शिक्षा पत्रकार समूहमा जनक नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
समूहको यही असोज १९ गते सम्पन्न २७ औं साधारणसभा तथा १३ औं अधिवेशनले नौ सदस्यीय समिति गठन गरेको हो ।
नवनिर्वाचित पदाधिकारीहरुमा रोशन क्षेत्री गाउँले वरिष्ठ उपाध्यक्ष (देखापढी डटकम), नवराज चालिसे उपाध्यक्ष (न्यूज ट्वाइन्टी फोर टेलिभिजन), सञ्जिप घिमिरे शुभचिन्तक महासचिव (अन्नपूर्णपोष्ट दैनिक), रोजिना थापा कार्की सचिव (एजुकेशन पाटी), सविना बानियाँ कोषाध्यक्ष (ननस्टप खबर) रहेका छन् । यसैगरी, सदस्यहरुमा कृष्णसिंह धामी (अनलाइन खबर), अंजिरसिंह विक (नेपाल टेलिभिजन) र गोपाल संग्रौला (कारोबार दैनिक) निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष नेपाल हाल मध्यान्ह दैनिकका सम्पादक हुन् । साढे दुई दशकभन्दा अघिदेखि पत्रकारितामा निरन्तर रहेका नवनिर्वाचित नेपाल शिक्षा पत्रकार समूह स्थापना भएदेखि नै शिक्षासम्बन्धी रिपोर्टिङ तथा कुनै न कुनै अभियानमा जोडिँदै आएका थिए । उनी समूहको लुम्बिनी प्रदेश समन्वय समिति संयोजक, केन्द्रीय महासचिव र वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बनेका हुन् ।
समूहका सबै पदाधिकारी एवं सदस्यहरु सर्वसम्मत निर्वाचित भएका हुन् ।
नयाँ नेतृत्व चयनअघि अध्यक्ष निर्जला कक्षपतिको अध्यक्षतामा बसेको साधारणसभाले महासचिव रोशन गाउँले क्षेत्रीको सांगठनिक र कोषाध्यक्ष सविना बानियाँद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सुझाबसहित सर्वसम्मत पारित गरेको थियो ।
वरिष्ठ पत्रकार राजन शर्मालाई शिक्षा पत्रकारिता पुरस्कार, थप चारजना व्यक्तित्व सम्मानित
समूहले आफ्नो २७ औँ साधारणसभा तथा १३ औं अधिवेशन उद्घाटन शत्रमा वरिष्ठ पत्रकार राजन शर्मालाई ‘शिक्षा पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । समूहका संस्थापक अध्यक्षसमेत रहेका शर्माले सार्वजनिक शिक्षाका लागि पत्रकारितामार्फत् अनवरत रुपमा पुर्याएको योगदानको कदरस्वरुप उनलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कार राशी २५ हजार रुपियाँको रहेको छ ।
यसैगरी, समूहले शिक्षाक्षेत्रका विभिन्न विधामा रहेका चारजनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा नुवाकोट विदुरस्थित त्रिशुली त्रिभुवन माविका प्रधानाध्यापक राजेन्द्र दवाडी, काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक जिलेसन साह, काठमाडौंस्थित रानीबारी माध्यमिक विद्यालयकी विद्यार्थी वेविशा मग्राती र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेन रहेका छन् ।

२०८३ भदौ १० गते भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी बाढीमा विद्यार्थीहरुलाई सुरक्षित राख्न निर्वाह गरेको भूमिकाको कदर गर्दै प्रधानाध्यापक दवाडीलाई समूहले सम्मान गरेको हो ।
यसैगरी, सिर्जनशिल शिक्षक सम्मानस्वरुप काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक (लेकचरर) साहलाई सम्मान प्रदान गरिएको छ ।
सम्मानित विद्यार्थी मग्रातीलाई नवप्रवर्तनात्मक कामका खातिर सम्मान गरिएको हो । उनले अध्ययनका क्रममा हाइड्रोलिक लिफ्ट तयार पारेर पढाइलाई व्यवहारिक रुपमा उतारेकी छन् ।
यस्तै, शिक्षाक्षेत्रका साथै समग्र मानवीय काममा सघाउँदै आएको सेभ द चिल्ड्रेनलाई पछिल्लो समय भोटेकोशी नदीमा आएको बाढीबाट नुवाकोट, रसुवा र धादिङ जिल्लाका विद्यालय तथा शैक्षिक संरचनामा पुगेको क्षतिपछि प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन अस्थायी सिकाइ केन्द्र स्थापना गरी पठनपाठनको वातावरण सिर्जना गरिरहेको योगदानस्वरुप सम्मान गरिएको हो । सो सम्मान संस्थाकी प्रतिनिधि डा. लक्ष्मी पौड्याललाई हस्तान्तरण गरिएको थियो ।
समूहको उद्घाटन शत्र एवं सम्मान कार्यक्रममा शैक्षिक क्षेत्रमा सरोकार राख्ने विभिन्न व्यक्ति र संस्थाका प्रतिनिधिले सहभागिता जनाएका थिए । सो समारोहमा प्रमुख अतिथि बनेका शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति केदारभक्त माथेमाले सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनिधिले शैक्षिक रूपान्तरण र सुधारका लागि सरकार तथा सरोकारवालाबीच निरन्तर संवादको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।
शिक्षाविद् माथेमाले समाजमा विभेदको खाडल बढाउने साधन शिक्षा बन्न नहुने बताए । उनले दक्षिण एसियाका विभिन्न देशको उदाहरण दिँदै सार्वजनिक शिक्षालाई बलियो नबनाए असमानताको खाडल झन् बढ्ने र त्यसले समाजमा हिंसा बढाउनेतर्फ चिन्ता व्यक्त गरे ।
शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले शिक्षा क्षेत्रका समस्या, नीति तथा सुधारका विषयलाई तथ्यपरक रूपमा सार्वजनिक बहसमा ल्याउन शिक्षा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रका महानिर्देशक चन्द्रकान्त भुषालले शिक्षा पत्रकार समूहले शिक्षाका साझा मुद्दा उठाइरहेको र अझ अनुसन्धानमुखी हुनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले खोज पत्रकारितामा शिक्षा पत्रकार समूहले काम गर्नुपर्ने सुझाइन् ।
नेपाल शिक्षक महासंघका अध्यक्ष सुन्दर पन्तले सरकारले आफूहरूले राखेका मागबारे छलफल गर्न वार्तामा बोलाउन माग गरे ।
निजी विद्यालयहरुको छाता संगठन प्याब्सनकी उपाध्यक्ष दीपिका थापा रिमालले शिक्षामा निजी क्षेत्रको भूमिका उल्लेखनीय रहेको विचार व्यक्त गरिन् ।
कार्यक्रममा समूहकी अध्यक्ष निर्जला कक्षपति, शिक्षाविद् डा. विष्णु कार्की, निलबाराही मावि काठमाडौंकी प्रधानाध्यापक डा. जानुका पौडेल, शिक्षा पत्रकार समूहका पूर्व अध्यक्ष सुदर्शन घिमिरे, सेभ द चिल्ड्रेनकी डा. लक्ष्मी पौड्याल, शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालका अध्यक्ष लवराज ओलीलगायतले शिक्षाका समसामयिक विषयमा बोलेका थिए ।










