शिक्षा लिन र ज्ञान आर्जन गर्न उमेरले कहिल्यै छेक्दैन भन्ने जीवन्त र प्रगाढ उदाहरण हो, काठमाडौंको नक्सालस्थित ऐतिहासिक नन्दीरात्री माध्यमिक विद्यालय । घडीको सुइँले जब बेलुकीको ठिक पाँच बजाउँछ, देशैभरिका धेरै विद्यालयका कक्षाकोठा र प्राङ्गणहरू सुनसान बन्न थाल्छन् । दिनभरिको कोलाहल बिस्तारै शान्त हुन्छ र विद्यालयका भवनहरू अर्काे बिहानीको सुनौलो पर्खाइमा निदाउँछन् तर नन्दीरात्री विद्यालयको कथा ठिक यसको विपरित छ । पाँच बजेको घण्टीसँगै यो विद्यालय नयाँ सपना र अदम्य उत्साह बोकेका आँखाहरूको उपस्थितिले एकाएक जीवन्त, ब्युँझिएको र गुञ्जायमान बन्न पुग्छ । यहाँ उमेरको कुनै सीमा छैन, न त यहाँ कुनै सामाजिक बन्धन नै छ । साँचो इच्छाशक्ति र सिक्ने तिर्खा भएमा जुनसुकै उमेरमा पनि शिक्षाको देदिप्यमान उज्यालो प्राप्त गर्न सकिन्छ भन्ने दृढ विश्वास बोकेर यहाँका विद्यार्थीहरू हरेक साँझ कक्षाकोठाको ढोका ढकढक्याउन आइपुग्छन् । दिनभरिको हतारो, आर्थिक गर्जाे टार्ने दौडधुप, कामको थकाइ र अनगिन्ति पारिवारिक जिम्मेवारीलाई थाती राख्दै नन्दीरात्रीमा आइपुग्ने आँखाहरूमा उत्साहको उज्यालो तिर्खा देखिन्छ ।
नेपाली समाजमा अझै पनि ‘पढ्ने लेख्ने एउटा निश्चित उमेर हुन्छ, उमेर ढल्केपछि दिमागले काम गर्दैन’ भन्ने संकुचित र परम्परागत धारणाको जरा गाडिएको छ । तर, नन्दीरात्री विद्यालयमा पाइला टेक्नेबित्तिकै यो सामाजिक भ्रम पूर्ण रूपमा परास्त हुन्छ । शिक्षा र ज्ञान प्राप्तिका लागि उमेर कहिल्यै पनि तगारो बन्न सक्दैन भन्ने जीवन्त प्रमाण यहाँका प्रत्येक विद्यार्थीका आँखाहरूमा चम्किरहेको आत्मविश्वासले दिन्छ ।
नन्दीरात्रीमा कक्षा ६ देखि १२ सम्म नियमित रूपमा पठनपाठन हुन्छ । गौरवको कुरा, यहाँका विद्यार्थीहरू केवल निश्चित उमेर समूहका किशोर–किशोरी होइनन् । उमेरमा विविधता भएका, एउटै कक्षाकोठामा, एउटै बेञ्चमा कोही सरकारी वा निजी कार्यालयमा जागिर गर्ने कर्मचारी भेटिन्छन्, कोही घरको चुल्होचौको र परिवारको हेरचाह भ्याएर हतार–हतार आएका गृहिणी, कोही स–साना व्यवसायी त कोही दिनभरि ईँट्टा, सिमेन्ट, बालुवा र श्रमसँग आफ्नो पसिना साटेर आएका श्रमजीवी श्रमिकहरू । कतिपय कक्षाको दृश्य त अझ रोचक र भावुक बनाउने खालको हुन्छ, जहाँ आमाबुबा र छोराछोरी वा सासू र बुहारी अर्थात् एकैघर परिवारका सदस्यसमेत सँगै बसेर सहपाठीका रूपमा एउटै उद्देश्य बोकेर किताबका पानामा हेरिरहेका भेटिन्छन् । उमेर, पेशा, वर्ग र पारिवारिक पृष्ठभूमि फरक–फरक भए पनि उनीहरू सबैको एउटै साझा ज्ञानको मन्दिर हो, नन्दीरात्री विद्यालय । यस विद्यालयले समाजमा एउटा बलियो भाष्य स्थापित गरिदिएको छ । ज्ञान प्राप्तिको अनन्त यात्रामा उमेर केवल एउटा संख्या हो । शिक्षा उमेरले होइन, इच्छाशक्तिले सिक्छ ।
