुरा सिक्नका लागि सबैभन्दा पहिले सिकारु स्वयं मानसिक र शारीरिक रूपमा तयार हुनुपर्छ । भोक नलागेको मानिसलाई जबरजस्ती अमृत खुवाउन सकिँदैन र ब्युँझिरहेको मानिसलाई ब्युँझाउन पनि सकिन्न । आजका अधिकांश विद्यार्थीमा यही ‘सिकाइ तत्परता’ को चरम अभाव देखिन्छ । आधुनिक युगको वरदान भनिएको प्रविधि आजका बालबालिकाका लागि एउटा गम्भीर अनियन्त्रित लत बनेको छ । डिजिटल पर्दाको रंगीन दुनियाँ र सामाजिक सञ्जालको असीमित चकाचौंधमा हराएका विद्यार्थीहरूको परम्परागत सिक्ने, पढ्ने र चिन्तन गर्ने बानी बिस्तारै मर्दै गइरहेको छ ।
आफ्ना व्यक्तिगत पीडा, पारिवारिक समस्या र सामाजिक उपेक्षालाई थाती राखेर विद्यार्थीको भविष्य निर्माणमा अहोरात्र खटिनुपर्ने यो पेशा बाहिरबाट जति सम्मानित देखिन्छ, भित्र उति नै खोक्रो र तनाबग्रस्त बन्दै गएको छ ।
अहिलेका बालबालिकामा भनेको नसुन्ने, अह्राएको नमान्ने र रचनात्मक कुरामा ध्यान नदिने प्रवृत्ति एउटा गम्भीर मानसिक समस्याका रूपमा विकसित भइरहेको छ । सुनाइ, बोलाइ, पढाइ र लेखाइ गरी भाषाका चार सीप मानिन्छन् । कुनै पनि कुरा सिक्नका लागि सुन्नु, बोल्नु, पढ्नु, लेख्नु त पर्छ नै । यसबाहेक आफैँले अभ्यास गर्ने, चिन्तनमनन् गर्ने कुराहरू पनि आउँछन् । यस्ता कुरातर्फ विद्यार्थीको ध्यानै नभएपछि शिक्षक मात्रै सक्रिय भएर सिकाइ सफल हुन सक्दैन ।
आजको कानूनी र मानवीय मूल्यअनुसार विद्यार्थीलाई कुनै पनि बहानामा शारीरिक वा मानसिक यातना दिन पाइँदैन र हुनु हुँदैन पनि । यो नितान्त सकारात्मक कदम हो । तर, यसको अर्को पाटो के भइदियो भने कुनै पनि डर नभएपछि विद्यार्थीमा सिकाइ तत्परता भएन । उचित अनुशासन र नियमनको अभावमा कक्षाकोठा अमर्यादित र अनियन्त्रित बन्ने भयो । शिक्षकले न विद्यार्थीलाई कडा शब्दमा सम्झाउन मिल्छ, न त रिसराग नै देखाउन मिल्छ । कोही अभिभावक आएर भन्छन्, ‘मेरा छोराछोरीलाई कडा गरिदिनुपर्यो ।’ कोही भन्छन्, ‘मेरा छोराछोरीलाई माया गरेर सिकाइदिनुपर्यो ।’ घरमा भनेको टेरेन रे ! मोबाइल चलाइरह्यो रे ! तिनै विद्यार्थीले कक्षामा हैरान बनाइरहेको गुनासोचाहिँ शिक्षकले कोसँग गर्ने ? बिचरा शिक्षक ! सदैव शान्त, सौम्य र सहिष्णु देखिनुपर्ने आदर्शको बन्धनमा बाँधिएका छन् ।
एकजना विद्यार्थीले शिक्षकलाई यसरी चिठी पठाएको कुरा सामाजिक सञ्जालमा पढिएको थियो, ‘सर, मलाई जसरी पनि पास गराइदिनुहोला । यदि मलाई पास गराइदिनुभएन भने सरको बाइक नं मलाई थाहा छ । मेरो साथी टिपर चालक हो ।’ यो सत्य हुन पनि सक्छ ।
भित्रभित्रै मन जलिरहेको भएपनि ओठमा कृत्रिम मुस्कान सजाएर कक्षाकोठामा छिर्नु आजका शिक्षकको बाध्यता हो । आफ्ना व्यक्तिगत पीडा, पारिवारिक समस्या र सामाजिक उपेक्षालाई थाती राखेर विद्यार्थीको भविष्य निर्माणमा अहोरात्र खटिनुपर्ने यो पेशा बाहिरबाट जति सम्मानित देखिन्छ, भित्र उति नै खोक्रो र तनाबग्रस्त बन्दै गएको छ । राज्य र समाजले शिक्षकलाई सधैँ कर्तव्यको पाठ त सिकाउँछ तर उसले भोगिरहेको मानसिक अन्तरद्वन्द्व र निराशालाई बुझ्ने प्रयास कहिल्यै गर्दैन ।
यी सबै पाटाहरूलाई गहिरिएर नियाल्दा मनमा एउटा अत्यन्तै मार्मिक र नमीठो विचार पलाउँछ— वर्तमान समयमा शिक्षकले महिनाको अन्त्यमा पाउने तलब उसले गरेको पवित्र प्राज्ञिक सेवा वा ज्ञानको कदरस्वरूप दिइएको पुरस्कार होइन, बरु उसले दिनहुँ कक्षाकोठा र समाजबाट खेप्न सकेको मानसिक तनाबको एउटा सानो क्षतिपूर्ति वा ‘तनाब भत्ता’ मात्रै हो । ज्ञान बाँड्नुको सन्तुष्टिभन्दा पनि दिनभरिको मानसिक थकान र अपमानको बोझ हलुका गर्ने एउटा साधन मात्र बनेको छ त्यो पारिश्रमिक ।
यदि हामी साँच्चिकै शिक्षा प्रणालीमा सुधार चाहन्छौँ भने शिक्षक मात्र सक्रिय बनेको देख्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । विद्यार्थीको सिकाइमा शिक्षकको सक्रियता जति आवश्यक छ, त्यत्तिकै भूमिका अभिभावकको निगरानी र विद्यार्थी स्वयंको इच्छाशक्तिको पनि हुन्छ । शिक्षक पनि हाडछालाकै मानिस हो, उसमा पनि भावना, रिस र तनाब हुन्छन् भन्ने कुरा समाजले मनन् गर्नुपर्छ । जबसम्म शिक्षकलाई चौतर्फी मानसिक तनाबबाट मुक्त गरेर स्वतन्त्र, सम्मानित र भयमुक्त वातावरण प्रदान गरिँदैन, तबसम्म शिक्षाको स्तर सुध्रिन सक्दैन ।
शिक्षकलाई तनाबको भारी बोक्ने भरिया होइन, ज्ञानको दीप प्रज्ज्वलित गर्ने वास्तविक पथप्रदर्शकका रूपमा स्वीकार गरिनु नै आजको मुख्य आवश्यकता हो ।

आफ्ना व्यक्तिगत पीडा, पारिवारिक समस्या र सामाजिक उपेक्षालाई थाती राखेर विद्यार्थीको भविष्य निर्माणमा अहोरात्र खटिनुपर्ने यो पेशा बाहिरबाट जति सम्मानित देखिन्छ, भित्र उति नै खोक्रो र तनाबग्रस्त बन्दै गएको छ ।