नन्दीरात्री विद्यालयको कक्षाकोठाभित्र पस्ने हो भने त्यहाँका प्रत्येक अनुहार पछाडि संघर्ष, आँशु, सामाजिक अन्याय र क्षतविक्षत भएका सपनाहरूको एउटा छुट्टै पाना लुकेको भेटिन्छ । यहाँ आइपुगेका विद्यार्थीहरूका विगत फरक–फरक पृष्ठभूमिका छन्, तर ती विगतका पीडा र सामाजिक–आर्थिक बाध्यात्मक परिस्थितिहरू भने मिल्दा देखिन्छन् ।
- आर्थिक अभावको दुष्चक्रः कतिपय विद्यार्थीहरू यस्ता छन् जसले बाल्यकालमा कापी–कलम किन्न नसक्ने र विद्यालयको सामान्य शुल्कसमेत तिर्न नसक्ने चरम आर्थिक विपन्नताको सामना गरे । गरिबीले उनीहरूलाई विद्यालयको मुख देख्न दिएन वा प्राथमिक तह पार नगर्दै किताबले भरिएको झोला बिसाएर श्रमको गह्रौँ भारी बोक्न बाध्य बनायो ।
- सामाजिक र सांस्कृतिक बन्धन (बालविवाहको पीडा) : विशेष गरी महिला विद्यार्थीहरूको हकमा हाम्रो समाजको पुरातन र संकुचित सोंचको गहिरो चोट प्रष्ट देखिन्छ । कतिपयको कलिलो उमेरमै बालविवाह भयो, जसका कारण पढ्ने तीब्र रहर हुँदाहुँदै पनि उनीहरूको उर्बर जीवन घरको चौघेरा, भान्छाको धुवाँ जिम्मेवारीमै सीमित हुन पुग्यो । हिजो अक्षर चिन्ने किताब र कपि बोक्ने उमेरमा उनीहरूका हातमा चुरा र सिन्दूर थमाइयो तर मनभित्रको पढ्ने भोक कहिल्यै मेटिएन ।
- पारिवारिक जिम्मेवारी र बाध्यताको रोजगारीः कतिपयले सानै उमेरमा परिवारको जेठो सन्तान वा अभिभावकको हैसियतले घरको आर्थिक भार बोक्नुपर्यो । दुई छाक टार्न र साना भाइबहिनीको ओठको हाँसो जोगाउनका लागि आफ्ना रहरलाई तिलाञ्जली दिँदै उनीहरू बाल्यकालमै श्रमबजारको कठोर मैदानमा होमिनुपर्यो ।
विगतमा जे–जस्ता बाध्यात्मक र कहालीलाग्दा परिस्थितिहरू भएपनि, वर्तमानमा उनीहरूको एउटै दृढ संकल्प र समान सपना छ, अब जुनसुकै हालतमा आफ्नो पढाइ पूरा गर्ने र जीवनलाई एउटा नयाँ सकारात्मक दिशा दिने । हिजो परिस्थितिसँग हारेर छोडेको शिक्षालाई आज उनीहरू आफ्नै पसिना र दृढ इच्छाशक्तिको बलमा पुनर्स्थापित गर्दैछन् ।
नेपालको शैक्षिक इतिहासमा यो विद्यालय एउटा धरोहरका रूपमा खडा छ । वि.सं. २००४ सालमा स्थापना भएको यस ऐतिहासिक नन्दीरात्री माध्यमिक विद्यालयले उपत्यकाभित्रका मात्र नभई देशभरका श्रमजीवी, बीचैमा पढाइ छोड्न बाध्य सम्पन्न र पाको उमेरका नागरिकका लागि रात्री विद्यालय सञ्चालन गरेर वैकल्पिक समयमा पनि शिक्षा दिँदै शैक्षिक चेतनाको जग बसालेको हो । यसले इतिहासको स्थापनाकालदेखि नै निरन्तर रूपमा ज्ञानको बत्ति बालिरहेको छ, जुन समयमा सर्वसाधारणका लागि शिक्षा सहज उपलब्ध थिएन ।
यस प्रयासलाई नेपालको कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूले पनि बलियो जग प्रदान गरेका छन् :
- नेपालको संविधान (२०७२) को धारा ३१ः यस धाराले प्रत्येक नेपाली नागरिकलाई शिक्षाको मौलिक हक प्रत्याभूत गरेको छ ।
- Lifelong Learning (आजीवन सिकाइ) भन्नाले जन्मदेखि जीवनको अन्त्यसम्म निरन्तर रूपमा सिक्ने प्रक्रिया हो । यो औपचारिक विद्यालय शिक्षामा मात्र सीमित नभई अनौपचारिक र अनौपचारिकेतर सिकाइलाई पनि समेट्छ ।
- अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को दृष्टिकोणः आईएलओका बालश्रम तथा युवा श्रम बजारसम्बन्धी प्रतिवेदनहरूले आर्थिक कारणले पढाइ छोडी श्रममा लाग्न बाध्य भएका व्यक्तिहरूका लागि शिक्षाको अपरिहार्यतालाई दृढताका साथ पुष्टि गरेको छ ।
- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (हालको शिक्षा विभाग) को नीतिः नेपाल सरकारको यो निकायले देशमा जीवनपर्यन्त सिकाइ (Lifelong Learning) का लागि राष्ट्रिय नीति, बजेट र कार्यक्रमहरू तर्जुमा गर्दै आएको छ । हाम्रो नेपाली समाजमा अझै पनि ‘पढ्ने लेख्ने एउटा निश्चित उमेर हुन्छ, उमेर ढल्केपछि दिमागले काम गर्दैन’ भन्ने संकुचित र परम्परागत धारणाको जरा गाडिएको छ । तर, नन्दीरात्री विद्यालयमा पाइला टेक्नेबित्तिकै यो सामाजिक भ्रम पूर्ण रूपमा परास्त हुन्छ । शिक्षा र ज्ञान प्राप्तिका लागि उमेर कहिल्यै पनि तगारो बन्न सक्दैन भन्ने जीवन्त प्रमाण यहाँका प्रत्येक विद्यार्थीका आँखाहरूमा चम्किरहेको आत्मविश्वासले दिन्छ । भनिन्छ, संसारमा सिकाइ जीवनपर्यन्त चल्ने प्रक्रिया हो । बाल्यकालमा विविध घरायसी, आर्थिक वा सामाजिक कारणले विद्यालय जान नपाएका वा बीचैमा पढाइ छोड्न बाध्य भएकाहरूका लागि यस्तो विद्यालय ज्ञानको ढोका खोल्ने महत्वपूर्ण शैक्षिक केन्द्र सावित भएको छ ।
दिनभरी शारीरिक तथा मानसिक श्रम गरेर, काँधमा जिम्मेवारीको पहाड बोकेर बेलुकीको समयमा कापी र कलम समातेर बेञ्चमा बस्नु चानचुने कुरा हुँदै होइन । यसका लागि सामान्य मानिसमा हुनेभन्दा कयौँ गुणा बढी इच्छाशक्ति, साहस र अदम्य उत्साहको आवश्यकता पर्दछ, जुन यहाँका विद्यार्थीहरूमा प्रष्टै देख्न सकिन्छ । अझ गर्वको कुरा त के छ भने डिजिटल प्रविधिको यो आधुनिक युगमा, पाको उमेरका विद्यार्थीहरू पनि कम्प्यूटर, इन्टरनेट र आधुनिक शैक्षिक प्रविधिसँग जोडिँदै आफ्नो क्षमता अभिवृद्धि गरिरहेका छन्, जुन नयाँ पुस्ताका लागि समेत अनुकरणीय छ ।
विद्यार्थीहरूमा थकित शरीर, निद्रा, समयको उचित व्यवस्थापन र पारिवारिक जिम्मेवारीको ठूलो मनोवैज्ञानिक दबाब हुन्छ । दिनभरीको कामले लखतरान भएका विद्यार्थीहरूलाई कक्षामा एकाग्र गराउनु, असमान उमेरका विविध विद्यार्थीहरूलाई एकैसाथ शिक्षा दिनु शिक्षकहरूका लागि पनि उत्तिकै चुनौतीपूर्ण हुन्छ । तर पनि अनुभवि शिक्षकहरूको मेहनत मार्गदर्शनले विद्यार्थीहरू लाभान्वित भएका छन् ।
यस विद्यालयले देशको साक्षरता दर बढाउन, नागरिकलाई सचेत र जागरुक बनाउन तथा उनीहरूलाई आत्मनिर्भर बन्नका लागि निर्वाह गरेको भूमिका अतुलनीय छ । यदि राज्य र स्थानीय सरकारले रात्री विद्यालयहरूलाई थप प्रोत्साहन, विशेष छात्रवृत्ति र आधुनिक प्रविधि दिने हो भने यसले समाजको तल्लो तहसम्म ठूलो रूपान्तरण ल्याउने सम्भावना बोकेको छ । यी विद्यार्थीहरूले हाम्रो सिङ्गो समाजलाई एउटा गहिरो, निष्कपट र शाश्वत सत्य सिकाउँछन् सिकाइको कुनै उमेर हुँदैन । जसले सिक्न चाहन्छ, उसका लागि हरेक दिन र हरेक क्षण एउटा नयाँ सुरुवात हो ।
दिनभरी काम गरेर लखतरान भएको शरीर र आँखामा भएको थकाइलाई बिर्सिएर बेलुकी विद्यालय पुग्ने उनीहरूको लगनशीलता, कडा अनुशासन, अदम्य आत्मविश्वास, कौतुहलता समाजका लागि प्रेरणाको सबैभन्दा ठूलो र लाभकारी स्रोत बनेको छ । राज्य र अभिभावकले सबै सुख–सुविधा र अनुकूल वातावरण दिँदा पनि पढाइलाई बेवास्ता गर्ने, कक्षाकोठा बङ्क गर्ने र कुलतमा फस्ने आधुनिक युवा पुस्ताका लागि यी ‘साँझका यात्रीहरू‘ एउटा गतिलो र आँखा खोलिदिने जीवन्त पाठ हुन् ।
वास्तवमा, नन्दीरात्री विद्यालय अक्षर चिनाउने वा परीक्षा उत्तीर्ण गराउने एउटा भौतिक स्थान मात्र होइन, यो त मानिसका अधूरा र अधूरै छोडिएका सपनाहरू पूरा गर्ने पवित्र थलो हो, समाज र परिस्थितिले भत्काइदिएको आत्मविश्वासलाई पुनः फर्काउने ऊर्जा केन्द्र हो । जीवनलाई अन्धकारको सुरुङबाट फेरि उज्यालोतर्फ डोर्याउने एउटा सुन्दर यात्राको सुखद सुरुवात हो । त्यसैले, यस्ता वैकल्पिक र रात्री विद्यालयहरूको भौतिक पूर्वाधार सुधार गर्न, यिनीहरूलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउन र कामकाजी विद्यार्थी अनुकूल वातावरण निर्माण गर्न राज्य, स्थानीय सरकार र नागरिक समाजले विशेष ध्यान दिनु अपरिहार्य भइसकेको छ । शिक्षा साँच्चै नै उमेरले होइन, केवल इच्छाशक्तिले जित्छ भन्ने कुराको साक्षी नन्दीरात्री विद्यालय सधैँ बनिरहोस् र ज्ञानको यो मन्दिर सधैँ बलिरहोस् ।
ढिलो हुनु असफलता होइन, प्रयास नै नगर्नु मात्र वास्तविक असफलता हो । शिक्षा र ज्ञान प्राप्तिका लागि कहिल्यै पनि ढिलो हुँदैन, किनकि ज्ञानले मानिसको उमेर होइन, उसको भित्री इच्छाशक्ति मात्र हेर्छ । विद्यालयको ढोका उमेरले कहिल्यै बन्द गर्दैन, यसलाई त केवल मनको चाहनाले खोल्छ । आउनुहोस्, परिस्थितिले चुँडालेका अधूरा सपनाहरूलाई फेरि पढाइसँग जोडौं । किनकि, सिकाइ कुनै निश्चित गन्तव्य होइन, यो त जीवनभर निरन्तर चल्ने एउटा सुन्दर र अनन्त यात्रा हो ।
(लेखक, नन्दीरात्री मावि नक्साल काठमाडौंकी शिक्षक हुनुहुन्छ ।)











